नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Showing posts with label कबिताहरु. Show all posts
Showing posts with label कबिताहरु. Show all posts

Wednesday, April 26, 2017

छन्द कविता - "घरीघरी फसाइयो"

 पन्चचामर छन्द - ।s ।s ।s ।s ।s ।s ।s ।s

               "घरीघरी फसाइयो"

रहेन राष्ट्र एक यो, चिरा चिरा बनाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।
निकास दिन्छु भन्छ जो, फसाउने त हुन्छ त्यै
भुलेर बस्छ गद्दिमा, करोड आसु कुल्च्दै ।।१।।

अनेक तन्त्र देखियो, अनेक कष्ट भोगियो
बिकास कै भएन खै ! करोड अर्ब पोखियो ।।
हिजो जहाँ-जहाँ थियौं, त्यहीँ छ आज पाइला
फुलेन फूल देशको, सधैं सधैं छ कोपिला ।।२।।

कतार साउदी दुबै, मलेसिया पठाउने
युवाहरू जत्ती सबै, उता तिरै खटाउने ।।
कसो गरी बचाउने, छ देश आज भीरमा
यही सवालले सदा, ठुङीरहन्छ शीरमा ।।३।।

जितेन देशले यहाँ, भयो सधैं पराजय
निकास क्यै भएन है ! हजार आए औं गए ।।
र सार्वभौम देश यो, भनी -भनी बताइयो
विवेक बुद्धि बेचियो, छिमेकमा पठाइयो ।।४।।

पहाड रून्छ बिचमा, हिमाल रून्छ उत्तर
हुँदै छ खण्ड देश यो, नरो न भन्ने को छ र ।।
बसेर छैन काम क्यै, गफै त हो लडाउने
 गरेर द्वन्द्व देशमा, प्रजाहरू भिडाउने ।।५।।

घरै भित्रै त छन् यहाँ, हजार लाख लेण्डुप
बुझाउँदै गए सबै, नदी तलाउ गुप्चुप ।।
छ चोट यो दिलै भरी, कता गई बगाउनु
हुँ नागरीक देशको, कसो गरी बचाउनु ।।६।।

छिमेक भन्नू ब्यर्थ हो, सधैं धुलो चटाउछन्
रिमोट हुन्छ हातमा, भनेजसो खटाउछन् ।।
हुँदै भएन शान्ति हे ! अशान्ति पो खटाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।७।।

छ काटमार देशमा, बढिरहेछ द्वन्द्व यो
मिलेन ताल देशको, बिग्रीरहेछ छन्द यो ।।
प्रजा रुवाइ देशमा, ब्रह्मान्ड पो हसाइयो
अनेक जालझेलमा घरीघरी फसाइयो ।। ८।

-निरक्षर निरौला
फत्तेपुर, सप्तरी ।
सम्पर्क: ९८४३५८४३४८
e-mail: niraulanirakshar@gmail.com

'रेडियो मिर्मिरे' मा आफ्ना रचना बाचन गर्दै
२०७३/०१/१५ 




Friday, January 6, 2017

छन्द कविता- छाडेर आफ्नै घर

कविता - 'छाडेर आफ्नै घर'
शार्दुलबीक्रीडित छन्द - SSS IIS ISI IIS SSI SSI S

                      छाडेर आफ्नै घर

राेएथेँ यसरी, म के भनुँ अहो ! राखेँ यहाँ पत्थर
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर ॥
सासै यो कसरी, चलाउनु हरे ! चल्दैन केही गरि
झार्दै आँसु ल हेर गुड नै छाडेर आयो चरी ॥१॥

खोज्दै पो छ कि त्यो, पहाड झरना, त्यो देउराली पनि
भन्दो हो निठुरी रहेछ दुनियाँ, बिर्स्यो मलाई अनी ॥
माटोको महिमा, म के भनुँ छ यो, कस्तो गढेको यहाँ
यस्तो लाग्छ हिँडे छु त्यस स्थलमै, धड्कन् भुलेर त्यहाँ ॥२॥

माताको मन औं, पिता पनि त्यहीँ, रोए थियौँ धर् धरी
भुल्नै सक्दिनँ कै, गरे पनि अझै, ताजै छ अाँखा भरी॥
सारा जीवन यो, बिताउन सँगै, खोजेर पाइन्छ र
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर  ॥३॥ 

खण्ड काब्यको एक अंश-

खण्ड काब्यको एक अंश-

झ्याउरे लय
३ २ ३ २ ३ ३

खण्ड काब्यको एक अंश-

सक्दिनँ सोच्नै,  कसरी भयो, यी सारा घटना॥
खुलेर भन, ए मेरा भाइ, बिन्ती नढाँटन ॥

के सोची तैंले, निर्णय गरिस्, यस्तो यो मोडमा ॥
गैगयो ब्यर्थै, जिन्दगी तेरो प्रेमको होडमा ॥

हजारौं कुरा, होला त्यो प्रेम, सर्वश्व हुँदैन ॥
अभाव दु:ख, पीडामा कैले, प्रेमले छुदैन ॥

जिन्दगी मात्र, जिन्दगी हैन, सुनौलो मौका हो ॥
मिलाउन जाने, एक् दुई रन् हैन, चौका र छक्का हो ॥

पढ्नुको अर्थ, कै हैन अरु, मात्र सोच फेर्नु हो ॥
एक् तर्फी हैन, सब् तिरबाट, जिन्दगी हेर्नू हो ॥

सपना सारा, फुटेर गए, ती तिम्रा पिताको ॥
भएनन् कुनै, सपना पूरा, उनले चिताको ॥

घर हैन त्यो त, देख्दैछु म त, दु:खको झुपडी ॥
त्यसैमा थपीस्, बुहारी तैंले, बिग्रेछ खोपडी ॥


निरक्षर निरौला  

Saturday, January 9, 2016

नाकाबन्दिको सबाई

निर्माण प्रक्रिया - ४,४,६ = १४ अक्षर
वाचन प्रक्रिया - ४ ८ र १४ अक्षरमा विश्राम


नाकाबन्दिको सबाई


दिदि बैनी ए दाजुभाइ
यो संदेश भन्दैछु सबैलाई ॥
नाकै बन्द भए सरी सीमानामा नाका
स्वदेशीको मामिला छ बिदेशीको आँखा ।
दाजुभाइ जुधाएर रमितेको ताती
छिमेकिले शीरमाथि पुर्‍याउदैछ लात्ती ॥
अडान छ आफ्नै आफ्नै, छ है आफ्नै बोली
हिजो भन्दा आज कष्ट आजभन्दा भोलि ।
घर भित्र बिवाद छ दुनियाँको हासो
आफैलाई लगाउदै छन् किन गलपासो ॥
                                  कोहो आफ्नो कुन चै पराई
                                   हिमाल पहाड रुदैछ तराई ॥
साढेहरू डुक्री हिड्ने बाच्छालाई मिच्ने
जनताको घाँटी हेर कस्तो गरि थिच्ने ॥
कुटे जस्तो गर्ने कोहि, कोहि रोए जस्तो
राजनीति खेल हेर कति भयो सस्तो ॥
तेल ग्यास इन्धनको अभाव छ देशमा
चोरडाका डुलि हिड्छन ब्यापारीको भेषमा ॥
चोरडाका मोटाउने जनता चै सुक्ने
सुशासन हुन्छ भनी मन्त्रीहरू भुक्ने ॥
                              ज्याला गर्ने ए ज्यामी दाइ
                               उस्तै रैछ तिमी र हामिलाई ॥
म चै गर्छु भन्दै आए सुरिएर ओलि
सबै कुरा ठिक हुन्छ आज या त भोलि ॥
आजभोली भन्दाभन्दै सय दिन गए
आशा सबै आर्यघाटमा सहिद लौ भए ॥
आधा दर्जन उपप्रधान मत्रीहरूको टोली
कुर्सिहरू बाडियो है निर्धक्क मन खोली ॥
मन्त्रालय फुटाएर गरिदै छ राज
दुनियाँलाई रमिता भएको छ आज ॥
ओलि ज्युका उखान टुक्का कति मीठो बोली
तिम्रा हाम्रा आँसु झर्‍यो, बनीसक्यो खोली ॥
                                रास्ट्रवादको यो कस्तो नारा
                            छन भोकभोकै नेपाली जनसारा ॥
संविधान बनेपछि देश बन्छ हेर
यस्तो दिन एक जुगमा आउँछ एकै फेर ॥
यस्तै भन्दै नेपालीलाई आशा देखाएर
माछा माछा भन्यौ तर भ्यागुताको ढेर ॥
नयाँ नेपाल बनाउन लागि परेका छन्
खाका कोर्नै तछाड मछाड हेर गरेका छन् ॥
ग्यास तेल इन्धन र पेट्रोलको खाचो
यत्ति मात्रै रैछ अहो देश चल्ने साचो ॥
वरिपरि अभाव छ दु:ख पीर चिन्ता
पहुँचवाला सवारीमा सररर हिन्छ ॥
तस्करीले बजारलाई चलाउछ आज
तर पनि सरकारलाई छैन हेर लाज ॥
अनुगमन भन्नू मात्र आँखामाथी छारो
ठुलालाई चैन सधैं, सानालाई गाह्राे ॥
                                नेता ज्युको अडान छ जारी
                                तिम्रो हाम्रो पैदल सवारी ॥
जाडो लाग्यो शेर्पाहरू तलतिर झरे
हिजै मात्र कठ्याङ्ग्रीएर आठ जना मरे ॥
भुकम्पले घर लड्यो पहिरोले बारी
आफ्नो ब्यथा सुनाउछु आँसु झारी झारी ॥
बिपत्तिमा जोगाएर आए पनि सास
अब चाहिँ बाच्छु भन्ने रहेन है आश ॥
मन्त्री ज्युलाई कुर्सी भए त्यहीँ स्वर्ग धाम
पुनर्निर्माण नबनिर्माण बाकी रह्यो काम ॥
                                   बिदेशीको डलर ओइरो
                                   मुटु भित्र गैरहन्छ पहिरो ॥
  
-शंकर निरौला 'निरक्षर'
    फत्तेपुर, सप्तरी ।

Tuesday, December 29, 2015

गद्य कबिता -


जब जब देश दुख्छ
मरे मरे भन्दै
आफ्नो अस्तित्व गुमाएर
चुपचाप मौन बसि
अश्रुधारा आसु झार्छ
तब म ?
केबल दर्शक बनी हेर्न बिबश छु ।

म आफुले आफैलाई
हानिरहेछु प्रश्नका बाणहरूले-
के यो 'म' मै हँ ?
या कुनै लास ?
जसले कुनै प्रतिक्रिया जनाउदैन
बस् लाचार लडिरहन्छ
आफ्नो उपस्थिति जनाएर
शोकको माहौल बनाइरहन्छ ।

झ्याउरे छन्द कविता - मेरा बा आमा

निर्माण प्रकृया:  ३+२,३+२,३+३ ( जम्मा १६ अक्षर )

पुरानो याद सम्झना भयो मन रुन्छ बेस्सरी
बुझाए चित्त पोखेर भाव लेखेर यसरी ।
यत्ता म सोच्छु कै गर्छु भनी मनमा कहेर
ए हवा लैजा यी मेरा बोली लौ झट्टै बहेर ॥

ती मेरि आमा झारेर आँसु सदैब रुदि हुन्
तस्बिर यौटा छोडेको थिएँ त्यही पो छुदी हुन् ।
फलाम बने ती मेरा बाबा रातोदिन चलेका
यो दैब पनि निठुरी किन उनैलाई छलेका ॥

सम्झौता हेर जिन्दगी भरी कसरी गरेका
नबोली केही आसुका खोला हासेरै तरेका ।
सम्झौता यौटा गर्नुछ सधै त्रीयुगा तरेर
हिम्मत अझै हारेका छैनन् संघर्ष गरेर ॥

जिउनु  यौटा उत्साह हुन्छ यो कस्तो जीवन
काडाका बीच फक्रेछ फुल कम्जोर नभन ।
ती हाड छाला थाकेकी कतै मलाई कुरेर
उज्यालो दिन्छ पग्लेर मैन आफैमा जलेर ॥

भिजेका होलान् नयन तिम्रा आसुले छपक्कै
दु:खमा पनि मुहार तिम्रो बल्या'छ धपक्कै ।
बित्दैछ तिम्रा गरेरै काम चालीस दशक
सक्दिनँ हेर्न रुन्छ यो मन घोच्दछ चसक्क ॥

चाहान्छु यस्तो कविता लेख्न हृदय पग्लिने
सुनेर शब्द त्यो शिर तिम्रो शानले अग्लिने ॥

- निरक्षर
..............

छन्द कविता - मन्दाक्रान्त छन्द

हिड्न गाह्रो छ गाह्रो (मन्दाक्रान्त छन्द )

सूत्र -  SSS SII III SSI SSI SS

यात्रा कस्तो कठिन छ अहो यो उकालै उकालो
दायाँबायाँ वरिपरि हरे खोच पाखो भिरालो ॥
पन्छाएरै म त गइरहुँ, जिन्दगीको तगारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥१॥

लागेँ आजै म पनि अब लौ, लौ नरोके मलाई
भेटौला लौ शिखर तलमा सम्झना दाजुभाइ ॥
गर्छौं गर्छौं भनिभनि कनै जिन्दगी यो सकिन्छ
सुक्यो खोलो जब समयको अर्थ के हो बुझिन्छ ॥२॥

हिड्ने हिड्यो उहीँ बखतमा पाइला त्यो चलाई
आजै मात्रै किन र कसरी बोध भो यो मलाई ॥
धक्का अाँधी सब खपिकनै खोज्न जादैछु चारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥३॥

हातै बाधी बसिरहनुले भाग्य बन्दैन हेर
आऊआऊ मसित अहिलै, लौ नहोस है अबेर ॥
आजै थाले अलिअलि त यो हेर बाटो कटिन्छ
प्रेमी जोजो छ परिश्रमको भाग्यले दिन्छ दिन्छ ॥४॥

रित्तै आए पनि जगतमा देबकोटा र मोती
छर्दै गए झिलिमिली अहो, क्या सुनौलो छ ज्योति
हिड्दै जादा पथिक पथमा हुन्छ कस्तो हतारो
सोचेजस्तो सहज छ कहाँ, हिड्न गाह्रो छ गाह्रो ॥५॥

- शंकर निरौला 'निरक्षर'
        ....................

Monday, August 3, 2015

पुस्तकालयको महिमा- कबिता

            पुस्तकालयको महिमा 


मान्छेले पैला पुस्तक रच्यो अमृत खन्यायो 
तै बेलादेखी मान्छेलाई मान्छे पुस्तकले बनायो । 
होइन खोला नदी र ताल यो त हो सागर 
बिज्ञान कला साहित्य सारा यसमै छ् संसार ॥१॥

हजारौँ पुस्तक जोडीइ बन्छ पुस्तक-आलय 
जिबन अमृत ज्ञानको हो यो सङ्ग्रह-आलय । 
पाठक लेखक सम्बाद हुने शितल चौतारी 
ज्ञानका भोका प्यासिहरुले भेट्छन् दौंतरी ॥२॥

पुस्तक- घरमा जिबनको गुह्य रहश्य खुल्दछ 
यसैका उपज यो ब्रम्हाण्डमा सिर्जना फुल्दछ ॥३॥




-शंकर निरौला 'निरक्षर' 

Thursday, May 7, 2015

कबिता : स्वदेश फर्क युवा

झ्याउरे छन्दमा रचित

देशको भार सिङ्गै संसार थेग्नुछ युवाले
यो राष्ट्र हाम्रो बन्दैछ कालो बिदेशी धुँवाले ।
परदेशी बन्ने  किन हो यस्तो चलेको लहर
गाउँ र बस्ती शुन्य छ आज उस्तै छ शहर॥

हिमाल रित्तो तराई रित्तो रितो छ पहाड
कसैको कता कसैको कता जिन्दगी उजाड।
हिरा र मोति फलाऊ अब नेपाली माटोमा
भोलिका पुस्ता हिड्नेछ तब यो तिम्रो बाटोमा ॥

यौटाले थाले अर्कोले थाल्छ उठ्नेछ जमात
समृद्ध सभ्य बन्नेछ भोलि यहि गाऊँ समाज॥

हात्ती पढेरै ठुलो भा को हो

हिजो
कक्षा पाचमा फेल हुँदा
घरका सबैले
वरपरकाले गाली गर्दा
ऊ भन्थ्यो- " के हात्ती पढेर ठुलो भा'को हो ?"

हिजो SLC फेल हुँदा
अनि
 तीन तीन बर्ष लगाएर
बल्ल बल्ल
 SLC पास हुँदा
 फेरी भन्थ्यो ऊ -" के हाती पढेर ठुलो भा 'को हो ?"
हिजो कलेज बंक गरेर बाहिर बाहार डुलि हिडेको
 आफ्ना आफन्तले देख्दा
अझै ऊ भन्थ्यो -" के हात्ती पढेर ठुलो भा को हो ?"
आज
पाच हजारको जागिर पाइने
यौटे आधार-  सर्टिफीकेट
अर्थात त्यही खोस्टो
उसँग नभएर
 आफै सडकमा
 एक्लै भन्दै हिडेको छ-"  हात्ती पढेरै ठुलो भा को हो । "
हिजो र आजमा
मात्र अलिकति
 हो ,मात्र अलिकति फरक छ
हिजो त्यही कुरा भन्थ्यो- तर त्यो प्रश्न हुन्थ्यो
 आज त्यही कुरो भन्दैछ- तर त्यो  उतर भएको छ  ।

देश चिच्याउँदा



जब देश 
चिच्याऊँछ
 मरे मरेँ भन्दै कराऊछ 
आफ्नो अस्तीत्व गुमाई
 चुपचाप मौन बसी 
सुँक्क गर्दै 
कतै अश्रु धारा  बगाउँछ 
तब 
म केवल दर्शक बनी हेर्न बाध्य छु 
 घरी घरी सोध्छु आफैलाई
  के यो म मै हुँ ?
 या कुनै लास हो
 जसले कुनै प्रतिक्रीया गर्दैन
 बस् लाचार लडिरहन्छ
 आफ्नो उपस्थीति जनाई 
केबल सोकको माहौल बनाईरहन्छ ।