नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, June 29, 2016

नक्कलीहरूको सक्कली देश




नक्कलीहरूको सक्कली देश

सामान्यतया नक्कली भन्ने बितिकै हाम्रो मस्तिष्कमा कुनै त्यस्तो नारीको प्रतिबिम्ब आउँछ जो बढी उत्ताउली वा भनौं तडकभडक शैलीकि हुन्छे । यहाँ यसो भनिरहदा नारीबादीहरूले 'यस्तो भनाइ त पुरुष मानसिकताको उपज हो' भन्ने आरोप पनि लगाउलान तर पङ्तिकारको आशय त्यस्तो हैन र छैन पनि । पुरुषहरूका निमित्त पनि 'नक्कले' भन्ने शब्द बनेको छ जसले पुरुषमा हुने नक्कली प्रकृति प्रवृत्तिको संकेत गर्छ । कुनै ब्याक्ती बिशेश होइन बरू त्यो 'नक्कली' भन्ने शब्दको प्रवृत्ति चरीत्र र अर्थ प्रति लक्ष्य गर्नु मेरो अहिलेको चेष्टा हो । 'नक्कली' शब्दको अर्थ बुझ्ने प्रयत्न हो । सामान्य र बुझ्ने भाषामा एक वाक्यमै भन्नु पर्दा जोजो जेजे र जुनजुन वस्तु, पदार्थ, ब्याक्ती, अवस्था, ब्यबस्था, प्रक्रिया यथार्थमा जस्तो- जस्तो हुनु पर्ने हो, त्यस्तो नभई अर्कै हुनुलाई नक्कली मान्न सकिन्छ ।
       
           नेपाली समाजमा यो नक्कली भन्ने शब्द बेलाबेलामा चर्चामा आइरहन्छ । जस्तो अहिले पनि आइरहेको छ । पत्रपत्रिका, अन्लाइन र सामाजिक संजालमा नक्कली डाक्टर, नक्कली इन्जिनियर पक्राउ परेको खबर देख्न सुन्न पाइएको छ, देख्नु सुन्नु परेको छ । दैनिक जसो दर्जन हाराहारीको सङ्ख्यामा पक्राउ परे भन्ने ब्योहोराका खबर पत्रपत्रिकाका हरेक बिहानी ओकलिरहेकै छन । धेरैलाई यो खबर आश्चर्य जस्तो लागे पनि यस पङ्तिकारलाई भने यस्ता नक्कलीहरूको चेहरा सार्बजनिक हुँदा आश्चर्य लागेको छैन । बरू आश्चर्य यो कुरामा लागेको छ कि नेपाल प्रहरीमा एक्कासि यस्तो आट, हिम्मत र 'मूड' कसरी आयो ? 

             
नक्कली डाक्टर र इन्जिनियरहरूको करतुत अहिले भर्खर मात्रै सार्बजनिक भए पनि तिनको सेवाबाट भने सर्बसाधारण जनता भुक्त भोगी नै थिए । यहाँ सर्बसाधारण भन्ने शब्दलाई यस कारणले पनि जोड दिन आवश्यक ठान्दछु कि सम्पन्न र पहुँचवालहरू त औषधोपचार गर्न परदेश हान्नि हाल्छ्न । ती नक्कली डाक्टरका सक्कली ग्राहक त निर्बिकल्प तपाइँ हामी नै हौं । टाउकोको उपचार गर्न जादा पेटको चिरफार हुनु, पानीको फोका ठानेर (डाक्टर महाशयकै भनाइ अनुसार सानो गल्ती हुँदा) पित्त थैली नै फालिदिनु, सल्यक्रिया गर्दा कैँची, कपड़ा भित्रै रहनु जस्ता अनुभवले जनताले उहिल्यै बुझिसकेका थिए को कति पानीमा छ भन्ने कुरो । फरक यति हो कि यतातिर प्रहरीको आँखा बल्ल पुग्यो । यतातिर हेर्ने मूड बल्ल चल्यो । थाहा छैन यो 'मूड' कहिलेसम्म कतिन्जेललाई चल्ने हो ।
           
अहिले डाक्टर इन्जिनियरको सर्टिफिकेटलाई त अनुसन्धानको दायरामा ल्याउने काम सुरु भएको छ जुन सकारात्मक छदैछ तर त्यसैसङ्ग जोडिएर आउने अस्पताल, नर्सिङ होम, डाक्टरले रीफर गर्ने औषधि, सामन्य रुघाखोकी  लागेको हो भन्ने जान्दाजान्दै पनि दस थरीका चेक अप र त्यस चेक अप गरिए बापत तिनले पाउनेक कमिसनका सम्बन्धमा पनि अनुसन्धान हुनु आवश्यक छ ।
       
              ओभर सियर पढेकाहरूले आफुलाई उमेर अनुसार वरिष्ठ इन्जिनियर भनाउदै कन्सल्टेन्सी नै खोलेर बसेको उदाहरण पनि कति छन कति । त्यस्ता वरिष्ठहरूले निर्माण गरेका संरचनाको ग्यारेन्टी कस्ले लिने ? त्यस्ता नक्कली इन्जिनियरबाट निर्मित घर पुल सडक भोलि मानबिय क्षतिको कारण बने त्यसको भर्पाई कस्ले कसरी र के गरेर गर्ने ?  यता पनि ध्यान जाओस् । यसरी खोस्रीदै खोस्रीदै जाने हो भने यो देशमा डाक्टर इन्जिनियर मात्रै हैन राज्यका हरेक तह र तप्कामा नक्कलीहरू भेटिने छन । पङ्तिकारको यो कुनै आशन्का हैन, दाबी हो ।
             


 एउटा मजदुर कामै नगरी मालिकले पैसा देओस भन्ने अपेक्षा राख्दछ, काम गर्नुमा भन्दा बढी लगाव उसलाई टायर बाल्नुमा छ भने पङ्तिकारको बिचारमा ऊ पनि नक्कली मजदुर  हो । ब्यापारी जब आफ्नो धर्म छोडेर कालो बजारी र कृत्रिम अभाव सिर्जना गर्न लल्लिन हुन्छ तब ऊ पनि नक्कली व्यापारी साबित हुन्छ । कक्षा कोठामा नगइकनै तलब पाइयोस भन्ने शिक्षक, नपढिकनै धेरै नम्बर आओस् भन्ने विद्यार्थी, रास्ट्रसेवकको 'ट्याग' भिरेर सरकारी जागीरमा छिरेको तिनचार बर्ष पनि नबित्दैै बिल्डिङ्ग ठड्याउने कर्मचारी, बोली र ब्यबहारमा एकरुपता ल्याउन नसक्ने नेता  लगायत यस्ता प्रवृत्ति बोकेका सबै नक्कली नै हुन । जो आफुलाई सुम्पिएको वा आफुले गर्नु पर्ने काममा भन्दा गर्न नहुने काममा ज्यादा रुचि, समय र दिमाग लगाउदछन । यस्ता नक्कलीहरू हाम्रो नेपाली घर समाजमा छ्याप्छ्याप्ती भेटिन्छन ।

           
अरुको के कुरा भो र तपाईं  र म भित्रै पनि यौटा 'नक्कली' प्रवृत्ति रहेको छ । उदाहरण नै दिऊ - लेख्नै पर्ने कुराहरू मैले लेख्न सकिरहेको छुइन । तपाईं पाठक भएर पनि पढ्नै पर्ने कुरा पढिरहनु भएको छैन । यसरी तपाईं र म गर्दै यो सिङ्गो देशका जनता नक्कली हुँदै गएका छन् । नक्कली हुँदै गएका छौँ ।
हुँदा हुँदा बषैा पुरानो र हाम्रो  एकदमै निकटस्थ भनिएको छिमेकी भारत पनि 'नक्कली छिमेकी' रहेछ भन्ने कुरा भर्खरै प्रमाणित भयो- चार महिने नाकाबन्दीले ।
         
नक्कली नै नक्कली भएकाहरूको देशमा ठुलठुलो भनिएका आन्दोलन, क्रान्ति र नाराहरू पनि नक्कली नै हुदा रहेछन । यदि ती आन्दोलन क्रान्ति र नारा सक्कली भएका हुदा हुन त यो देश यस किसिमको भएर रहिरहदैन थियो । राजनितिक पार्टीले गरेको क्रान्तिमा मारिएकाहरूको मृत्यु, अङ्गभङ्ग र सिउदो पुछिएको नारीको आशु सक्कली भए पनि राजनैतिक पार्टीका नेता तिनका घोषणपत्र, देशप्रती तिनले गरिएको भनिएको सोच बिचार चिन्तन,  तिनका कार्यकर्ता र तिनीहरुको 'भिजन' सबै सबै नक्कली भएर रहन्छन ।
         
जब राज्यका जिम्मेवार भनाउदाहरू नक्कली हुँदै जान्छन तब नागरिकमा हुनै पर्ने  'देशभक्ती' भन्ने जुन तत्व छ त्यो पनि नक्कली हुँदै जादो रहेछ । जस्तो यो पङ्तिकारले जतिसुकै ठुला कुरा गरे तापनि यदि कोइ कसैले "देशका निम्ति तँ ज्यान दिन तैयार छस ?" भनी सोधी हाल्यो भने सायद जवाफ 'अँह...' मात्रै हुनेछ । म भित्रको  देशभक्ती मर्नुमा स्वयम् म हैन मेरा वरिपरि भएका नक्कलिहरूको सङ्गत उठबस जिम्मेवार छ । मेरा वरीपरिका नक्कलीहरूले मलाई पनि पुर्ण 'नक्कली' बनाइदिए । अब आउने पुस्ताको देशभक्तीलाई सायद मैले पनि नजानिदो गरि नक्कली बनाइदिनेछु ।

   
सबै सबै नक्कली भएको देशमा फगत देश र देश भित्र ब्याप्त गरिबी, अभाव, र बेरोजगारी मात्रै सक्क्ली हुँदा रहेछन । नक्कलीहरूको भिडमा नागरिकहरू पनि नक्कली जिन्दगी बिताउदछ्न । यदी हासिहाल्नु पर्‍यो भने पनि नक्कली मुस्कान हासिदिन्छ्न ।    जिन्दगी बाच्नकै लागि बाचिदिन्छन ।


- निरक्षर निरौला
niraulanirakshar@gmail.com

.
.

Tuesday, June 28, 2016

१५ असार सँग जोडिएको भावना














                                                                                                                                
असार १५ सङ्ग जोडीएको भावना 


ज  असारपन्ध्र । अर्थात रोपाईको उद्घाटन गर्ने दिन । हिलो छ्यापाछाप गर्दै धानको बिउ रोप्ने दिन । या यसो भनौँ घुडाघुडा खेतको हिलोमा धानका बिउ रोप्दै दहि चिउरा खाने दिन । किसानका लागि माटो नै जिन्दगी हो । जिन्दगी नै माटो हो । यो असारको हिलोमा धानका बिउ गाड्दै ऊ भविश्य फलाऊने सपना देख्छ । त्यही बिऊ फलाएर धान बनाउनु छ । अर्थात त्यही बीऊको भरोसामा अडेको छ उसको जिबन । तसर्थ  पर्सीको दिन जिबन रोप्ने दिन हो -किसानहरूका लागि ।
        
          यो शहरमा असारपन्ध्रको रौनक त्यति सारो लाग्दैन । अझ भनौँ लाग्दै लाग्दैन भन्दा पनि हुन्छ । कारण यो शहर कङ्क्रीटको शहर जो भईसकेको छ । अब यो शहरमा धान रोप्न लायकका जग्गा नै कहाँ बाकि छन र ?  त्यसैले यो शहर र यी शहरका नयाँ पिडि भनाउँदालाई असारपन्ध्र  के हो र यो सँग जोडिएको भावनाका बारेमा कस्तो हुन्छ सो कुरोको पत्तो छैन । त्यसैले त असारपन्ध्र भन्दा नाक खुम्च्याउने गर्छन कतिपय ।  मानौँ कि ति नेपाली नै होईनन् मानौँ कि तिनलाई थाहैछैन असारे दहि चिउराका बारेमा ।

         खासमा हाम्रा परम्परा रितिरिवाज चाडपर्व आदि जस्ता संस्कृतिले नै त हामी 'हामी' भएका छौँ । हामी नेपाली 'नेपाली' भएका छौँ । हरेक मान्छेलाई यौटा न यौटा चिनारी चाहिन्छ । परिचय चाहिन्छ र त्यो परिचय यीनै संस्कृतिले दिन्छ- उसलाई । हामीले गाउ छाड्यौँ । गाऊ छाडेर शहर प्यारो लाग्न थाल्यो हामीलाई , यो आजको यथार्थ हो । आजको सत्य हो । गाऊ छाडेकाले खेति किसानी कर्म पनि हामीले त्यतैतिर छोड्यौँ । तर हाम्रा संस्कृति हाम्रा परम्परा कदापी छाडिनु हुँदैन । अन्यथा हामी पनि छाडिने छौँ तिनै छोडिएको संस्कृतिसँगै ।
        आजका नयाँ पीडिलाई लाग्दो हो जाबो दहि चिउरा खानुमा के त्यस्तो खास कुरो छ ? यो प्रश्न यो जिज्ञासा उठ्दो हो तिनमा तर यो बुझ्नु जरुरी छ कि गाउमा खाईने असारपन्ध्र को दहि चिउरा र यो शहरमा सधै जसो ,जतिबेला मन लाग्यो त्यति बेला खाईने दहिचिउरामा आकाश जमिनको फरक छ । गाउका खेतहरूमा रोपाई गर्दै आफैले कुटाएका चिउरासँग ,घरकै दुधबाट बनाईएको दहि र आफ्नै बारीमा राम्ररी नपाकेका भए पनि ति केराहरू एकै ठाउमा हातले मुछेर ,वरपरका खेतालाहरु जम्मा भइ ,असारे गित गाउदै खानुको मज्जा नै बेग्लै छ । त्यो रमाईलो नै बेग्लै छ । त्यो गाउको दहि चिउराको स्वादलाई यहाँ शहरको दहि चिउराको स्वादले कसरी भेट्न सक्छ र ? अँह , सक्दै सक्दैन ।

         हाम्रा परम्परा संस्कृतिलाई बुझ्न हाम्रो जीबनशैलीलाई बुझ्न सक्नुपर्छ । हामी नेपालीहरु गाउले परिबेशमा जन्मी हुर्की खेलेका मान्छे । हाम्रा नशानशामा आज पनि गाऊकै कुवां, धारा, पधेराको पानी दौडिएको छ  । यो शहरमा कोहिकसैले जतिसुकै शहरको धक्कु लगाओस तर उसमा किसानीको बंश यथाबत नै रहेको हुन्छ । उसमा अझै गाउले मन अझै जिबितै रहेको हुन्छ । र यदि रहेको छैन भने रहनुपर्छ ,रहनु जरुरी छ ।

         नेपाली बिश्वमा जहाँसुकै पुगोस  तर उसमा नेपाली मन जीबितै रहेको हुन्छ । त्यसैको नतिजा हो - अमेरिकामा पुगेका  नेपालीले पनि हर्सोउल्लासकासाथ दशैँ मनाउनु । तिजमा रात्तै हरियै चुरा लाएर रंगिईनु ।
 तर अहिलेको  बदलिदो परिस्थितिसँगै नया पिडी जो आउदै छन तिनमा नेपाली रितिरिवाज संस्कृति प्रति त्यति चाख देखाएको देखिदैन । नेपाली बाबु छोरा अमेरिकामा बस्दै छन भने बाबु भने नेपालमै मनाएजस्तै गरि दशै तिहार मनाऊछ ,मनाउन खोज्छ तर  छोरोभने बाबु जतिको त्यो पर्वमा भिज्न सकेको हुदैन । झन नातिको पालामा त के होला स्थिति ? यो बडो बिचारणीय प्रश्न छ ।

        संस्कृति परम्परा भनेको यौटा पिडीबाट अर्को पिडीमा हस्तान्तरण हुदै जाने प्रकृया हो । हो ,यो बिश्वब्यापिकरणको युगमा आफ्ना मौलिक संस्कृति जस्ताको तस्तै जोगाईराख्न गाह्रो छ  । यसमा दुइ मतै छैन तर जोगाउने प्रयत्न प्रयास समेत त गर्नै पर्छ नि । र यो प्रयास अबको नयाँ पिडीको काधमा छ ।

        आज असारपन्ध्रको दिन । आजको दिनमा बुढापाका पुस्ताले बाबुआमाको पुस्ताले मात्र हैन छोराछोरीका पुस्ताले पनि असार पन्ध्रको भावनालाई आत्मसात गर्नसक्नुपर्छ । अनि आमाबाबुले पनि आफ्ना छोराछोरीलाई असारपन्ध्रको भावनालाई बुझाउन/संझाउन सक्नुपर्छ  किनकी ति छोराछोरीका पुस्ताले पनि भोलिका नातिनातिनाका पुस्तालाई संझाउनु ,बुझाउनु अनि सिकाउनु जो छ ।


 - निरक्षर निरौला 
   २०७१ असार १५ 

.

Saturday, June 25, 2016

                   गजल 

सम्झना बगेर आउँदै छन् छालहरूमा ॥
कयौँ याद टाँसिएका छन् रूमालहरूमा ॥

समस्याभित्रै समाधान लुकेर बसेको हुन्छ
जवाफ निहित छ तिम्रै सवालहरूमा ॥

गरीब लाचार भएर कति चाँडै घाट पुग्छ
पैसाले जीन्दगी किनिन्छ अस्पतालहरूमा ॥

केहि गर्दा पनि जब बलेन घरको चुलो
भोक पस्केर दिन्छिन् आमा थालहरूमा ॥

आश्रममा छोडेर हिँड्ने बेला छोरोले भन्यो -
बा ! बिउ जोगाउनै पर्छ अनिकालहरूमा ॥

तिमी परदेश हिँडेदेखि आजसम्मै पनि
मेरा आँखा टोलाई बस्छन् झ्यालहरूमा ॥

कोहिकसैमा भेटिएन आज त्यस्तो देशभक्ति
जस्तो हिजो हुने गर्थ्यो गङ्गालालहरुमा ॥