नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, December 29, 2015

छन्द कविता - मन्दाक्रान्त छन्द

हिड्न गाह्रो छ गाह्रो (मन्दाक्रान्त छन्द )

सूत्र -  SSS SII III SSI SSI SS

यात्रा कस्तो कठिन छ अहो यो उकालै उकालो
दायाँबायाँ वरिपरि हरे खोच पाखो भिरालो ॥
पन्छाएरै म त गइरहुँ, जिन्दगीको तगारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥१॥

लागेँ आजै म पनि अब लौ, लौ नरोके मलाई
भेटौला लौ शिखर तलमा सम्झना दाजुभाइ ॥
गर्छौं गर्छौं भनिभनि कनै जिन्दगी यो सकिन्छ
सुक्यो खोलो जब समयको अर्थ के हो बुझिन्छ ॥२॥

हिड्ने हिड्यो उहीँ बखतमा पाइला त्यो चलाई
आजै मात्रै किन र कसरी बोध भो यो मलाई ॥
धक्का अाँधी सब खपिकनै खोज्न जादैछु चारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥३॥

हातै बाधी बसिरहनुले भाग्य बन्दैन हेर
आऊआऊ मसित अहिलै, लौ नहोस है अबेर ॥
आजै थाले अलिअलि त यो हेर बाटो कटिन्छ
प्रेमी जोजो छ परिश्रमको भाग्यले दिन्छ दिन्छ ॥४॥

रित्तै आए पनि जगतमा देबकोटा र मोती
छर्दै गए झिलिमिली अहो, क्या सुनौलो छ ज्योति
हिड्दै जादा पथिक पथमा हुन्छ कस्तो हतारो
सोचेजस्तो सहज छ कहाँ, हिड्न गाह्रो छ गाह्रो ॥५॥

- शंकर निरौला 'निरक्षर'
        ....................

No comments:

Post a Comment