नक्कलीहरूको सक्कली देश
सामान्यतया नक्कली भन्ने बितिकै हाम्रो मस्तिष्कमा कुनै त्यस्तो नारीको प्रतिबिम्ब आउँछ जो बढी उत्ताउली वा भनौं तडकभडक शैलीकि हुन्छे । यहाँ यसो भनिरहदा नारीबादीहरूले 'यस्तो भनाइ त पुरुष मानसिकताको उपज हो' भन्ने आरोप पनि लगाउलान तर पङ्तिकारको आशय त्यस्तो हैन र छैन पनि । पुरुषहरूका निमित्त पनि 'नक्कले' भन्ने शब्द बनेको छ जसले पुरुषमा हुने नक्कली प्रकृति प्रवृत्तिको संकेत गर्छ । कुनै ब्याक्ती बिशेश होइन बरू त्यो 'नक्कली' भन्ने शब्दको प्रवृत्ति चरीत्र र अर्थ प्रति लक्ष्य गर्नु मेरो अहिलेको चेष्टा हो । 'नक्कली' शब्दको अर्थ बुझ्ने प्रयत्न हो । सामान्य र बुझ्ने भाषामा एक वाक्यमै भन्नु पर्दा जोजो जेजे र जुनजुन वस्तु, पदार्थ, ब्याक्ती, अवस्था, ब्यबस्था, प्रक्रिया यथार्थमा जस्तो- जस्तो हुनु पर्ने हो, त्यस्तो नभई अर्कै हुनुलाई नक्कली मान्न सकिन्छ ।
नेपाली समाजमा यो नक्कली भन्ने शब्द बेलाबेलामा चर्चामा आइरहन्छ । जस्तो अहिले पनि आइरहेको छ । पत्रपत्रिका, अन्लाइन र सामाजिक संजालमा नक्कली डाक्टर, नक्कली इन्जिनियर पक्राउ परेको खबर देख्न सुन्न पाइएको छ, देख्नु सुन्नु परेको छ । दैनिक जसो दर्जन हाराहारीको सङ्ख्यामा पक्राउ परे भन्ने ब्योहोराका खबर पत्रपत्रिकाका हरेक बिहानी ओकलिरहेकै छन । धेरैलाई यो खबर आश्चर्य जस्तो लागे पनि यस पङ्तिकारलाई भने यस्ता नक्कलीहरूको चेहरा सार्बजनिक हुँदा आश्चर्य लागेको छैन । बरू आश्चर्य यो कुरामा लागेको छ कि नेपाल प्रहरीमा एक्कासि यस्तो आट, हिम्मत र 'मूड' कसरी आयो ?
अहिले डाक्टर इन्जिनियरको सर्टिफिकेटलाई त अनुसन्धानको दायरामा ल्याउने काम सुरु भएको छ जुन सकारात्मक छदैछ तर त्यसैसङ्ग जोडिएर आउने अस्पताल, नर्सिङ होम, डाक्टरले रीफर गर्ने औषधि, सामन्य रुघाखोकी लागेको हो भन्ने जान्दाजान्दै पनि दस थरीका चेक अप र त्यस चेक अप गरिए बापत तिनले पाउनेक कमिसनका सम्बन्धमा पनि अनुसन्धान हुनु आवश्यक छ ।
ओभर सियर पढेकाहरूले आफुलाई उमेर अनुसार वरिष्ठ इन्जिनियर भनाउदै कन्सल्टेन्सी नै खोलेर बसेको उदाहरण पनि कति छन कति । त्यस्ता वरिष्ठहरूले निर्माण गरेका संरचनाको ग्यारेन्टी कस्ले लिने ? त्यस्ता नक्कली इन्जिनियरबाट निर्मित घर पुल सडक भोलि मानबिय क्षतिको कारण बने त्यसको भर्पाई कस्ले कसरी र के गरेर गर्ने ? यता पनि ध्यान जाओस् । यसरी खोस्रीदै खोस्रीदै जाने हो भने यो देशमा डाक्टर इन्जिनियर मात्रै हैन राज्यका हरेक तह र तप्कामा नक्कलीहरू भेटिने छन । पङ्तिकारको यो कुनै आशन्का हैन, दाबी हो ।
एउटा मजदुर कामै नगरी मालिकले पैसा देओस भन्ने अपेक्षा राख्दछ, काम गर्नुमा भन्दा बढी लगाव उसलाई टायर बाल्नुमा छ भने पङ्तिकारको बिचारमा ऊ पनि नक्कली मजदुर हो । ब्यापारी जब आफ्नो धर्म छोडेर कालो बजारी र कृत्रिम अभाव सिर्जना गर्न लल्लिन हुन्छ तब ऊ पनि नक्कली व्यापारी साबित हुन्छ । कक्षा कोठामा नगइकनै तलब पाइयोस भन्ने शिक्षक, नपढिकनै धेरै नम्बर आओस् भन्ने विद्यार्थी, रास्ट्रसेवकको 'ट्याग' भिरेर सरकारी जागीरमा छिरेको तिनचार बर्ष पनि नबित्दैै बिल्डिङ्ग ठड्याउने कर्मचारी, बोली र ब्यबहारमा एकरुपता ल्याउन नसक्ने नेता लगायत यस्ता प्रवृत्ति बोकेका सबै नक्कली नै हुन । जो आफुलाई सुम्पिएको वा आफुले गर्नु पर्ने काममा भन्दा गर्न नहुने काममा ज्यादा रुचि, समय र दिमाग लगाउदछन । यस्ता नक्कलीहरू हाम्रो नेपाली घर समाजमा छ्याप्छ्याप्ती भेटिन्छन ।
हुँदा हुँदा बषैा पुरानो र हाम्रो एकदमै निकटस्थ भनिएको छिमेकी भारत पनि 'नक्कली छिमेकी' रहेछ भन्ने कुरा भर्खरै प्रमाणित भयो- चार महिने नाकाबन्दीले ।
नक्कली नै नक्कली भएकाहरूको देशमा ठुलठुलो भनिएका आन्दोलन, क्रान्ति र नाराहरू पनि नक्कली नै हुदा रहेछन । यदि ती आन्दोलन क्रान्ति र नारा सक्कली भएका हुदा हुन त यो देश यस किसिमको भएर रहिरहदैन थियो । राजनितिक पार्टीले गरेको क्रान्तिमा मारिएकाहरूको मृत्यु, अङ्गभङ्ग र सिउदो पुछिएको नारीको आशु सक्कली भए पनि राजनैतिक पार्टीका नेता तिनका घोषणपत्र, देशप्रती तिनले गरिएको भनिएको सोच बिचार चिन्तन, तिनका कार्यकर्ता र तिनीहरुको 'भिजन' सबै सबै नक्कली भएर रहन्छन ।
जब राज्यका जिम्मेवार भनाउदाहरू नक्कली हुँदै जान्छन तब नागरिकमा हुनै पर्ने 'देशभक्ती' भन्ने जुन तत्व छ त्यो पनि नक्कली हुँदै जादो रहेछ । जस्तो यो पङ्तिकारले जतिसुकै ठुला कुरा गरे तापनि यदि कोइ कसैले "देशका निम्ति तँ ज्यान दिन तैयार छस ?" भनी सोधी हाल्यो भने सायद जवाफ 'अँह...' मात्रै हुनेछ । म भित्रको देशभक्ती मर्नुमा स्वयम् म हैन मेरा वरिपरि भएका नक्कलिहरूको सङ्गत उठबस जिम्मेवार छ । मेरा वरीपरिका नक्कलीहरूले मलाई पनि पुर्ण 'नक्कली' बनाइदिए । अब आउने पुस्ताको देशभक्तीलाई सायद मैले पनि नजानिदो गरि नक्कली बनाइदिनेछु ।
सबै सबै नक्कली भएको देशमा फगत देश र देश भित्र ब्याप्त गरिबी, अभाव, र बेरोजगारी मात्रै सक्क्ली हुँदा रहेछन । नक्कलीहरूको भिडमा नागरिकहरू पनि नक्कली जिन्दगी बिताउदछ्न । यदी हासिहाल्नु पर्यो भने पनि नक्कली मुस्कान हासिदिन्छ्न । जिन्दगी बाच्नकै लागि बाचिदिन्छन ।
- निरक्षर निरौला
niraulanirakshar@gmail.com
niraulanirakshar@gmail.com
.
.
No comments:
Post a Comment