असार १५ सङ्ग जोडीएको भावना
आज असारपन्ध्र । अर्थात रोपाईको उद्घाटन गर्ने दिन । हिलो छ्यापाछाप गर्दै धानको बिउ रोप्ने दिन । या यसो भनौँ घुडाघुडा खेतको हिलोमा धानका बिउ रोप्दै दहि चिउरा खाने दिन । किसानका लागि माटो नै जिन्दगी हो । जिन्दगी नै माटो हो । यो असारको हिलोमा धानका बिउ गाड्दै ऊ भविश्य फलाऊने सपना देख्छ । त्यही बिऊ फलाएर धान बनाउनु छ । अर्थात त्यही बीऊको भरोसामा अडेको छ उसको जिबन । तसर्थ पर्सीको दिन जिबन रोप्ने दिन हो -किसानहरूका लागि ।
यो शहरमा असारपन्ध्रको रौनक त्यति सारो लाग्दैन । अझ भनौँ लाग्दै लाग्दैन भन्दा पनि हुन्छ । कारण यो शहर कङ्क्रीटको शहर जो भईसकेको छ । अब यो शहरमा धान रोप्न लायकका जग्गा नै कहाँ बाकि छन र ? त्यसैले यो शहर र यी शहरका नयाँ पिडि भनाउँदालाई असारपन्ध्र के हो र यो सँग जोडिएको भावनाका बारेमा कस्तो हुन्छ सो कुरोको पत्तो छैन । त्यसैले त असारपन्ध्र भन्दा नाक खुम्च्याउने गर्छन कतिपय । मानौँ कि ति नेपाली नै होईनन् मानौँ कि तिनलाई थाहैछैन असारे दहि चिउराका बारेमा ।
खासमा हाम्रा परम्परा रितिरिवाज चाडपर्व आदि जस्ता संस्कृतिले नै त हामी 'हामी' भएका छौँ । हामी नेपाली 'नेपाली' भएका छौँ । हरेक मान्छेलाई यौटा न यौटा चिनारी चाहिन्छ । परिचय चाहिन्छ र त्यो परिचय यीनै संस्कृतिले दिन्छ- उसलाई । हामीले गाउ छाड्यौँ । गाऊ छाडेर शहर प्यारो लाग्न थाल्यो हामीलाई , यो आजको यथार्थ हो । आजको सत्य हो । गाऊ छाडेकाले खेति किसानी कर्म पनि हामीले त्यतैतिर छोड्यौँ । तर हाम्रा संस्कृति हाम्रा परम्परा कदापी छाडिनु हुँदैन । अन्यथा हामी पनि छाडिने छौँ तिनै छोडिएको संस्कृतिसँगै ।
आजका नयाँ पीडिलाई लाग्दो हो जाबो दहि चिउरा खानुमा के त्यस्तो खास कुरो छ ? यो प्रश्न यो जिज्ञासा उठ्दो हो तिनमा तर यो बुझ्नु जरुरी छ कि गाउमा खाईने असारपन्ध्र को दहि चिउरा र यो शहरमा सधै जसो ,जतिबेला मन लाग्यो त्यति बेला खाईने दहिचिउरामा आकाश जमिनको फरक छ । गाउका खेतहरूमा रोपाई गर्दै आफैले कुटाएका चिउरासँग ,घरकै दुधबाट बनाईएको दहि र आफ्नै बारीमा राम्ररी नपाकेका भए पनि ति केराहरू एकै ठाउमा हातले मुछेर ,वरपरका खेतालाहरु जम्मा भइ ,असारे गित गाउदै खानुको मज्जा नै बेग्लै छ । त्यो रमाईलो नै बेग्लै छ । त्यो गाउको दहि चिउराको स्वादलाई यहाँ शहरको दहि चिउराको स्वादले कसरी भेट्न सक्छ र ? अँह , सक्दै सक्दैन ।
हाम्रा परम्परा संस्कृतिलाई बुझ्न हाम्रो जीबनशैलीलाई बुझ्न सक्नुपर्छ । हामी नेपालीहरु गाउले परिबेशमा जन्मी हुर्की खेलेका मान्छे । हाम्रा नशानशामा आज पनि गाऊकै कुवां, धारा, पधेराको पानी दौडिएको छ । यो शहरमा कोहिकसैले जतिसुकै शहरको धक्कु लगाओस तर उसमा किसानीको बंश यथाबत नै रहेको हुन्छ । उसमा अझै गाउले मन अझै जिबितै रहेको हुन्छ । र यदि रहेको छैन भने रहनुपर्छ ,रहनु जरुरी छ ।
नेपाली बिश्वमा जहाँसुकै पुगोस तर उसमा नेपाली मन जीबितै रहेको हुन्छ । त्यसैको नतिजा हो - अमेरिकामा पुगेका नेपालीले पनि हर्सोउल्लासकासाथ दशैँ मनाउनु । तिजमा रात्तै हरियै चुरा लाएर रंगिईनु ।
तर अहिलेको बदलिदो परिस्थितिसँगै नया पिडी जो आउदै छन तिनमा नेपाली रितिरिवाज संस्कृति प्रति त्यति चाख देखाएको देखिदैन । नेपाली बाबु छोरा अमेरिकामा बस्दै छन भने बाबु भने नेपालमै मनाएजस्तै गरि दशै तिहार मनाऊछ ,मनाउन खोज्छ तर छोरोभने बाबु जतिको त्यो पर्वमा भिज्न सकेको हुदैन । झन नातिको पालामा त के होला स्थिति ? यो बडो बिचारणीय प्रश्न छ ।
संस्कृति परम्परा भनेको यौटा पिडीबाट अर्को पिडीमा हस्तान्तरण हुदै जाने प्रकृया हो । हो ,यो बिश्वब्यापिकरणको युगमा आफ्ना मौलिक संस्कृति जस्ताको तस्तै जोगाईराख्न गाह्रो छ । यसमा दुइ मतै छैन तर जोगाउने प्रयत्न प्रयास समेत त गर्नै पर्छ नि । र यो प्रयास अबको नयाँ पिडीको काधमा छ ।
आज असारपन्ध्रको दिन । आजको दिनमा बुढापाका पुस्ताले बाबुआमाको पुस्ताले मात्र हैन छोराछोरीका पुस्ताले पनि असार पन्ध्रको भावनालाई आत्मसात गर्नसक्नुपर्छ । अनि आमाबाबुले पनि आफ्ना छोराछोरीलाई असारपन्ध्रको भावनालाई बुझाउन/संझाउन सक्नुपर्छ किनकी ति छोराछोरीका पुस्ताले पनि भोलिका नातिनातिनाका पुस्तालाई संझाउनु ,बुझाउनु अनि सिकाउनु जो छ ।
- निरक्षर निरौला
२०७१ असार १५
.
.
No comments:
Post a Comment