नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, December 29, 2015

गद्य कबिता -


जब जब देश दुख्छ
मरे मरे भन्दै
आफ्नो अस्तित्व गुमाएर
चुपचाप मौन बसि
अश्रुधारा आसु झार्छ
तब म ?
केबल दर्शक बनी हेर्न बिबश छु ।

म आफुले आफैलाई
हानिरहेछु प्रश्नका बाणहरूले-
के यो 'म' मै हँ ?
या कुनै लास ?
जसले कुनै प्रतिक्रिया जनाउदैन
बस् लाचार लडिरहन्छ
आफ्नो उपस्थिति जनाएर
शोकको माहौल बनाइरहन्छ ।

झ्याउरे छन्द कविता - मेरा बा आमा

निर्माण प्रकृया:  ३+२,३+२,३+३ ( जम्मा १६ अक्षर )

पुरानो याद सम्झना भयो मन रुन्छ बेस्सरी
बुझाए चित्त पोखेर भाव लेखेर यसरी ।
यत्ता म सोच्छु कै गर्छु भनी मनमा कहेर
ए हवा लैजा यी मेरा बोली लौ झट्टै बहेर ॥

ती मेरि आमा झारेर आँसु सदैब रुदि हुन्
तस्बिर यौटा छोडेको थिएँ त्यही पो छुदी हुन् ।
फलाम बने ती मेरा बाबा रातोदिन चलेका
यो दैब पनि निठुरी किन उनैलाई छलेका ॥

सम्झौता हेर जिन्दगी भरी कसरी गरेका
नबोली केही आसुका खोला हासेरै तरेका ।
सम्झौता यौटा गर्नुछ सधै त्रीयुगा तरेर
हिम्मत अझै हारेका छैनन् संघर्ष गरेर ॥

जिउनु  यौटा उत्साह हुन्छ यो कस्तो जीवन
काडाका बीच फक्रेछ फुल कम्जोर नभन ।
ती हाड छाला थाकेकी कतै मलाई कुरेर
उज्यालो दिन्छ पग्लेर मैन आफैमा जलेर ॥

भिजेका होलान् नयन तिम्रा आसुले छपक्कै
दु:खमा पनि मुहार तिम्रो बल्या'छ धपक्कै ।
बित्दैछ तिम्रा गरेरै काम चालीस दशक
सक्दिनँ हेर्न रुन्छ यो मन घोच्दछ चसक्क ॥

चाहान्छु यस्तो कविता लेख्न हृदय पग्लिने
सुनेर शब्द त्यो शिर तिम्रो शानले अग्लिने ॥

- निरक्षर
..............

हाइकु-

१.
   हात्तिको देश
म एउटा कमिलो
जीवन खोज्छु ।

२.
  जीवन यात्रा
पुग्नु छ धेरै टाढा
  लङ्गडो छु म ।

३.
  जुलेली रात
पुर्णिमाको शितल
  जल्दै छ मन ।

४.
   जीवन कथा
यत्तिकै सक्किने भो
  शुरु नभई ।

५.
  भत्केको घर
महलका सपना
यो भोको पेट ।

६.
    हात्तिको दात
   चपाउने एउटा
   देखिने अर्को ।

....

छन्द कविता - मन्दाक्रान्त छन्द

हिड्न गाह्रो छ गाह्रो (मन्दाक्रान्त छन्द )

सूत्र -  SSS SII III SSI SSI SS

यात्रा कस्तो कठिन छ अहो यो उकालै उकालो
दायाँबायाँ वरिपरि हरे खोच पाखो भिरालो ॥
पन्छाएरै म त गइरहुँ, जिन्दगीको तगारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥१॥

लागेँ आजै म पनि अब लौ, लौ नरोके मलाई
भेटौला लौ शिखर तलमा सम्झना दाजुभाइ ॥
गर्छौं गर्छौं भनिभनि कनै जिन्दगी यो सकिन्छ
सुक्यो खोलो जब समयको अर्थ के हो बुझिन्छ ॥२॥

हिड्ने हिड्यो उहीँ बखतमा पाइला त्यो चलाई
आजै मात्रै किन र कसरी बोध भो यो मलाई ॥
धक्का अाँधी सब खपिकनै खोज्न जादैछु चारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥३॥

हातै बाधी बसिरहनुले भाग्य बन्दैन हेर
आऊआऊ मसित अहिलै, लौ नहोस है अबेर ॥
आजै थाले अलिअलि त यो हेर बाटो कटिन्छ
प्रेमी जोजो छ परिश्रमको भाग्यले दिन्छ दिन्छ ॥४॥

रित्तै आए पनि जगतमा देबकोटा र मोती
छर्दै गए झिलिमिली अहो, क्या सुनौलो छ ज्योति
हिड्दै जादा पथिक पथमा हुन्छ कस्तो हतारो
सोचेजस्तो सहज छ कहाँ, हिड्न गाह्रो छ गाह्रो ॥५॥

- शंकर निरौला 'निरक्षर'
        ....................

Friday, December 18, 2015

                   देश खाइरहेछन्

   चोक्टा-चोक्टा लुछेर यो देश खाइरहेछन् ॥
   मान्छेकै भेषमा उ: हेर, गिद्दहरू आइरहेछन् ॥

   ए हजुर, गिद्दले पनि मासु मात्र खान्छ होइन ?
   यहाँ त देशको एक-एक हड्डी चपाइरहेछन् ॥

   आखिर के रहेछ रहश्य बुझ्नै सकिनँ मैले
   घर जलाएर उनीहरू किन मुस्कुराइरहेछन् ॥

  खुसी-हाँसो, उत्साह- उमङ्ग क्षणिक हुन् हाम्रा
  दु:ख कष्ट अनि अभावचाहिँ स्थायी रहेछन् ॥

  महाशय, हामी पनि अलिअलि बुझ्दै छाैँ- राजनीति 
  कोको नुन छर्किदै छन्, कोको मलम लगाइरहेछन् ॥
                                          
                                    - शंकर निरौला 'निरक्षर'
                                             फत्तेपुर, सप्तरी ।

Saturday, December 12, 2015

                     गजल

टुङ्गिएको छैन अझै खोज जिन्दगिको ॥
कहिले पो सकिन्छ यो सोध जिन्दगीको ॥

कहाँ -कहाँ पुग्नु थियो, बाटोमै अल्झिएँ
जसोतसो पन्छाउँदै छु अवरोध जिन्दगीको ॥

यस्सै ख्याल ठट्टामै बित्यो आधा उमेर मेरो 
आखिर किन भएन मलाई बोध जिन्दगिको ॥

लुट्नेहरू यहीँ लुटिरहेछन् जिन्दगीको मजा 
मेरै थाप्लो माथि किन बोझ जिन्दगिको ॥

यता छोप्दा उता उदाङ्गो, उता छोप्दा यता 
मिलाउनै जानिनँ मैले पोज जिन्दगीको ॥

- शंकर निरौला 'निरक्षर'
          काठमाडौं ।
- niraulanirakshar@gmail.com
     

Tuesday, November 3, 2015

                      गजल

कहाँ हात्ती कहाँ कमिलो ताकत फरक छ ॥
झन्  तिनको बिचारमा ठूलो मत फरक छ ॥

तिमी पाठशाला धाउँछौ, म कन्टेनर खोतल्छु
जरूर साथी, तिम्रो अनि मेरो बिगत फरक छ ॥

हजुरको दस्तखत पैसा हुन्छ, उसको किन हुँदैन ?
उसलाई लाग्छ- त्यहाँ कि मसी कि कागत फरक छ ॥

मलाई मेरी आमा र उ त्यो.. जुन उस्तै उस्तै लाग्छ
तर आमा मुस्कुराउदै भन्नुहुन्छ-  धत् फरक छ ॥

- हरिशचन्द्र दाहाल 'पृथक'
- शंकर निरौला 'निरक्षर' ।

Friday, October 2, 2015


संबिधान : पुज्नेहरू र जलाउनेहरू


ति बेला यो देशको स्थिति बडो अन्योलपूर्ण छ । बर्षौदेखिको नेपालीको सपना भनिएको संबिधान नेपालीको हातहातमा त छ तर बिडम्बना, एकातर्फ त्यौ संबिधानको किताबलाई पुजा गरिरहेका जनता छन । अक्षता छर्किरहेको जनता छन भने अर्कातर्फ संबिधानको त्यहि किताबलाई जलाएर आन्दोलन गर्ने/गराउने, आन्दोलन चर्काउदै लाने जमात छ । यसरी सरसर्ति हेर्दा समग्र देश अहिले दुई ध्रुबमा बिभाजित देखिन्छ । यि दुई ध्रुब मध्ये कुन चै ध्रुबको पल्ला भारी छ ? त्यो हेर्नु छ । नेपालको साँध सीमाना भित्रको यो बिबादमा भारतले किन र केका लागि लाज पचाएरै हस्त्क्षेप ग-यो, गर्दैछ ? केछ उसको स्वार्थ ?
मधेसी दलहरू संबिधानसभाबाट बाहिरिनु, तराईको आन्दोलन अक्रामक बन्दै जानु अनि भारतले मधेसी नेताहरूलाई धाप दिनु, मधेसी आन्दोलनलाई सहयोग पु-याउन अघोषित नाकाबन्दी गर्नु र बाबुरामले एक्कासी पार्टी परित्याग गरि मधेसी नेताहरुसँग मिल्न जानु यि सबका सब घट्ना स्व-स्फुर्त रुपमा या भनौँ स्वाभाबिक रुपमा भएका हुन/भइरहेका छन या यि सबै सबै घटना नियोजीत थिए /छन ? हामी आम नागरिकले बुझीसकेको हुनुपर्छ । यदि बुझि सकिएको छैन भने समयले बिस्तारै बुझाउँदै लानेछ । त्यो हामी सबैले हेर्दै गइनेछ -भबिश्यमा ।
    यो त भो भबिश्यका कुरा । हेर्दै/ देखिदै जाने कुरा । तर आज हामीसँग बर्तमान छ । बर्तमानका समस्या छन । यी समस्या निम्तनुमा आन्दोलनकारी या राज्य पक्ष कुनै एक पक्ष मात्रै जीम्मेवार देखिदैन । दुबैका गल्तीहरू छन, देखिन्छन ।
पहिलो चोटि आफ्नै बलबुतामा बिदेशी मुलुकको हस्तक्षेप बिना गरिएको भनिने सोह्र बुदे समझदारी(जसले संबिधानको आधार तैयार गरायो) बाट मधेसी दल चिढिएकै हुन । उनीहरूको माग र चासोलाई हाम्रा 'अमधेसबादी' दलका नेताहरूले त्यति रुचि देखाएनन् । मधेसी दलको नाममा यौटै मात्रै दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक) का बिजयकुमार गच्छदार संबिधान सभामा आफ्नो कुरा राख्न अन्तिम समय सम्मै दौडधुप गरिरहे । तर संबिधान घोषणा हुने मिति नजिकिदै गर्दा समेत कसैले 'बाल' नदिएका कारण रुँदै उनि पनि संबिनासभाबाट बाहिरिए । गच्छदार बाहिरिनुलाई हाम्रा 'अमधेसबादी' दलहरूले केबल संख्यात्मक दृष्टीले मात्रै हेर्ने/बुझ्ने भुल गरे । जसले तराइ मधेसमा ठुलै मनोबैज्ञानिक प्रभाब पा-यो । सोझो नजरबाट हेर्दा संबिधान घोसणा भैरहदा यौटा पनि मधेसबादी दलले संबिधानमा हस्ताक्षर नगरेको देखियो । यसले मधेसका मुद्दा केके हुन /छन ? भन्ने कुरा हैन बरू मधेसी र 'अमधेसी' बीचको टकराबको लडाई जस्तो बनाइदियो । संबिधान घोषणा गरि दिपावली मनाउदै अहिले बनाईएको संबिधान 'बिश्वकै उत्कृष्ठ' भएको दाबी गर्ने हाम्रा नेता महोदयहरूलाई केकति कारणले यो उत्कृष्ठ छ भनी तराई मधेसमा गएर त्याहाका नागरिकलाई संझाऊनु बुझाउनु पर्छ भन्ने सद्बुद्धि पलाएन ।
जसले गर्दा मधेसबादी नेताले जे जसो भन्छन त्यसै त्यसै पत्याउदै बुझ्दै गए -सर्बसाधारण मधेसबासीले ।
" यो संबिधानले मधेसीलाई नागरिकत्ता नै नदिने, मधेसको जमीन खोसेर पहाडेलाई बाड्ने, नेपाल र ईन्डिया बिच भीसा प्रणाली लागु हुने, राज्यका कुनै पनि तहमा मधेसीलाई सिट नदिइने ब्यबस्था गरेको छ" भन्ने जस्ता अत्यन्तै भ्रामक सन्देश प्रचार गरी मधेसी जनतालाइ उत्तेजीत पारिएको खबर छताछुल्ल भएकै छन -अखबार पत्रपत्रिकामा । यो भ्रमलाई चिर्न हाम्रा 'अमधेसबादी' दलका प्रतिनिधिहरू मधेस जानु पर्थ्यो कि पदैनर्थ्यो ? यश तर्फ कसैको ध्यान गएन । मधेसी जनतालाई बेलैमा गएर संबिधानमा उल्लेखित सत्य-तथ्य बताउन/बुझाउन सकिएको भए आन्दोलन यति अक्रामक हुदै जादैन थियो सायद । सत्य-तथ्य थाहा लागेपछि आन्दोलनमा जन-समर्थन घट्दै जान्थ्यो र अन्तत: मधेसी नेताहरु आफै आन्दोलनको 'सेफ ल्याण्डीङ' का लागि अघि सर्थे । बार्तामा बस्नकै लागि पूर्व-शर्त राख्ने आँट सायदै आउँथ्यो । तर दुर्भाग्य त्यस्तो भै दिएन । भ्रामक सुचना कै भरमा जनसमर्थन बटुल्दै गए पछी आन्दोलन 'आन्दोलन' हुँदै/बन्दै गयो । अनि सुनियोजित या स्वाभाविक भनौँ ( भारत सोह्र बुदे सम्झौता भए देखि नै रुष्ट थियो)  सुरक्षाको कारण देखाउदै भारतलाई नाकाबन्दी गर्न गतिलो निँहु भयो ।
यसरी घरेलु मुद्दा छिमेकीको घरमा पुग्यो । घरको झगडा छिमेकमा पुग्यो । संबिधान बन्नु बनाउनु नेपाल र नेपालीको कुरा थियो । तर यो बिषय तन्किदै जाँदा 'मधेसी' र 'अमधेसी'को कुरा उठ्यो । र अब झन तन्किदै/तन्काउँदै यस बिषयमा भारत पनि लाज पचाएरै खुलेआम घुस्यो/घुसाइयो । अनि अन्तत: नेपालको संबिधान मधेसी, अमधेसी र भारत गरि तीन पक्षको साझा साझेदारीको बिषय बन्न पुग्यो । बनाईयो । यहाँ यो संदर्भमा पंतिकारका तर्फबाट ति तिनै पक्षलाई दुइचार प्रश्न छ ।
सर्बप्रथम मधेसी नेतालाई प्रश्न -
-जनताका नब्बे प्रतिशत जनप्रतिनिधिले समर्थन गरी हस्ताक्षर गरेको संबिधान प्रजातान्त्रिक मुल्यमान्यतालाई मान्छौँ भन्दै राजनिति गर्ने महाशयहरूले स्विकार गर्नुपर्छ कि पर्दैन ?फगत गोटिहरूको खेल भन्दै नब्बे प्रतिशत जनप्रतिनिधीको निर्णयलाई लत्याउन कून नैतिकताले दियो ?
-तपाइहरूको मधेस आन्दोलनमा सहभागि कतिले संबिधान पढेका छन ? कि तपैहरू स्वयमले पढ्नु भएको छैन संबिधानमा केके छ भन्ने कूरो ? फेरी किन जनतालाई भ्रामक खबर सम्प्रेषित गरेर बलीको बोको बनाइदैछ ?
- तपैको आन्दोलन हुँदै गर्दा ठ्याकै तपाइहरूकै मागलाई ईङ्गीत गर्दै भारतले यो यो कुरा संबिधानमा संसोधन गरिनु पर्छ भनी बिज्ञप्ती जारी ग-यो । अब यो पंतिकारलाई स्पष्ट बताइ दिनुस कि मधेस आन्दोलनमा उठाईएको माग तपैहरुकै माग हो या भारतकै माग लागि यो सब नौटङकी गरिएको हो ?
- तपाईहरूले मधेस आन्दोलनका क्रममा मर्नेलाइ पचास लाख दिने घोषणा कति सजिलै गर्नुभयो ।यसो भनेर यौटा मधेषिको ज्यानको मुल्य पचास लाख छ भन्न खोजिएको हो या के हो ?
सँगसँगै केहि प्रश्न छन- 'अमधेसी' नेताहरुलाई पनि -
-संबिधान पारित गर्दा दुई तिहाई बहुमत पुगेकै हो । यसमा कसैको दुई मत छैन, हुदैन । तर मधेसी जन अधिकार फोरमका अध्यक्ष गच्छदारले त्यत्रो दौडधुप गरेर अनुनय बिनय गर्दा पनि पनि किन दुइ शब्द संबिधानमा थप्न त्यत्रो गाह्रो भएको ?
- के टुडिखेलमा राष्ट्रबादका नारा उराल्दैमा राष्ट्रबादी भइने हो ? राष्ट्रका नागरिकका असन्तुष्टीलाई कम गर्न लागी पनुपर्थ्यो कि पर्दैनथ्यो ?
- संबिधान निर्माणको प्रकृयालाई एक हप्ता रोक्नुस भन्ने आन्दोलनकारीको मागलाई स्विकार्दा के कुनै आकाश खस्थ्यो र ? पदकै लागी हतारो भएको भए पनि एक हप्ता ढिलो चाडो हुँदा त्यो पद नपाईने त थिएन होला ।
-तराईको आन्दोलन भएको 40/45 दिन भयो । तर तपाइहरूको आँखा आज काठमाडौँमा ईन्धन अभाब भएपछि मात्रै किन खुल्दैछ ? -भारतले नाकाबन्दी गरे चिनसँग ब्यापार थालिन्छ भन्दै उफ्रिने महाशयलाई स्मरण छ कि छैन भुकम्प पछि चिनसँगको हाम्रो नाका केरूङ र तातोपानीको बाटो बन्द छ भन्ने कुरा ? -पेट्रोलियम पदार्थ नदिए साइकल चढ्ने भाषण त दिईयो तर के साइकल चै नेपालमा बन्छ बनेको छ, बन्छ ?
अब भारतलाई पनि दुईचार प्रश्न-
-बिश्वमै सबैभन्दा ठूलो प्रजातान्त्रीक भनाउँदो मुलुकले छिमेकका नब्बे प्रतिशत जनप्रतिनिधिले बनाएको उनीहरूको संबिधानमा किन असन्तोष देखाइयो ?
-भारत आफैमा बेलायती उपनिबेश मुलुक भएको हुँदा आत्म स्वाभिमान भनेको के हो ? र त्यसको केकत्ति महत्व हुन्छ भन्ने कुरा हामीले सिकाइरहनु पर्छ ?
- आजको जमानामा भुपरिबेष्ठित राष्ट्रलाई अधिकारकै रूपमा प्राप्त हुने पारवहन सुबिधामा किन रोक लगाइदैछ ? यसले अन्तराष्ट्रिय जगतमा भारतको कस्तो छबि बन्ला ? त्यस तर्फ सोचिएको छ कि छैन ? सोच्नु पर्छ कि पर्दैन ?
-मोदिको छिमेकलाइ लिएर सँगसँगै अगि बढ्ने निति जो भनिएको थियो के त्यो निति यस्तै ब्यबहारले सार्थक होला ?
-भारत आफु संयुत्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य हुन 'लबीङ' गरिरहेको छ । यस्तो नेपालप्रतिको हस्तक्षेपकारी भुमिकाले त्यो संभावना बढाउला कि घटाउला ?
खोज्दै र खोतल्दै जादा यस्ता प्रश्नहरू धेरै छन । तर यहाँ त दुईचार वटासम्म राखिएको मात्र हो । तसर्थ यो नेपालको संबिधान लेखन र घोषणामा को कसले केकति भुमिका खेले ? खेल्न खोज्दै छन् ? त्यस्ता कार्य ब्यबहार केकति जायज/ नाजायज थिए, छन् ? ईतिहासले भोली खोज्नेछ ।
हाल नाकाबन्धिका कारण जनजिबन अस्त ब्यस्त बनेको छ । दैनिक  समस्या हरू अझ जटिल बन्दै गैरहेका छन । कुनै पनि कुराको सबल र दुर्बल दुबै पक्ष हुन्छ भन्ने भनाइ छ । सम्बिधान नै नबन्ला कि भन्ने आम आशन्का का बिच रातरात बनेको यो सम्बिधान र सम्बिधानको घोषण पछि देखिएको यो अस्त ब्यस्तता, अन्यौल्पुर्ण बातबरणका बिच नेपालि जनमा रास्ट्रीयताको भावना प्रगाढ बनेको छ । सङ्सङै भारतसङ्ग सम्बन्धित धेरै मुद्दा सतहमा आएको छ । सर्बसाधारणलाई अवगत भएको छ । यो राम्रै मान्नु पर्ने हुन्छ ।
अहिले सम्म न भारतिय पक्ष र मधेसबादी दल झुक्ने छाटकाटमा छन न त सत्त पक्ष नै ।
बर्तमानमा हामी सामान्य नागरिकले अब हेर्दै जानुछ-
  यश पटक देशको यो समस्या के कसरी हल गरिन्छ ?
सम्बिधान जलाउनेहरू झुक्छन या सम्बिधान पुज्नेहरू झुक्छन ?
- शंकर निरौला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
niraulanirakshar@gmail.com
सम्पर्क नम्बर:  9843584348


                          गजल

यसरी हाँसी-हाँसी जस्तोसुकै अभाव झेलिन्छ ॥
अन्तिम चोटि स्वाभिमानको टकराव झेलिन्छ ॥

बरू भोकभोकै मर्न तैयार, तर शिर उठाएरै मर्ने हो
परिस्थिती अहिले भन्दा झन् झन् खराब झेलिन्छ ॥

कस्ता-कस्तालाई थाङ्नामा सुताएको इतिहास छ 
यी मित्र भनाउँदा हाम्रै शत्रुहरूको दबाब झेलिन्छ ॥

आफ्नै लगाैँटी फुस्क्याएर अरूलाई 'कुरिकुरी' भन्ने 
ठ्याक्कै केटाकेटी झैँ तिम्रो यस्तो स्वभाव झेलिन्छ ॥

औंला दिँदा डँढेल्नाे निल्ने, यो कस्तो नीति हो तिम्रो ?
के सोच्यौ- सधैंसधैं तिम्रै हुकुमी सुझाब झेलिन्छ ॥

- शंकर निरौला 'निरक्षर'

Monday, September 21, 2015

संविधान बनेको दिन

२०७२-६-३
(नेपालको सम्बिधान २०७२ घोसणा र लागू भएको दिन)
- अब देशमा के हुने हो, यत्तिकै भन्न सकिने बाताबरण देखिरहेको छुइन -मैले । एकातिर सम्बिधान बनेको खुसियालीमा 'दिपावली' मनाउन लाई उर्दि जारी गरिएको छ , र धेरैले 'दिपावली' मनाई रहेका पनि छन । भने अर्कातिर तराईमा दिनहु जसो २/४ जना मरिरहेका छन । आफ्नो हक अधिकारको लडाइँ  भनिएको तराई को आन्दोलनमा आजका मितिसम्म आउदा ४० जनाले सहादत प्राप्त गरिसके ।  सो आन्दोलनल्मा घाइते के कति भए सो को यकिन बिबरण छैन । स्मरण रहोस तराईमा मा जारी आन्दोलन बिगत ४० दिनदेखी चलिरहेछ ।

जन जीवन स्तब्द छ, ढप्प छ ।

Tuesday, September 15, 2015

                       गजल
  
यसरी निराहार व्रत बस्न, कसले सिकायो ॥
यस्ता-यस्ता झमेलामा फस्न, कसले सिकायो ॥

तिमी त सोह्र शृङ्गार बिनै यस्ती राम्री देखिन्छ्यौ 
ब्यर्थै यी लाली पाउडर घस्न, कसले सिकायो ॥

अप्सरा नै हुनुपर्छ- तिमी, उ... त्यो माथि स्वर्गको
प्रिया, तिमिलाई धरतिमा खस्न, कसले सिकायो ॥

न झ्याल चाहिने न ढोका, यो कस्तो कला हो तिम्रो ?
लौ भन यसरी दिलभित्र पस्न, कसले सिकायो ॥

तिमीलाई सोध्दा-सोध्दै, आफैलाई यसरी सोध्न पुगेछु-
मलाई चैँ प्रश्नै प्रश्नले अरुलाई डस्न, कसले सिकायो ॥

शंकर निरौला 'निरक्षर'

Friday, September 11, 2015

                      गजल

देशलाई भत्काएर अचेल, ऊ घर बनाउँदै छ ॥
यसरी ऊ कोमल मुटुलाई पत्थर बनाउँदै छ ॥

यो कस्तो रवैया हो उसको ? बुझ्नै सकिनँ मैले
आफै प्रश्न बनाउँदै छ, आफै उतर बनाउँदै छ ॥

मर्नु त छदैछ एकदिन भन्ने पाठ सिकाउनै हो कि ?
बन्दुक देखाएर कसैकसैलाई निडर बनाउँदै छ ॥

अरे यार, जग मजबुत भए मात्रै घर मजबुत हुन्छ
यत्ति बुझेर पनि किन त्यही जग धरमर बनाउँदै छ ॥

आखिर तिम्रो उदेश्य के हो ? यहि सोध्नु छ ऊसँग 
जसले यति हराभरा जङ्गललाई बगर बनाउँदै छ ॥

Monday, September 7, 2015

केहि मुक्त्तकहरू:

केही मुक्तकहरू:

#१.   देश-भक्तीको एउटा पाठ पढाएर आउँदा 
         बलीदानीको जङ्गे पिल्लर ठड्याएर आउँदा
         मलाई यि मान्छेहरुले लखेटे-  मुर्कुटा भन्दै 
         देशका निम्ती मैले शिर चढाएर आउँदा ॥

#२.   चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन्
         मान्छेकै भेषमा उ..हेर न गिद्दहरु आइरहेछन्
         यहाँ तिनै मान्छेहरु शाकाहारी घोषित भए, आमा 
         जो-जसले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन् ॥

#३.   "म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
          मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
          तिमी जस्तै लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन् 
          मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥

#४.    कहिले उकालो चढिन्छ, कहिले ओरालो झरिन्छ 
          जिन्दगी हो- यो, जिन्दगीमा सङ्घर्ष निरन्तर गरिन्छ 
          हेर्दै जाऊ- लक्ष्य हासिल हुन्छ हुन्छ, हुने नै छ एकदिन 
          यी ठक्करहरू कुनै बिष होइनन् जुन खाएपछि मरिन्छ ॥

                                             - शंकर निरौला 'निरक्षर' 

Friday, September 4, 2015

                              गजल

           थाप्लो माथी नाम्लो लगाई भारी बोकेर ॥
            जिन्दगी भर गरीबीको चिनारी बोकेर ॥

          थकित भई अरु जस्तै तिमी किन सुस्ताउदैनौ ?
           पक्कै पनि तिमी हिँडेका छौ छहारी बोकेर ॥ 

          कहिल्यै रित्तो हिँड्दैन यौटा ज्यामी मान्छे 
          पाखुरामै लिई हिँड्छ ऊ खेतबारी बोकेर ॥

          तिमीले त मात खुवाइदियौ, तिम्रै नियतिलाई 
           कहिल्यै पनि हार नमान्ने बिमारी बोकेर ॥





Saturday, August 29, 2015

रातलाई सोध्दै नसोध

के हो जिन्दगी रातलाई सोध्दै नसोध ॥
सुकिसकेको आँतलाई सोध्दै नसोध ॥

भेट्नेछौ अर्थ बिस्वासमा तिमीले
पापी त्यो घातलाई सोध्दै नसोध ॥

सोध बरू फुललाई फुल्नुको मजा के ?
ईर्श्या गर्ने पातलाई सोध्दै नसोध ॥

अचार अनि तरकारीलाई थाहा हुन्छ -स्वाद
बेस्वादिलो भातलाई सोध्दै नसोध ॥

के हो जिन्दगी रातलाई सोध्दै नसोध ॥
सुकिसकेको आँतलाई सोध्दै नसोध

Tuesday, August 25, 2015

                       गजल- ३२०
                  
देशलाई यस्तो गरि भड्खालोमा चेटी रहेछन् ॥
आमा, यहाँ दाजुहरूले नै भाइलाई लखेटी रहेछन् ॥

नेता भन्नू अभिभावक हुन्, मैले यहि मात्रै बुझी रहे
तर आज थाहा भो-ति अभिभावक केटाकेटी रहेछन् ॥

अब के आधारमा दाबी गर्ने, बुद्ध नेपालकै हुन् भनी ?
जब नेपालीहरूले नै नेपालिहरूको घाँटी रेटी रहेछन् ॥

महाशयहरूले जाती, धर्म-सम्प्रदाय, वर्णलाई समेट्लान
तर मेरो प्रश्न छ- के यो देशको माटोलाई समेटी रहेछन् ॥

दोश ती आँखाको हुँदै होइन, तिम्रै हेराईको हुनुपर्छ
जसले झलमल्ल उज्यालोमा पनि अँध्यारो भेटीरहेछन् ॥

शकर निरौला 'निरक्षर '
फत्तेपुर, सप्तरी ।

                      

देशलाई यस्तो गरि भड्खालोमा घचेटि रहे छन् ॥
आमा, यहाँ दाजुहरुले नै भाइलाइ लखेटी रहेछन् ॥

नेता भन्नू अभिभावक हुन्, मैले यहि बुझी रहे
आज थाहा भो ति अभिभावक केटाकेटी रहेछन् ॥

ए गाइने दाइ, के अर्थ छ तिमिले सारङ्गी रेट्नुको ?
जब मान्छेहरुले नै मान्छेको घाँटी रेटि रहेछन् ॥

महाशयहरूले जातजाती धर्म सम्प्रदाय वर्णलाई समेटे
तर मेरो प्रश्न छ - के यो देशको माटोलाई समेटी रहेछन् ॥

शंकर निरौला 'निरक्षर '
फत्तेपुर, सप्तरी ।

Monday, August 17, 2015

गजल बाचन- पाऊ उत्तै छुटेछ ....

गजल बाचन-  पाऊ उत्तै छुटेछ ....



पाँच मिनेट मै ब्लग बनाउने तरिका सिक्नुहोस् । ब्लग अर्थात सित्तैको वेब साइट ।

पाँच मिनेट मै ब्लग बनाउने/ चलाऊने  तरिका सिक्नुहोस् । ब्लग अर्थात सित्तैको वेब साइट । 


YouTube मा हेर्नका लागि  यहाँ  click गर्नुहोस् >>  https://www.youtube.com/watch?v=v6AfBQdKXJ4&hd=1












A video by निरक्षर । 
के तपाईंको ब्लग छ् ?  मोबाइल बाट ब्लग कसरी चलाऊने ?आउनुस्  केबल दुई मिनेटमा सिक्नुहोस् ......
ब्लग अर्थात सित्तैको वेब- साइट  ।






Monday, August 3, 2015

गजल

भग्नावशेष जीन्दगीका भाग बोकेर ॥
औँसी रातमा हिँड्नु छ चिराग बोकेर ॥

अब त ईख लिएरै हिँडेको छु प्रिया
जस्तो हिड्छ गैँडाले खाग बोकेर ॥

तिमी हेर्दै मात्र जानु केकेसम्म गर्छु म
उही तिमीले थुकेको दिमाग बोकेर ॥

उसलाई दुख्दै दुख्दैन नियतिको प्रहारले
जो हिँडेको छ चोटहरूको दाग बोकेर ॥

जोगिनै पर्छ भमराबाट जो रस चुस्छन्
अनि भुर्र उडी जान्छन्  पराग बोकेर ॥

गजल

अब त यो जिन्दगी झुरजस्तो लाग्छ ॥
आफ्नै छाँया पनि दुरजस्तो लाग्छ ॥

तिमीसँगै हुँदा लाग्थ्यो जीबन सकिदैनँ
 तर आज किन क्षणभङ्गुरजस्तो लाग्छ ॥

स्वाद पटक्कै छैन अचेल यो आफ्नै जीब्रोमा 
 गुलिया सब चिज अमिलो अङ्गुरजस्तो लाग्छ ॥

म बद्लीएँ या बद्लीएको हो त्यो गाइने ?
सबै-सबै गीत उसका बेसुरजस्तो लाग्छ ॥

हिजोसम्मको आफ्नै लाग्ने यो सुकेधारा
नचिनेको नजानेको भत्तपुर जस्तो लाग्छ ॥

- शंकर निरौला 'निरक्षर' 

पुस्तकालयको महिमा- कबिता

            पुस्तकालयको महिमा 


मान्छेले पैला पुस्तक रच्यो अमृत खन्यायो 
तै बेलादेखी मान्छेलाई मान्छे पुस्तकले बनायो । 
होइन खोला नदी र ताल यो त हो सागर 
बिज्ञान कला साहित्य सारा यसमै छ् संसार ॥१॥

हजारौँ पुस्तक जोडीइ बन्छ पुस्तक-आलय 
जिबन अमृत ज्ञानको हो यो सङ्ग्रह-आलय । 
पाठक लेखक सम्बाद हुने शितल चौतारी 
ज्ञानका भोका प्यासिहरुले भेट्छन् दौंतरी ॥२॥

पुस्तक- घरमा जिबनको गुह्य रहश्य खुल्दछ 
यसैका उपज यो ब्रम्हाण्डमा सिर्जना फुल्दछ ॥३॥




-शंकर निरौला 'निरक्षर' 

गजल

 यो देश सखाप पार्लान् गद्दारहरुले ॥
जस्तो सिध्याउँछ बाली झारहरुले ॥

ठुलो-सानो, अग्लो-होचो भन्दै नहिँड 
मुलुक बन्दछ केबल बिचारहरुले ॥ 

अरु सबै भेडा हुन्, पछिपछी हिँड्ने 
बाटो खनी-दिन्छन्  दुई-चारहरुले ॥

मलाई हरेक दिन ऊर्जा दिइरहन्छन् 
गणेशमान,बिपी र भण्डारीका मुहारहरुले ॥

सिङगै युग ठड्याइदिने ताकत छ हाम्रो 
केही हुन्न यस्ता जाबो दरारहरुले ॥

हिजो राती सपनीमा बुद्ध भन्दै थिए-
बाबु, अब थाल्नु काम मेरै औजारहरुले ॥

                                  -शंकर निरौला 'निरक्षर' 
                                      फत्तेपुर, सप्तरी । 
 
                                         niraulanirakshar@gmail.com

गजल

                    गजल
सोच्दै छु म कस्तो होला यार बीनाको जिन्दगी ॥
साथी-सङ्गी, मित्रहरुको प्यार बीनाको जिन्दगी ॥

हजुर नहुँदा यो जिन्दगी ठ्याक्कै त्यस्तो हुनेछ -
जस्तो हुन्छ मौरिलाई घार बीनाको जिन्दगी ॥

बिर्सेंर पनि तिमीले कहिल्यै नसोध्नु मलाई -
कस्तो हुन्छ यात्रा ? दिलदार बीनाको जिन्दगी ॥

ए मित्र, तिम्रो अभाव- मलाई यस्तो गरी लाग्छ - 
जस्तो लाग्छ खुकुरीलाई धार बीनाको जिन्दगी ।।


                                     - शंकर निरौला 'निरक्षर' 

मुक्तक -८

1.  
यती बिघ्न सौन्दर्यको खानि देखेर 
सदा दीरहने तिम्रो आनी-बानी देखेर 
ए प्रक्रिती,  के तिमीले चै बुढो हुनु पर्दैन ?
छक्क पर्छु म त,  तिम्रो जवानी देखेर ।।
 

2 . 
रित  हेर  समाजको मान्छे यहाँ हेपिएछ 
पर्खाल बीच विभेदका कठै ! बरा चेपिएछ 
हामी जस्तै बोल्छ, खान्छ- हिँड्छ उसै गरी  
मान्छेकै छ संरचना कहाँ फरक देखिएछ ।।  


3.
खै के गर्यौ तिमीले जाबो सुन जोडेर 
नसा -नसामा लालचको खुन जोडेर
इस्वर पनि मात खादो हो, तिमीलाई देखी-
सन्तुस्ट हुन्छौ  आखिर कुन- कुन जोडेर ।।  


4.
फुल भन्थे माया सबै, हाम्रै किन काँडा भयो 
दुरी छैन तर पनि मन किन टाढा भयो 
साथ छैन एक अर्काको विश्वास कतै हराएछ 
हामी बीच आशंकाको दाग धेरै गाडा भयो ।। 


5.
 अझै पनि तिम्लाई सम्झी रुन खोज्छ मन 
सम्झी सम्झी तिम्रै तस्बिर छुन खोज्छ मन 
अँह... सम्झाउन सक्दिन म, थाकी सके अब 
लाखौ ताराहरू माझ उही जुन खोज्छ मन ।। 


7.
सदासदा मुस्कुराउने शिखर सगरमाथा छ यहाँ 
गोर्खाली मेरा पीता पुर्खाको बीर-गाथा छ यहाँ 
जिन्दगी र श्वासको जस्तो हुन्छ नि मित्रता ?
यो माटो सँगको मेरो त्यस्तो नाता छ यहाँ ।। 

 
8. 
कती सहनु जनताले चोट धेरै भो 
देश हाक्ने मर्दहरूमा खोट धेरै भो 
काँटछाँट गर्नु पर्छ एकएक गर्दै अब 
राजनीतिको फुलबारीमा बोट धेरै भो ।।  

Tuesday, June 16, 2015


                     गजल

टुङ्गिएको छैन अझै खोज जिन्दगिको ॥
कहिले पो सकिन्छ यो सोध जिन्दगीको ॥

कहाँ -कहाँ पुग्नु थियो, बाटोमै अल्झिएँ
जसोतसो पन्छाउँदै छु अवरोध जिन्दगीको ॥

यस्सै ख्याल ठट्टामै बित्यो आधा उमेर मेरो 
आखिर किन भएन मलाई बोध जिन्दगिको ॥

लुट्नेहरू यहीँ लुटिरहेछन् जिन्दगीको मजा 
मेरै थाप्लो माथि किन बोझ जिन्दगिको ॥

यता छोप्दा उता उदाङ्गो, उता छोप्दा यता 
मिलाउनै जानिनँ मैले पोज जिन्दगीको ॥

- शंकर निरौला 'निरक्षर'
          काठमाडौं ।
- niraulanirakshar@gmail.com 
      

"तैंले चै कती मलामी कमाएको छस् त शंकर ?"

२०७२/०३ / ०३  
धुम्बाराही, काठमाडौं, नेपाल ।  
समय: १२:o९ रातको    


जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहनु पर्छ - मैले । प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको क्षणिकता उही हो । यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि मर्न सक्ने सम्भावना छ । यहाँ यसो भनिरहनुको तात्पर्यके हो भने  जिबन छोटो छ, यो कस्तो चै रैछ  भनी बुझ्न खोज्दा खोज्दै सकीइहाल्ने ।

         जन्मिएर हुर्किएर यत्तिको लाठे भईेयो । तिघ्रे भइयो । तर आजका दिनसम्मा पनि यि हातहरुले मेरा बा आमा का लागि कै कै कै पनि गर्न सकिइएको छैन । मलाई सधैं यही कुरो ले घोच्छ, घोचिरहन्छ । आफ्ना माता पिताका लागि  कै गर्न सकुँ । अनी सकिएछ भने यो गाउ ठाउँ, समाजका लागि कै गरुँ । मान्छे का सबै रहर चाहना इक्षा आकान्क्षा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन र ग्यारेन्टी हुँदैन पनि । तर  अरु कै गर्न नसके पनि मैले मेरा बा आमाका लागि कै न केही गर्नु नै पर्छ । तिनै त हुन जस्को सहारामा यत्ती रमाइलो संसार देख्न, भोग्न पाइेको छ । मैले पाएँ ।
            मलाई संसार देखाउने उनै मेरा बा आमाका लागि मैले कै गरेकै हुनु पर्छ । नत्र त यो जुनी  ब्यर्थै गएको हुनेछ मेरा लागी । मेरा बा आमा खुशी हुने त्यस्तो कुनै काम गर्न सकुँ । र जुन दिन मैले तिन्का मुहार हासो देख्ने छु त्यो पनि केबल अनी केबल मेरै कारणले हो, त्यस पछी भने मलाई यो जिबन प्रती कुनै गुनासो हुने छैन । हासी हासी मर्न तैयार हुनेछु म ।

              युबा-कबी मोतिराम भट्ट केबल ३० बर्ष बाँचे । त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले केके सम्म गर्न सक्छ भनेर प्रमाणीत गरेर गए । मात्र ३० बर्षमा । उनको पोल्टामा त्यो तिस बर्ष रैछ । तर मलाई घरी घरी लाग्छ मलाई त त्यती बर्ष पनि छैन कि ? कस्लाई के था ! मोतिरामले तिस बर्षमा त्यत्राो  गरेर गए,   २२ बर्षको हुँदैछु म  (सर्टिफिकेटका आधारमा)  आजैको दिनमा । तर म भने आजसम्म बाटो पहिल्याउन नसकेर यता उता, यो उ भन्दै बसिरहेछु ।  होला साना तिना उपलब्धी हात लागे होलान-मलाई तर त्यस्ता उपलब्धिले जिबनको हिसाबमा खासै महत्व राख्न सक्दैनन । त्यहा त ठुला कामको ,खास कामको ,महान कामको हिसाब राखिन्छ, हुन्छ ।
       
         मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु ।  अनी सोच्छु - "म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?"
           मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे मर्दा यस्का मलामी कत्तिको सन्ख्या मा होलान ?  १०/१५,  ५०/ ६०,  १००/२०० या २/ ४ हजार या लाख/ लाखौं  ?" अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ?"   त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।











Wednesday, June 3, 2015

भूकम्पको राजनिती

भूकम्पको राजनिती 

देश यत्तिबेला राष्ट्रिय शोकमा डुबेको छ । बैसाख १२ गतेको सनिबार गएको महा-भुकम्प्ले क्षण भरमै हजारौको ज्यान लीनुका साथै लाखौँ नेपालीलाई सुकुम्बासी बनायो । यहि बिपत्तिबाट प्रभाबितको उद्दारका लागि बिभिन्न देशका उद्धार टोलि लगायत नेपाल सरकारका नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी अहोरात्र खटिएका छन् । त्यसरि उद्दारका लागि खटिएकाहरू आफु नै भुकम्पबाट पिडित छन । कयौँका आफ्ना परिबार पुरिएर ज्यान गुमाएका छन भने कतिका घर सखाप भएको छ । यसरि आफै शोकमा डुबेको स्थितिमा पनि "अरू अरूलाई बचाउनुपर्छ ,देशका  लागि खट्नु पर्छ, यस्तो आपत बिपतमा हामीले नगरे कसले गर्छ ? "भन्ने उदार मन बोकेर उद्दारमा लागेका ति तमाम आर्मि ,पुलीस र नेपाली सेनालाई सलाम छ । आफ्नो सेवा प्रतिको उहाँहरूको समर्पणप्रति हामी सबै नतमस्तक छौँ,अनि हुनु पनि पर्छ । जे होस सरकार्को इज्जत यिनै सेना,प्रहरी र स्शस्त्र समुहले धानिदिए भन्दा हुन्छ्, नत्र त सरकार कुन दुलोमा छ भन्ने सम्म पनि थाहा नपाउने अवस्था रहने थियो । बिपद ब्यबस्थापनको मुख्य जिम्मेवारी बोकेको गृह मन्त्रालय र सरकार प्रमुखको भूमिका कम्जोर र अब्यबस्थित देखिएको छ ।

               उदारका लागी आएका बिदेशी टोलिहरुलाई एक हप्ता भन्दा बढी बस्न नमिल्ने निती भएकाले ति टोलिहरुलाई फर्काउन लागिएको छ । भूकम्प गएको दशौ दिनभएको छ । सन्चार माध्यममा अझै पनि पिडित ले राहन नपाएको भन्ने आशयका खबर सुनिराखिएको छ तर   दशौ दिन बित्दै गरेको यो सन्दर्भमा बजारमा थुप्रै टिकाटिप्पणी हुन थालेका छन । को र कस्ले के कती राहत दिए, कसले  कसले दिएनन । कसले राहतको बहानामा आफ्नो स्वार्थ अनुकुल काम गर्ने प्रायत्न गरे लगातका कुराहरु सामजिक सन्जाल मा ओइरो लागेका छन । तर्क बितर्क र बहसको बिसय बनेका छन्, यहाँ त्यस्तै मुद्दाहरु उठान गर्ने सानो प्रयास गरिदैछ । 
                              भारतमा प्राकृतिक प्रकोपमा सघाउने 'National Disaster Relief Force' हुँदाहुँदै किन भारतिय सीमा सुरक्षा बल नेपाल आयो ? सरकारलाई थाहै छैन । कुनै पनि देशको सैन्य वा अर्धसैन्य बल सार्बभौमसत्ता सम्पन्न मुलुकमा आग्रह बिना आउन सक्दैनन् भने नेपालमा कसरि आए ? यिनलाई भारत सरकारको आग्रहमा आउने अनुमति दिइएको थियो र जनतालाई सुचना गरिएको थिएन या भारतले जबर्जस्ती नेपाल पठाएको थियो ? उहिले नब्बे सालको भुकम्पमा जुद्ध शमशेरले त बिपदसँग जुध्न गरेका कामकारबाही पारदर्शी थियो भने यो सरकारले आखिर किन त्यसो गर्न सकेन ?
                      चीन सरकारले बिकट पहाडी भेगमा ठूला हेलीकप्टर जान नसक्ने ठाउँमा राहत प्रथान गर्न साना हेलीकप्टर दिन्छु भन्दा सरकारले शुरूमा पर्दैन भन्यो । र, भुकम्प गएको चौबीस घण्टाभित्र कोदारी राजमार्ग खुलाईदिन्छु भन्दा पनि अग्रसर हुन दिइएन । त्यत्तिमात्र हैन, सरकारका प्रबत्ता तथा सुचना एबं संचार मन्त्रीबाट कुनै पनि सहयोग सरकार मार्फत् मात्र दिनु भन्ने उर्दि भयो ।सरकार आफुसँग साधन स्रोत पनि छैन, छिमेकीले दिन्छु भन्दा पनि मान्दैन ।
जुद्ध शमशेरले भताभुङ्ग भएका घरबास पुर्ननिर्माण गरी जनताले चाडोभन्दा चाडो टाउको लुकाउन पाउन् भनी चार भञ्ज्याङभित्र र पहाड मधेसको जङ्गल समेत खोलिदिन भनेका थिए ।तर अहिले सुगम स्थानमा पनि सामान्य त्रिपाल, खानेकुरा तथा औषधि पु-याउन सकेको छैन ।
                  राहत बितरण कार्यमा सरकार निकम्मा देखिएको छ । भुकम्प जानासाथ नगरपलीका, वडा, गाबिसहरूमा त्याहाँका सचिबसँग समन्वय गरी कुन स्थानमा केकति क्षति भयो भन्ने जानकारी लिनु पर्थ्यो । तर बर्तमान सरकारले त्यसो गर्न सकेन, बिपद सुचनाको अभावमा सहायता सामाग्री र जनशत्तीको आवश्यत्ताबारे निर्क्यौल गर्न सकिने कुरै आएन । फलस्वरूप केकस्तो अन्तराष्ट्रिय सहयोग माग गर्ने भन्ने कुरो निर्णय गर्न सकेन ।
                        अर्को तर्फ थुप्रै बिदेशी मुलुकबाट उद्दार टोली आए पनि ति आगन्तुक उद्दार टोलीहरूको कुशल निर्देशन गर्नमा पनि चुकेके छ- सरकार । जसले गर्दा ति उद्दार टोलीले अपरिचित मुलुकमा आ आफ्नै पाराले काम गर्नु पर्ने भयो । तिनलाई पनि असहज भो -काम गर्न । यस्तो अब्यबस्थित र खुकुलो निति अख्तियार गरिएकै कारण उद्दारको हवाला दिदै आएको यौटा समुहका हेलिकप्टरहरू भने चिनको सिमाना -सीमाना शैर गरेको खबर सुनियो । 'उद्दार' कम 'गद्दार' ज्यादा गर्दै आफ्नो (कु) नियत देखाउन पनि पछि परेन -त्यो ।
                देशमा आपत्बिपत परेका बेलामा सरकार प्रमुख, मन्त्री लगायत सरकारी प्रतीनिधिहरुले सर्बसाधारणलाई आड भरोसा दिन सक्नु पर्थ्यो । । जस्ले जनातामा "हाम्रो सरकारले हामीलाई हेर्ने छ " भन्ने आशा पलाउदछ । तर  हाम्रो सन्दर्भमा यसो हुन सकेन । देशमा महाभुकम्प गएको पाच दिन पछी मात्रै सरकार प्रमुखलाई प्रभाबित क्षेत्रमा जाने फुर्सद मिल्यो । राजधानी मै भएका पिडितलाई त पाच दिन सम्म पनि त्रीपाल लगायतका राहत सामाग्री उपलब्धा गराउन नसकेको भन्दै प्रधानमन्त्री माथी ढुङगा बबर्षाउन थालेको खबर पनि सुनिए । यस्ले सरकार प्रतिको आम- जनमानसमा कुन हदको आक्रोश रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । 
                         तेसै गरी राजनितिक नेताहरुले पनि यस्तो बिपदका बेला महत्वपुर्ण भूमिका खेल्न सक्थे । तीनले भूकम्प पिडितको घाउमा मलम लगाउन सक्थे तर त्यतो काम कुनै पनि नेताले  गरेको थाहा पाइएन । सामाजिक सन्जालामा नेताहरुका बारेमा अति नै आलोचनात्मक टिप्पणी हुन थाले पछी भने  भूकम्प गएको  एक हप्ता भैसक्दा दुइ चार नेताहरु यता- उता निरिक्षिणमा निस्किइएको देखिइयो । यो देशमा हरेक राजनितिक दलका भात्री सँगठन छन, तीनलाई सुरुको दिन्देखी नै परिचालन गर्न सक्नु पर्थ्यो तर देशमा भएका यत्तिका राजनितिक दलहरुमा   कुनैले पनि सो युवा सक्तिको  परिचालन गरेनेन । जनातामा नेताहरु प्रती बिस्वास गुम्दै गएको यो सन्दर्भमा नेताहरुले पुन्: बिस्वास कमाउने गतिलो अवसर गुमाए । हो, कुनै ठुलो काम  गर्न सकिने अवस्था थिएन, छैन होला तर  तर "हामी तपाईंको साथमा छौ ,आत्तीनु " पर्दैन भनेर आड भरोशा त दिन सकिन्थ्यो नि !  घरबास, परिवार गुमाएका पिडितहरुमा त्यतिले मात्र पनि केहि राहत हुन सक्थ्यो -मनोबैज्ञानिक रुपमा ।
           
                देशमा यत्ती ठुलो बिपत्ती परेको छ । त्यसैले देश बिदेशबाट सहयोग गर्नेको लर्को लागेको छ । धनाढ्य ब्यापारिले मात्रै हैन तराइका ति गरीब  मजदुरहरुले पनि आफुसँग भएको धान, गहु लगायतका अन्न मुठ्ठी दान गर्दै  त्यस्लाई बेची लाखौ रुपैया सरकारलाई बुझाइरहेका छन । तर बिडाम्बना !  राजनितिक दलका नेताहरुले भने महाभूकम्प गएको आज दश दिन  भैसक्दा पनि कोही कसैले पिडित लाई राहत स्वरुप रकम  दिइएको सुनिएको छैन । यौटा युवा साम्सद्ले भने आफ्नो बर्ष भरिको कमाइ दिने घोसणा गरेका छन , यि नै एक जना अपवाद देखिए । 

                        देश बिदेश बाट राहतको ओइरो लागेको छ तर अझै सम्म पनि पिडित हरु यौटा त्रीपाल पनि नपाएको गुनासो गरिरहेका छन । सरकारले जनशत्ति ब्यबस्थापन चुस्त दुरुस्त र systematic, समन्वयात्मक हुन सकेको भए भूकम्प पिडितले यत्ती धेरै दुख पाउदैन थिए जती आज पाइरहेका छन । प्रभाबकारी भूमिका खेल्न सकेको भए अझै सयौँ पिडितहरूको जिबितै उद्दार गर्न सकिन्थ्यो कि ! भन्ने खड्को सर्बसाधारणको मनमा सदा रहिरहने भयो । 
                       यि र यस्ता कमि- कमजोरीका कारण भुकम्प पिडितले सकसमाथि सकस मात्र पाए । गरिब राष्ट्रका नागरिक हुनुको नियति रहेछ  । या यसो भनौँ - 'भिजन' नभएका राष्ट्र प्रमुख हुनुको दुर्भाग्य । अब हेर्दै जाऊ सरकारसङ्ग उपलब्ध राहत सामाग्री के कसरी बितरण गरिनेछ्, कत्तिको प्रभाबकारी ढङ्गको हुनेछ।  बितरण प्रणाली कत्तिको चुस्त दुरुस्त हुनेछ आदी जस्ता कुराले पनि कोइराला सरकारको  केहि इज्जत बचाउन सक्ला । हेरौ, आगे के हुन्छ ! 

- शंकर निरौला 'निरक्षर'

काठमाडौँ,