नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, April 26, 2017

छन्द कविता - "घरीघरी फसाइयो"

 पन्चचामर छन्द - ।s ।s ।s ।s ।s ।s ।s ।s

               "घरीघरी फसाइयो"

रहेन राष्ट्र एक यो, चिरा चिरा बनाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।
निकास दिन्छु भन्छ जो, फसाउने त हुन्छ त्यै
भुलेर बस्छ गद्दिमा, करोड आसु कुल्च्दै ।।१।।

अनेक तन्त्र देखियो, अनेक कष्ट भोगियो
बिकास कै भएन खै ! करोड अर्ब पोखियो ।।
हिजो जहाँ-जहाँ थियौं, त्यहीँ छ आज पाइला
फुलेन फूल देशको, सधैं सधैं छ कोपिला ।।२।।

कतार साउदी दुबै, मलेसिया पठाउने
युवाहरू जत्ती सबै, उता तिरै खटाउने ।।
कसो गरी बचाउने, छ देश आज भीरमा
यही सवालले सदा, ठुङीरहन्छ शीरमा ।।३।।

जितेन देशले यहाँ, भयो सधैं पराजय
निकास क्यै भएन है ! हजार आए औं गए ।।
र सार्वभौम देश यो, भनी -भनी बताइयो
विवेक बुद्धि बेचियो, छिमेकमा पठाइयो ।।४।।

पहाड रून्छ बिचमा, हिमाल रून्छ उत्तर
हुँदै छ खण्ड देश यो, नरो न भन्ने को छ र ।।
बसेर छैन काम क्यै, गफै त हो लडाउने
 गरेर द्वन्द्व देशमा, प्रजाहरू भिडाउने ।।५।।

घरै भित्रै त छन् यहाँ, हजार लाख लेण्डुप
बुझाउँदै गए सबै, नदी तलाउ गुप्चुप ।।
छ चोट यो दिलै भरी, कता गई बगाउनु
हुँ नागरीक देशको, कसो गरी बचाउनु ।।६।।

छिमेक भन्नू ब्यर्थ हो, सधैं धुलो चटाउछन्
रिमोट हुन्छ हातमा, भनेजसो खटाउछन् ।।
हुँदै भएन शान्ति हे ! अशान्ति पो खटाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।७।।

छ काटमार देशमा, बढिरहेछ द्वन्द्व यो
मिलेन ताल देशको, बिग्रीरहेछ छन्द यो ।।
प्रजा रुवाइ देशमा, ब्रह्मान्ड पो हसाइयो
अनेक जालझेलमा घरीघरी फसाइयो ।। ८।

-निरक्षर निरौला
फत्तेपुर, सप्तरी ।
सम्पर्क: ९८४३५८४३४८
e-mail: niraulanirakshar@gmail.com

'रेडियो मिर्मिरे' मा आफ्ना रचना बाचन गर्दै
२०७३/०१/१५ 




1 comment:

  1. दामि.... मलाई नि सिकाइ दिनु न

    ReplyDelete