नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, September 21, 2015

संविधान बनेको दिन

२०७२-६-३
(नेपालको सम्बिधान २०७२ घोसणा र लागू भएको दिन)
- अब देशमा के हुने हो, यत्तिकै भन्न सकिने बाताबरण देखिरहेको छुइन -मैले । एकातिर सम्बिधान बनेको खुसियालीमा 'दिपावली' मनाउन लाई उर्दि जारी गरिएको छ , र धेरैले 'दिपावली' मनाई रहेका पनि छन । भने अर्कातिर तराईमा दिनहु जसो २/४ जना मरिरहेका छन । आफ्नो हक अधिकारको लडाइँ  भनिएको तराई को आन्दोलनमा आजका मितिसम्म आउदा ४० जनाले सहादत प्राप्त गरिसके ।  सो आन्दोलनल्मा घाइते के कति भए सो को यकिन बिबरण छैन । स्मरण रहोस तराईमा मा जारी आन्दोलन बिगत ४० दिनदेखी चलिरहेछ ।

जन जीवन स्तब्द छ, ढप्प छ ।

Tuesday, September 15, 2015

                       गजल
  
यसरी निराहार व्रत बस्न, कसले सिकायो ॥
यस्ता-यस्ता झमेलामा फस्न, कसले सिकायो ॥

तिमी त सोह्र शृङ्गार बिनै यस्ती राम्री देखिन्छ्यौ 
ब्यर्थै यी लाली पाउडर घस्न, कसले सिकायो ॥

अप्सरा नै हुनुपर्छ- तिमी, उ... त्यो माथि स्वर्गको
प्रिया, तिमिलाई धरतिमा खस्न, कसले सिकायो ॥

न झ्याल चाहिने न ढोका, यो कस्तो कला हो तिम्रो ?
लौ भन यसरी दिलभित्र पस्न, कसले सिकायो ॥

तिमीलाई सोध्दा-सोध्दै, आफैलाई यसरी सोध्न पुगेछु-
मलाई चैँ प्रश्नै प्रश्नले अरुलाई डस्न, कसले सिकायो ॥

शंकर निरौला 'निरक्षर'

Friday, September 11, 2015

                      गजल

देशलाई भत्काएर अचेल, ऊ घर बनाउँदै छ ॥
यसरी ऊ कोमल मुटुलाई पत्थर बनाउँदै छ ॥

यो कस्तो रवैया हो उसको ? बुझ्नै सकिनँ मैले
आफै प्रश्न बनाउँदै छ, आफै उतर बनाउँदै छ ॥

मर्नु त छदैछ एकदिन भन्ने पाठ सिकाउनै हो कि ?
बन्दुक देखाएर कसैकसैलाई निडर बनाउँदै छ ॥

अरे यार, जग मजबुत भए मात्रै घर मजबुत हुन्छ
यत्ति बुझेर पनि किन त्यही जग धरमर बनाउँदै छ ॥

आखिर तिम्रो उदेश्य के हो ? यहि सोध्नु छ ऊसँग 
जसले यति हराभरा जङ्गललाई बगर बनाउँदै छ ॥

Monday, September 7, 2015

केहि मुक्त्तकहरू:

केही मुक्तकहरू:

#१.   देश-भक्तीको एउटा पाठ पढाएर आउँदा 
         बलीदानीको जङ्गे पिल्लर ठड्याएर आउँदा
         मलाई यि मान्छेहरुले लखेटे-  मुर्कुटा भन्दै 
         देशका निम्ती मैले शिर चढाएर आउँदा ॥

#२.   चोक्टा -चोक्टा लुछेर यो देश खाइरहेछन्
         मान्छेकै भेषमा उ..हेर न गिद्दहरु आइरहेछन्
         यहाँ तिनै मान्छेहरु शाकाहारी घोषित भए, आमा 
         जो-जसले हजारौं लाखौंं जिन्दगी चपाइरहेछन् ॥

#३.   "म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
          मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
          तिमी जस्तै लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन् 
          मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥

#४.    कहिले उकालो चढिन्छ, कहिले ओरालो झरिन्छ 
          जिन्दगी हो- यो, जिन्दगीमा सङ्घर्ष निरन्तर गरिन्छ 
          हेर्दै जाऊ- लक्ष्य हासिल हुन्छ हुन्छ, हुने नै छ एकदिन 
          यी ठक्करहरू कुनै बिष होइनन् जुन खाएपछि मरिन्छ ॥

                                             - शंकर निरौला 'निरक्षर' 

Friday, September 4, 2015

                              गजल

           थाप्लो माथी नाम्लो लगाई भारी बोकेर ॥
            जिन्दगी भर गरीबीको चिनारी बोकेर ॥

          थकित भई अरु जस्तै तिमी किन सुस्ताउदैनौ ?
           पक्कै पनि तिमी हिँडेका छौ छहारी बोकेर ॥ 

          कहिल्यै रित्तो हिँड्दैन यौटा ज्यामी मान्छे 
          पाखुरामै लिई हिँड्छ ऊ खेतबारी बोकेर ॥

          तिमीले त मात खुवाइदियौ, तिम्रै नियतिलाई 
           कहिल्यै पनि हार नमान्ने बिमारी बोकेर ॥