नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, August 28, 2016

भाषामा नियम बनाउनै मिल्दैन, त्यो त आफसे आफ बन्छ

भाषामा नियम बनाउनै मिल्दैन, त्यो त आफसे आफ बन्छ

सबै भन्दा पैला त के बुझ्नु पर्छ भने "भाषाको संबिधान" र कुनै  "देशको संबिधान"  हेर्दा खेरी उस्तै-उस्तै लागे पनि उस्तै होइनन । ती दुबै फरक फरक खालका नियमका ठेली पुस्तक हुन् ।

देशको संबिधान:-
कुनै पनि देशको संबिधान बनाउन/ संशोधन गर्न सबैभन्दा पैला त् सर्बस्विकार्य निश्चित बिधी/ प्रकृया पुर्‍याएर त्यसको 'ड्राफ्ट'  तैयार गरिन्छ । र जब त्यो तैयार भैसक्छ  तब फेरी निश्चित बिधी अनुसार "आज बाट लागु भयो"  भन्ने घोषणा गरिन्छ । त्यस्तो घोषणा भएको तत् क्षणदेखी नै देशभर त्यो लागु हुन थाल्छ । सो मुलुकमा रहने/ बस्ने कुनै पनि नागरिकले त्यो संबिधानले भने अनुसार चल्दिन भन्न पाउदैन । उनीहरुले कुनै पनि हालतमा उक्त संबिधान अनुसार चल्नै पर्छ ।

 भाषाको संबिधान:-
  "भाषाको संबिधान" बनाउने र संशोधन गर्ने प्रकृया देशको संबिधान बनाउने र संशोधन गर्ने  प्रकृया जस्तो छैन/ हुँदैन । बरु त्यसको ठीक उल्टो हुन्छ । भन्नुको तात्पर्य के भने भाषामा पैला नियम बन्दैन, पैला लागु हुन्छ । प्रयोगमा आउछ अनी त्यसपछी मात्रै त्यो नियम बन्छ । भाषामा के लागु गर्ने ? के नगर्ने ?  भन्ने कुरा पनि प्रयोगकर्ताले (कुनै घोषणा नगरि) श्वास्फुर्त  रुपमै आँफै निर्क्यौल गर्छन् । बहुजनले जेजे स्वीकार्दै जान्छन त्यही त्यही कुरा उक्त भाषाको नियम बन्छ । बहुजनले स्विकारीएको नियम उक्त भाषाको नियम किताबमा थपिदै जान्छ । यसरी नै भाषाका नियमहरु परिवर्तित र संशोधित हुँदै जाने हुन् ।

हिजोको भानुभक्त कालिन नेपाली भाषा पनि यही प्रकृया अनुसार परिवर्तित र संशोधित हुँदै आजको नेपाली भाषा बनेको हो । कोही कसैले उर्दी फर्मान गरेका भरमा परिवर्तन भएको होइन । त्यसरी हुँदैन पनि । संसारका सबै भाषा लगभग यही प्रकृया अनुसार परिवर्तन हुँदै जाने हुन् । यसै प्रकृया अनुसार नियम बन्दै जान्छन ।  आफ्नै गतिमा बग्नु (कसैको उर्दिमा हैन) नै भाषाको बिशेषता हो । धर्म हो ।

तर हाम्रो सन्दर्भमा अहिले भाषामा क्रान्तिकारी छलाङ मार्न उद्दत पन्डितहरु (जोजो नयाँ नियम लागु गराउन लागि परेका छन्) ले "भाषाको संबिधान" बन्ने र संशोधन हुने प्रकृया बुझेकै छैनन । तिनिहरुलाई देशको संबिधान र भाषाको संबिधान बन्ने/ बनाउने प्रकृया उस्तै उस्तै लाग्छ । भाषाको संबिधान बन्ने उसको आफ्नै खालको "बिशेष प्रकृया" लाई नियमित रुपले चल्न नदिएर अहिले जेजसरी केही पण्डितहरुको सनकको भरमा नियम बनाउदै छन, लागु गर्न खोज्दै छन । त्यसले भाषाका प्रयोगकर्तामा अन्योलता थप्दै लान्छ । भाषाको वजन घट्दै जान्छ ।  र भाषा बीस्तारै मर्दै जान्छ ।

राजनीतिक रुपमा त देश सन्क्रमण कालिन अवस्थामा छदै थ्यो ।अब भाषिक जगतलाई पनि सङ्क्रमण
कालमा ल्याएर भाषामाथि राजनीति गर्न खोजिदैछ ।  नयाँ नियम लागु गराउने अभियानमा लागेका पन्डितहरुलाई  "भाषामा नयाँ नियम ल्याउनै पर्ने त्यस्तो के जरुरत पर्‍यो हजुर ?" भनी सोध्दा एउटा पनि चित्त बुझ्दो तर्क दिन सक्दैनन । ती महाशयहरुको नयाँ उर्दि जारी गरियो भने  कयौ शब्दले अर्थको अनर्थ बुझाउछन । त्यता तिर उहाँहरुको ध्यान किन जान नसकेको हो कुन्नी ?

आजको संसारमा सबैभन्दा बढी बिक्ने भाषा अङ्रेजी हो । त्यो अङ्रेजिमा अनेकौ किसिमका कमिकम्जोरी छन । तर त्यो भाषा त्यत्तिकै चलिरहेकै छ । अङ्रेजी भाषामा लाखौं नभए नि हजारौको सन्ख्यामा विज्ञहरु छन । तर तिनले भाषालाई   डोहोर्‍याउने गल्ती गरेनन । गर्दैनन ।  भाषालाई आफ्नै गतिमा बहन दिए / दिन्छन । अङ्रेजि भाषामा लेख्य र कथ्यबिच धेरै बिबादित कुराहरु छन । तर अहिलेलाई चै यहाँ एउटा शब्दलाई उदाहरण लिउँ-

नेपाली भाषामा आदरका लागि चार तहका शब्द छन । ति चार तहमा "तँ", "तिमी", "तपाईं" र "हजुर" भन्ने शब्दले बेग्लाबेग्लाई स्तरको आदर बुझाउछन । नेपाली भाषामा "तपाईं" भनेर जसलाई सम्बोधन गरिन्छ उसलाई "तँ" भन्नु असभ्य ठानिन्छ । आदरको स्तर अनुसार शब्द छन । अङ्रेजहरुमा पनि ब्याक्ती अनुसार   सम्मान भाव फरक-फरक भए पनि यी चारै तहको आदरका लागि उनिहरु एउटै शब्द "You" सम्बोधन गर्छन् ।  अङ्रेजी भाषाका त्यात्रा विद्वान छन के तिनिहरुले चार तहको आदरका लागि जाबो चार वटा शब्द पनि बनाउन सक्दैनन होला ?

उत्तर स्पस्ट छ । सक्छन । अङ्रेजि डिस्नरीमा हरेक बर्ष एक हजार देखी चार हजार ओटासम्म नयाँ शब्द डिक्सनरीमा चढाइरहने तिनिहरुको जम्बो बिद्वत बर्गलाई जाबो  चार वटा शब्द थपिदिनु कुनै गाह्रो काम हैन । तर तिनिहरु त्यसरी चली आएको भाषाको परम्परालाई तलमाथी गर्दैनन । जेजस्तो छ,  चल्न दिन्छन । भाषालाई आफ्नै गतिमा बहन दिन्छन । किनकी उनिहरुलाई राम्रो सङ्ग थाहा छ "भाषाको संबिधान" बन्ने र संशोधन हुने प्रकृया । त्यसै अनुसार चल्छन् ।

      हाम्रा भाषा पन्डितहरु मात्रै हुन् आफुलाई जेजे मन लाग्छ, जस्तो जस्तो लाग्छ  त्यही त्यही प्रयोग भाषामा गर्न खोज्ने । गर्नलाई मरीहत्ते गर्ने ।


Wednesday, August 24, 2016

'बा ! म तिम्रो नालायक छोरो'


'बा ! म तिम्रो नालायक छोरो'

    आज कुशे औँशी अर्थात बालाई संझिने दिन । बाको मुख हेर्ने दिन । अझ बुझ्ने गरि भन्नुपर्दा  'ह्यापी फादर्स डे' ।
    आज यो "ह्यापी फादर्स डे" मा म ह्याप्पी ह्याप्पी हुन सकेको छुइनँ । यो शहरको यौटा घरको कोठामा बसेर गाउमा त्यो टिनको झुपडिमा बस्ने मेरा बालाई सम्झिदै छु- अहिले । मेरा बालाई सुनाउन लायक कै गर्न सकेको छुईनँ मैले- आजका मितिसम्म । त्यसैले आज फोन गर्न सकिरहेको छुइनँ मेरा बालाई । बिहानै देखि मन खिन्न खिन्न भैरहेछ - मेरो । आफैले आफैलाई धिक्कारीरहेछु म आज । थुकिरहेछु आफैलाई । आफुले आफैलाई थुक्नुभन्दा बढि आत्मग्लानी अरू कुरोमा नहुदो रैछ ।

          जीबनमा यौटा उदेश्य बनाउनु पर्छ जुन कुनै पनि हालतमा नबदलियोस् । त्यस उदेश्यका लागि दिनरात लागेको हुनुपर्छ संघर्ष गर्दै । तर आज म आफैले आफैलाई प्रश्न गर्दैछु -
- खै त, कहाँ छ ममा कै गरेरै देखाउँछु भन्ने  अठोट ?
- खै यौटा दृढ़ संकल्प जुन प्रत्येक छोरोमा हुनै पर्छ ? खै त मैले ति मेरा बाको संघर्षको मर्म बुझेको ? जीबनमा यसरी यसरी अघि बढ्छु , यो यो काम म यसरी यसरी गर्छु भन्ने योजना खै त मेरो ?

       कतिपय साथीहरूका निमित्त म यौटा राम्रो साथी भएँ होला । कलेजमा गुरुबा गुरुआमाका लागि म राम्रै बिद्यार्थी पनि भएँ होला तर जीन्दगीको यो समयसम्म आईपुग्दा अब बिए सकेर मास्टर्स पढ्ने लाठो भइसक्दा पनि म आफ्नो जीबनप्रति चिन्तित रहेनछु । आफ्नो भविश्य प्रति चिन्तित रहेनछु । फगत झिना मसिना ,झारपाते उपलब्धीहरूमा रम्दै बसेको रैछु- म ।

         म कस्तो मान्छे जसले आफ्ना बाआमाको फिलीङ्गस आफ्नो फिलीङ्ग्स बनाउन सकिनँ । तिनको सपना मेरो सपना बनाउन सकिनँ । तिनको मप्रतिको अपेक्षा केकस्ता छन भन्ने बुझ्ने प्रयत्न समेत गरिनँ । धिक्कार छ मलाई । अनि धिक्कार छ मेरो मगजलाई जो यति स्वार्थी बिचार जन्माइरहेछ मेरो टाउकोमा बसेर ।
      एघार बर्षको उमेरमा मेरा बाले मलाई शहर पठाएका थिए । छोरो राम्रो पढ्ला, शहरमा ठुलाबडाको संगतले ऊ पनि ठुलो बन्ला भनेर । अनि बुढेसकालमा हामीलाई पनि कसो नहेर्ला भन्दै । तर बा ! आज दश बर्षपछि पनि तिम्रो यो छोरोले कै गर्न सकेको छैन र गर्ने छाँटकाँट पनि देखिएको छैन । यहाँ म  तिमीलाई सम्बोधन गर्दा 'तपाई हजुर' जस्ता शब्द भन्दा  'तिमी'  भन्ने शब्द प्रयोग गर्दैछु । 'तपाई' र 'हजुर' मा भन्दा तिमी शब्दमा आत्मियता छ भन्ने मेरो बिश्वास ।

      मोतीराम भट्टले केबल  अठ्ठाइस बर्ष मात्रै बाँचेर आफु अमर हुने काम गरेर गए । यो कुरो भन्दै गर्दा म त ऐले एक्काइस बर्षको त भए नि ! भनेर भन्न मन लाग्छ । तर हरेक बिहानीले दिनको सङ्केत गर्छ भन्छन ।  तिम्रो यो छोरोको बिहानीले राम्रो दिनको सङ्केत गरेको छैन । यो मभन्दा बढ्ता तिमीलाई नै थाहा छ । त्यसैले आज तिमीसँग बोल्ने आँट गर्न सकिरहेको छुइनँ - म । मोबाइलको स्क्रीनमा गाउको नम्बर डाइल गरी सकेर पनि कल बटन थिच्न सकिनँ । अनी बसे म यो गन्थन मन्थन लेख्न । "अरु अरु दिन त फोन गरिरहने छोरोले आज त कसो नगर्ला र ?"  भन्ने आश राखेर मेरो फोनको प्रतिक्षा नगर्नु । म बरु दुई तीन दिनपछी फोन गरुँला । 

      यी मेरा हातहरूलाई धिक्कार छ जस्ले आजसम्म तिमिलाई केहि दिन सकेका छैनन् । तिमीबाट केबल लिन मात्रै जानेका छन् । लिई मात्र रहने ।

         बा, तिमीले कहिल्यै सुख पाएनौ है ! तिमी सानो छँदा पनि केबल दु:खै मात्र खेपिरह्यौ । पहाडका उकाली ओरालीसँग सधैँ जुधिरह्यौ । कै सुख होला भन्ने आशमा तराई झ-यौ तर तराईमा पनि कहाँ सुख छ र तिमिलाई ! घाँसदाउरा गर्नु, बस्तुभाई चराउनु,  ती खेतहरूमा सधैँ खोस्रीरह्नु र साईकलमा निकै दुरदुरसम्म यात्रा गर्नु तिम्रो दैनिक भइदिएको छ । त्यो रहर हैन  बाध्यता हो ।

       दु:ख, अभाबहरूले कहिल्यै पिछा छोडेनन् तिम्रो । जुका जस्तै टाँसिएर बसेका छन ति । तर जुकाले पनि पेट ढाडिएपछि रगत चुस्न छोड्छ । यी दु:खहरू जुकाभन्दा गिरेका हुँदा रैछन, साह्रै नीच । कहिल्यै नअघाउने । हन्तकाली ।

      बा ! तिमी त आजकाल पुरै फलाम बनीसक्यौ -फलाम । कहिल्यै नथाक्ने । बरु खिइदै जाने । तिमीले यति धेरै संघर्ष गरेका छौ कि त्यसको यौटा पुरै उपन्यास बन्न सक्छ ।
" मैले पढ्छु भन्दा पनि मेरा बाउले पढ्न दिएनन् तर मेरा छोराहरुलाई चैँ  पढाएरै छाड्छु "भनी लागि परेका छौ तिमी । मैले देखेको छु तिमीले तिम्रो आफ्नो वजन भन्दा गह्रौ भारी बोकेको । मैले त्यो भारी बोक्न खोजे सायद म किचिन्छु । ठाउको ठाऊ थिचिन्छु , बोक्ने त कुरै छोडौँ । तिमीले सप्पै सप्पै काम ग-यो मेरो भागको पनि । मैले गर्नु पर्ने काम पनि । तिम्रो यो लाठे भै सकेको छोरोलाई हलो, कोदालो छुनै दिएनौ । यो छोरोलाई शहर पठाएर केबल आफु मात्रै त्यो गाउमा संघर्ष गरिरह्यौ । तिम्रो त्यो समपर्णको ऋण म खै कैले तिर्न सकुला /नसकुला ।

             मेरो उमेरमा तिमी कति संघर्ष गर्थ्यौ होला, कति खट्थ्यौ होला । यो  सोच्दा पनि कल्पना जस्तो लाग्छ । गफ गरे जस्तो मात्र लाग्छ । तिम्रो काम गराई देख्दा तिमी कुनै मेसिन भएको भान हुन्छ । तर तिमी मेसिन होईनौ । मानब नै त हौ तिमी, जसको चित्त छ ,मन छ । जसले म प्रति अर्थात यो लेखकप्रति अपेक्षा राखेका छन । अनि अपेक्षा राख्नु पनि पर्छ । आफ्नै छोरोबाट अपेक्षा नराखे जिन्दगीमा अरु को बाट राख्नु त ?

        तर अफसोस यो लेखक अर्थात तिम्रो यो लाठे छोरो 'लायक' छोरो रहेनछ । अथवा भनौँ तिमी जस्तो सघंर्षरत प्राणीको छोरो भन्न लायक रैनछ । भलै लायक साथी भइयो होला । लायक बिद्यार्थी भइयो होला तर सबैभन्दा ठूलो कुरो लायक छोरो हुन सकिनँ । किनकी मैले कै गर्न सकिनँ ,सकेको छुईनँ । फगत खोस्टारुपी सर्टिफिकेट जम्मा गर्नु बाहेक ।

     सानातिना, झिना -मसिना उपलब्धीमै रमेर बसेछ तिम्रो छोरो । शहरको सुबिधा सम्पन कोठामा बसेर होला त्यो झुपडीमा बस्ने तिम्रो संघर्षको दर्द बुझेकै रैनछ यसले ।  बा, तिम्रो छोरोलाई यो कङ्क्रिटको शहरले आफु जस्तै 'कङ्क्रिट' बनाइ दिएको छ । थाहा नपाउदो गरी यसले तिम्रो छोरोको दिल पत्थरमा परीणत गराउदै लगेको छ  । हो बा, शहरमा साथीसङ्गीको हाहाहोहोमा रम्नु, कलेज गए जस्तो गर्नु, फेसबुक, ईमेल, ईन्टरनेटमा दिन बिताउनु जस्ता अर्थहिन र उपलब्धी बिहिन कर्ममा ब्यस्त हुनु नै तिम्रो छोरोको दैनिकि भइदिएको छ  । किनकी 'नालायक' जो भइसकेछ - यो ।


"Placebo Effect"

"Placebo Effect" लगभग सन १९५० तिर पश्चिमाहरुले "Placebo Effect" को अवधारणा ल्याए । त्यो अवधारणाले के भन्छ भने- बिरामीलाई औषधीले मात्रै निको पार्दैन बरु औषधी प्रति उक्त बिरामीको बश्वासले रोग निको हुन्छ । यो बिधिमा के गरिन्छ भने- बिरामीलाई वास्तविक औषधी नदिएर औषधी जस्तो देखिने चक्की दिइन्छ वा सिरिन्ज लगाउनु पर्ने भए नक्कली सिरिन्ज लगाइन्छ । यो बिधिको यौटै शर्त भनेको बिरामीलाई दिन लागिएको चक्की वा सिरिन्ज नक्कली हो भन्ने कुरा उसलाई थाहा दिनु हुँदैन । "Placebo Effect" ले सम्पूर्ण रोग र सबै खाले बिरामीमा उस्तै गरी काम गर्न नसक्ला । तर थुप्रै पटकको अनुसन्धान र प्रयोगले यो बिधी निक्कै प्रबावकारी देखिएको छ । पश्चिमाहरुले यो बिधी बारम्बार प्रयोग र परिक्षण गरी अनुसन्धान पत्रमा के सम्म लेखेका छन भने- "Placebo Effect" ले सामान्य रोग मात्रै हैन, सर्जरी गर्नै पर्ने खालका रोगहरु समेत निको भएको छ । ठ्याक्कै यही अबधारणामा आधारित भएर हजारौं बर्ष देखी पुर्बिय जगतमा धामी झाक्रिहरुले लाखौं बिरामी निको पारे । आज पनि दुर्गम भेगमा जहाँ डाक्टर पुगेका छैनन् त्यहाँ धामी झाक्रिहरुले नै सयौं बिरामीलाई झारफुक र बुटिका भरमा निको पार्दै छन् । तर अचम्म यो छ कि पश्चिमाहरुले त्यही काम गर्दा Placebo Effect हुने । बिरामी उपचार गर्ने नयाँ बिधी मानिने । अनी पुर्बियहरुले चाँही त्यही बिधी प्रयोग गर्दा रुढीवादी र अन्ध-विश्वास हुने ? बुझेर बुझी नसक्नु छ बा !

Monday, August 8, 2016

मुक्तक

                   मुक्तक 

मुटु भरी चोट दिने अनि रुवाउने बानी रैछ 
स्वार्थै स्वार्थ त्यो मुटुमा बदलाको खानी रैछ॥
आँखा मेरा ताल हुँदा ऊ त केवल हेर्दै बसी
आँशु भन्छन् दुनिया जस्लाई उस्का लागि पानी रैछ॥

मुक्तक

                       मुक्तक 

कहिले उकालो चढिन्छ, कहिले ओरालो झरिन्छ 
जिन्दगी हो- यो, जिन्दगीमा सङ्घर्ष निरन्तर गरिन्छ 
हेर्दै जाऊ- लक्ष्य हासिल हुन्छ हुन्छ, हुने नै छ एकदिन 
यी ठक्करहरू कुनै बिष होइनन् जुन खाएपछि मरिन्छ ॥

मुक्तक

           मुक्तक

यो समय यस्तो बनेर आइरहेछ ॥
मलाई मेरै जिन्दगिले खाइरहेछ ॥
मैले पीडामा पनि हास्ने कसम खाएको छु
तर दुनिया भन्छन- यो त मुस्कुराइरहेछ ॥

Friday, August 5, 2016

समाबेशी ब्यबस्था: हात्तीका बहिरी दाँत

हात्तीका दुई खाले दाँत हुन्छन् । एक खालका दाँत बाहिरै बाट देखिन्छन् भने अर्का खालका चाँही उसको मुख भित्र हुने भएकाले देखिदैनन् । बाहिरका दाँत हेर्दा खेरी बडेमानका र लोभ लाग्दा देखिए पनि ति केबल देख्न र देखाउनका लागि मात्रै हुन् । ती बहिरी दाँतको एक मात्र काम भनेको सोभा बढाउनु हो । त्यस बाहेक अरु कै पनि हैन, छैन । दाँतको असली काम भनेको उसको मुखभित्र हुने दाँतहरूले गर्छन् - घासपात चपाउने ।
नेपालको सन्दर्भमा भन्नु पर्दा, हाल अभ्यास भइरहेको जातिय समाबेशी ब्यबस्था हात्तीको त्यो बाहिरी दाँत जस्तै हो, जसले सोभा बढाउने काम मात्रै गरेका छ ।घासपात चपाउने काम गरेको छैन ।
नेपालमा आरक्षण प्रणालिको सुरुवात २०६४ सालबाट भएको हो । राज्य द्वारा यो भन्दा अघीसम्म पछाडि पारीएका वा परेका गरीब तथा बिपन्न महिला, आदिबासी, जनजाती, मधेसी, दलित, अपाङ्ग लगायत वास्तवमै पिछडिएका/ पछाडि परेका हरूलाई राज्यको निती निर्देशन तहमा ल्याउने र तिनको आर्थिक हैसियत सुधार्दै लगेर हरेक तह र तप्कामा तिनको सहभागी मुलक प्रतिनिधित्व रहोस् भन्ने असल भावनाका साथ यस प्रणालिको माग भयो र यो प्रणालिको अभ्यास थालियो ।
आरक्षण प्रणाली सदा कालका लागि हुँदैन । राज्यका सबै समुदायका ब्याक्तीहरुको पहुच सबै क्षेत्रमा बराबरीको स्थिती देखिएपछी स्वत: यस प्रणालिको औचित्य सकिन्छ र यो ब्यबस्था खारेज हुन्छ ।





..






Wednesday, July 20, 2016

                      गजल

प्रिय तिम्रो आगमनले यो घर 'घर' हुनेछ ॥
नत्र फगत इट्टा बालुवा र पत्थर हुनेछ ॥

टाठाबाठाले तिमिलाई दिनुसम्म धोका दिए
प्यारी अब तिम्रो सहारा यो 'निरक्षर' हुनेछ ॥

जुन दिन ती पाउहरूले मेरो आगनी चुम्छन्
मलाई तिम्रो अनि तिमीलाई मेरो भर हुनेछ 

तिमी भए फल्छ फुल्छ, मुस्कुराउँछ जिन्दगी
तिम्रो अभावमा  मेरो वसन्त पत्झर हुनेछ ॥

तिमी आफैं भन ____ देख्ने सुन्नेले के भन्लान् ?
जब उता पिपल हुनेछ अनि यता  बर हुनेछ ॥

                                    - निक्षर निराैला

Sunday, July 17, 2016

कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!

कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!

यो संबिधान भन्ने जिनिस पनि गज्जबको हुँदो रैछ । जसले जसरी पारीभासित गर्‍यो त्यसरी नै पारीभासित हुने । एउटाले कालो छ भन्दा कालै भइदिनु पर्ने, अर्कोले "हैन हैन यो त सेतो पो छ्" भन्दा सेतै भइदिनु पर्ने । कठै हाम्रो संसारकै उत्क्रिस्ठ संबिधान !!
अहिले देशका सारा संबिधानबिदहरू दुई कित्तामा बाडिएका छन् । एक थरिले "यो बर्तमान सरकार संबैधानिक रुपमा परिवर्तन गर्नै मिल्दैन" भन्दै छन् भने अर्का थरीले "सत्ता परिवर्तन गर्न कुनै बाधा अड्चन नभएको" जिकिर गर्दै छन् । संबिधान एउटै हो, दुबै पक्षले एउटै धारा (२९८) लाई टेकेर जबर्जस्त तर्क राख्दैछन् । आ-आफ्नो मत राख्ने क्रम जारी छ । अन्त्यमा कस्को पल्ला भारी हुने हो,त्यो हेर्नु छ (हेर्नु यस कारणले छ कि- हेर्नु बाहेक हामीसँग बिकल्प नै छैन) ।
बडो मज्जा आउछ यस्तो बाद्बिवाद हेर्न/सुन्न । बाद-बिबादले बिस्तारै नाटकको रुप लिदै छ । सप्पै कलाकारले आ-आफ्नो भूमिका जबर्जस्त निभाउदै छन् । क्यारेकटरमै घुसेर पात्रहरू कला देखाउदै छन् । यस्तो बेलामा तपाईं हामीले आफुलाई यस कारणले भाग्यमानी ठान्नु पर्छ कि- यो नाटक हेर्न कसैले टिकट काट्नु परेको छैन । फिरिमै नाटक देखाइएको छ । फिरी मै नाटक हेर्न पाइएको छ ।
तपाईं हाम्रो अरु काम नै के छ र ? बस्, बस्यो- नाटक हेर्‍यो । नाटक हेर्‍यो- बस्यो । उङ्यो अनी फेरी नाटक हेर्‍यो ।

साँढेहरू र भेडाहरू

साँढेहरू  र भेडाहरू

हाम्रो सन्दर्भमा भन्नु पर्दा नेता भनेको डामेर छोडेका साँढेहरू हुन् । सबैलाई ज्ञात भएकै कुरो हो- जतीसुकै खाइलाग्दो किन नहोस् तर डामेर छोडिएका साँढेहरूले कहिल्यै पनि खेत जोतेका छैनन्, जोत्दैनन् । ती र त्यस्ता साँढेहरूको एक मात्र काम भनेको डुक्रेर हिन्नु हो । खेत जोत्नु हैन । अक्कल नभएका त हामी छौ जो यिनै साँढेहरूले एक दिन यो देश जोतिदेलान् र देश हराभरा बन्ला भन्ने भ्रम बर्षाैँदेखी पालेर बसेका छौ ।
अनी राजनीतिक पार्टीका कार्यकर्ता भनेको चै भेडा हुन् । भेडा अर्थात नाइकेको पिछलग्गु । भेडाका लागि सही र गलत के हो भनी छुट्याउने एक मात्र मापदण्ड भनेको यो छ कि- आफ्ना नाइके (नेता) ले जेजे भन्छ ठीक, जेजे गर्छ ठीक । त्यो बाहेकका सप्पै कुरा बेठिक । भेडाहरूमा नाइके प्रतिको बफादारी (अन्धभक्ती भनौ, पचाउन सकिन्छ भने) यती सम्म छ कि- आफ्ना नाइकेले पाद्यो भने पनि "आहा ! कती मिठो बास्ना" भन्न पनि पछी पर्दैनन् ।
हुन त देशमा सप्पै नाइके साँढे र सप्पै कार्यकर्ता भेडा छन् भनेर भनी हाल्न पनि सकिन्न । तर लोकतन्त्रमा बहुमतले अर्थ राख्ने भएकाले बहुमत ती र त्यस्तैहरूको छ । त्यसैले यो प्रसङ्गमा 'सप्पै' भन्ने बिशेषण प्रयोग गर्दा कोही कैसैले पनि टाउको दुखाइ हाल्नु पर्ने कारण देखिदैन ।