नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, September 6, 2016

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा 
(आदरणिय गुरु राम लोहनी सन्ङ्ग गरिएको सवाल जवाफ)


धेरै बर्ष अघीदेखी म यी पाँच प्रश्नहरुको जवाफ पाउन भौतारी रहेँ । धर्म सम्बन्धी यी जिज्ञासाहरुले मेरो मथिङल सदा खल्बलाउँथ्यो । अन्तत: आज आएर मेरा जिज्ञासाहरु आदरणिय गुरु Ram Lohani सरले मेटाइदिनु भो ।

प्रस्तुत छ उहाँ र म बिच भएको सवाल जवाफ:  

#प्रश्न_१. हिन्दू धर्म दर्शनका जती पनि ग्रन्थ छन् ती सबै त्यतिबेला लेखिएका स्तरिय उपन्यास र कथा हुन् भनेर भन्न सकिन्छ कि सकिन्न ? हामीले मान्दै आएको भगवानहरु त्यतिबेलाका लेखकहरुको कथा उपकथा, महाकथाका पात्र मात्रै हुन् भनी भन्न सकिन्छ/ सकिन्न ?

 ती निश्चित प्रकारका साहित्य नै हुन् । असल पात्र र खराब पात्र खडा गरेर तिनमा द्वन्द्व देखाएर असलले विजय हुने, खराब कामबाट सजायँ पाइने खालका नीति कथा हुन् कुनै । कुनै त्यो बेलाका मानिसले अनुमान गरेका सृष्टि स्थिति आदिका बारेमा वर्णन हुन् र तिनको व्याख्याको लागि कल्पना गरिएका पात्र हुन् । ती पात्र स्वाभाविक रूपमा मानिसभन्दा शक्तिशाली हुने नै भए किनभने मानिसले गर्न नसक्ने काम गर्न सक्छन् ती । मान्छेको चाहना व्यापक हुन्छ। प्राप्तिका साधन र समय थोरै । त्यसकारण मान्छेले असीमित शक्तिको भगवानको अनुमान गरेका हुन् । ती पात्र पनि साहित्यका अङ्ग भए । वास्तवमै भगवान छ नै भने पनि त्यसरी जसरी हाम्रा शास्त्रमा भनिएको छ, उपस्थित भएर केही व्यक्तिका नीजि जीवनसँग जोडिने भन्ने बेकारको कुरा हो । भगवानले कति व्यक्तिको दैनिकीहरूको लेखाजोखा राखेर बस्‍ने, कतिलाई सहयोग गर्ने, कतिलाई सजाय गर्ने ?
 त्यसकारण ती कवि र साहित्यकारका अनुमानका पात्र नै हुन् । र कतिपय पात्रहरू चाहिँ ऐतिहासिक हुन सक्छन् । तिनका बारेमा किम्बदन्तिहरू प्रशस्तै निस्कने र फैलने नै भए । असाधारण व्यक्तिका बारेमा चलेका किम्बदन्ति समयक्रममा विस्तारित हुँदै जान्छ र त्यो पात्रले भगवानको हैसियत प्राप्त गर्छ । त्यस्ता पात्रलाई साहित्यकारले फूलबुट्टा भरेर पात्रता प्रदान गरेका हुन्छन् ।

#प्रश्न_२. चार बेद, महाभारत, गीता 'व्यास' द्वारा लेखिएको भनिन्छ, के 'व्यास' एक्लैले ती सब लेख्नु सम्भव छ ? श्रुती परम्परामा सुन्दै /सुनाउदै आएको कथा उपकथालाई 'व्यास' ले ब्यबस्थित ढङ्गले लिपिबद्द गरेको  हुन सक्ने सम्भावना कत्तिको रहन्छ ?

 व्यासले लेखिएको भनिएको पनि सम्भवत: एकै व्यक्तिले नगरेर एउटा समूहले गरेको होला भन्ने मेरो अनुमान हो । व्यासको अर्थ अहिले हामीले एउटा व्यक्तिको रूपमा बुझेका छौं । सम्भवत: त्यो बेला एउटा संस्था थियो होला, समूह थियो होला विद्वानहरूको । त्यो समूहको नेतालाई 'व्यास' भनिन्थ्यो । सदस्यहरूले काम गर्थे प्रधानसम्पादक समूहको नेता हुन्थ्यो होला र त्यो प्रधानसम्पादक आवधिक वा उत्तराधिकारीको रूपमा नयाँ व्यक्ति आएर परिवर्तन भैरहन्थ्यो होला । त्यो नेता व्यास भयो । र, के पनि हुन सक्छ भने पछि अरूले गरेका काम पनि व्यासले गरेको भनियो । पूर्विय परम्परामा व्यक्तिको महत्व गौण रहने गरेको छ । व्यक्तिले आफ्नो परिचय कुनै नाम विशेषले भन्दा पनि काम विशेषले दिने गरेको छ । त्यसअर्थमा शास्त्रको काम गर्ने लेखनदासहरूलाई व्यास भनिन सक्ने मेरो अनुमान हो । र यो छोटो समयमा भएको होइन । लामो कालखन्डमा यो निर्माण भएको हो । थपघट हुने क्रम पनि जारी रह्यो।

#प्रश्न_३. व्यासले ती ग्रन्थ लेख्नु अगी हिन्दू धर्म अस्तित्वमा थियो या थिएन ? थियो भने त्यो कुन रुपमा थियो होला ?

 व्यास आफैमा सम्प्रदायको सदस्य भनेर बुझ्‍नुपर्छ । जब व्यासद्वारा ती लेखिएका, सम्पादन गरिएका, संकलन गरिएका भनेपछि त्यसअघि पनि मानिसहरूमा धार्मिक चेत थियो र त्यो धार्मिक चेतको प्रतिनिधित्व गर्ने ग्रन्थ थियो भन्ने अनुमान गर्नुपर्छ। ती ग्रन्थरहरू श्रुति परम्परामा रहेका थिए । तर अहिले हामीले जसलाई जुन परम्परालाई हिन्दु भनेका छौं, हजारौं वर्षअघि त्यो आजको जस्तो रूपमा त पक्कै पनि थिएन । हिन्दु नै भनेर नामाकरण गरिएको पनि पछि हो । वेद आदिमा त्यो बेलाको आर्थिक संरचनाको झल्को पाइन्छ। त्यसले पनि धर्मको रूप नितान्त बेग्लै थियो।

#प्रश्न_४. जो जसले ती ग्रन्थ लेखे पनि त्यती बेलाको साहित्य निक्कै बिकसित रहेछ भन्ने अर्थ लगाउन सकिन्छ । यदी साहित्य त्यो स्तरमा बिकास भएको थियो भने समाज पनि बिकसित नै  थियो भनेर भन्न सकिन्छ/ सकिन्न ?

 साहित्य विकसित थियो । साहित्यले समाजको ऐनाको काम गरेको हुन्छ । यसअर्थमा समाज पनि विकसित थियो भन्ने अनुमान गर्नुपर्छ । तर त्यो विकास सीमित वर्गमा थियो । साहित्यमा भएका सबै कुरा ठ्याक्कै समाजमा थियो भनेर भन्नुभन्दा पनि त्यसखालको कल्पना थियो, अथवा त्यसको कच्चा रूप यथार्थ हो, साहित्यमा आदर्श रूप आयो । कतिपय कुरा नीतिको रूपमा देखिन्छ -- यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर। आज गरिएको अर्थले पनि यथार्थलाई ठ्याक्कै नबुझेको पनि हुन सक्छ । तर जति विकसित थियो भनेर साहित्य आदि ग्रन्थमा देखिन्छ, त्यो वर्णन आदर्श वर्णन हो भन्ने मेरो अनुमान हो । अर्को कुरा समाजमा विभाजन व्यापक थियो । साहित्य, सुविधा आदि शासक र शक्तिशाली समूहमा मात्र केन्द्रीत थियो । ऐश आराम गर्ने फुर्सदिला समुहले रचना गरेका शास्त्रमा स्वैरकल्पनाको मात्रा पनि प्रशस्त हुने सम्भावना रहन्छ।

#प्रश्न_५. हिन्दू परम्पराका कतिपय कृयाकलाप बिज्ञान सम्मत देखिन्छन, ती कृयाकलापको सुरुवात जुन पुर्खाहरुले गरे तिनले बिज्ञान बुझेर गरे या त्यतिकै गरेका कृयाकलाप अहिले संयोगले बिज्ञानसँग जोडीन पुगेको हो ? 
यदि  बिज्ञान बुझेरै गरेको हो भने त्यो सभ्यता कालान्तरमा कसरी र किन पछाडि पर्‍यो ?  

⇒  हामीले जेलाई अहिले विज्ञानसम्मत भनेर भन्छौं, त्यही रूपमा वैज्ञानिक चिन्तनले प्रेरित क्रियाकलाप थिए भनेर चाहिँ मलाई विश्वास लाग्दैन । तर मान्छेले अनुमान, अवलोकन र अध्ययनबाट निकालिएका कतिपय निष्कर्षहरू विज्ञानसँग मिल्न गएका चाहिँ हुन् । ती घटनाहरू अनुमान र अनुभवबाट निसृत थिए, त्यसको व्याख्या त्यो समयमा थिएन । अहिलेको विज्ञानले त्यो किन भयो भनेर व्याख्या गर्छ । जस्तो कि गुरुत्वबलको कुरा । वस्तुलाई पृथ्वीले आफूतिर तानेको हुनाले माथि गएको कुरा तल झर्छ भन्ने त अनुमान गरे होलान् । तर त्यो बल भनेको के हो भन्ने र चराहरू चाहिँ किन खसेनन् भन्ने व्याख्या त्यो बेलामा थिएन । अरू दैनिक जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्यको कुरा, अौषधिका कुरा आदिमा अनुभवबाट आर्जित ज्ञान हुन् । विज्ञानको विकास जहिले पनि अनुभवबाटै सुरु हुने हो । गहिरो चिन्तनबाट निस्केका निष्कर्षहरू सत्य ठहरिन्छन्, त्यो अस्वाभाविक होइन । यी ज्ञानहरू सही रूपमा विश्लेषण र व्याख्या नभएर प्रचार प्रसार हुन सकेन । त्योभन्दा पनि प्रविधिको विकास थिएन, त्यसैले ती ज्ञान प्रचार प्रसार भएन। केही व्यक्तिमा सीमित रह्यो। एकले गरेको अनुमानलाई अर्कोले अघि बढाउन सकेन अहिलेको जस्तो । जसले गर्दा ती फल्न फुल्न पाएनन् । बिलाएर गए।

....

http://niraksharniraula.blogspot.com/2016/09/blog-post_78.html

..

No comments:

Post a Comment