नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, August 24, 2016

'बा ! म तिम्रो नालायक छोरो'


'बा ! म तिम्रो नालायक छोरो'

    आज कुशे औँशी अर्थात बालाई संझिने दिन । बाको मुख हेर्ने दिन । अझ बुझ्ने गरि भन्नुपर्दा  'ह्यापी फादर्स डे' ।
    आज यो "ह्यापी फादर्स डे" मा म ह्याप्पी ह्याप्पी हुन सकेको छुइनँ । यो शहरको यौटा घरको कोठामा बसेर गाउमा त्यो टिनको झुपडिमा बस्ने मेरा बालाई सम्झिदै छु- अहिले । मेरा बालाई सुनाउन लायक कै गर्न सकेको छुईनँ मैले- आजका मितिसम्म । त्यसैले आज फोन गर्न सकिरहेको छुइनँ मेरा बालाई । बिहानै देखि मन खिन्न खिन्न भैरहेछ - मेरो । आफैले आफैलाई धिक्कारीरहेछु म आज । थुकिरहेछु आफैलाई । आफुले आफैलाई थुक्नुभन्दा बढि आत्मग्लानी अरू कुरोमा नहुदो रैछ ।

          जीबनमा यौटा उदेश्य बनाउनु पर्छ जुन कुनै पनि हालतमा नबदलियोस् । त्यस उदेश्यका लागि दिनरात लागेको हुनुपर्छ संघर्ष गर्दै । तर आज म आफैले आफैलाई प्रश्न गर्दैछु -
- खै त, कहाँ छ ममा कै गरेरै देखाउँछु भन्ने  अठोट ?
- खै यौटा दृढ़ संकल्प जुन प्रत्येक छोरोमा हुनै पर्छ ? खै त मैले ति मेरा बाको संघर्षको मर्म बुझेको ? जीबनमा यसरी यसरी अघि बढ्छु , यो यो काम म यसरी यसरी गर्छु भन्ने योजना खै त मेरो ?

       कतिपय साथीहरूका निमित्त म यौटा राम्रो साथी भएँ होला । कलेजमा गुरुबा गुरुआमाका लागि म राम्रै बिद्यार्थी पनि भएँ होला तर जीन्दगीको यो समयसम्म आईपुग्दा अब बिए सकेर मास्टर्स पढ्ने लाठो भइसक्दा पनि म आफ्नो जीबनप्रति चिन्तित रहेनछु । आफ्नो भविश्य प्रति चिन्तित रहेनछु । फगत झिना मसिना ,झारपाते उपलब्धीहरूमा रम्दै बसेको रैछु- म ।

         म कस्तो मान्छे जसले आफ्ना बाआमाको फिलीङ्गस आफ्नो फिलीङ्ग्स बनाउन सकिनँ । तिनको सपना मेरो सपना बनाउन सकिनँ । तिनको मप्रतिको अपेक्षा केकस्ता छन भन्ने बुझ्ने प्रयत्न समेत गरिनँ । धिक्कार छ मलाई । अनि धिक्कार छ मेरो मगजलाई जो यति स्वार्थी बिचार जन्माइरहेछ मेरो टाउकोमा बसेर ।
      एघार बर्षको उमेरमा मेरा बाले मलाई शहर पठाएका थिए । छोरो राम्रो पढ्ला, शहरमा ठुलाबडाको संगतले ऊ पनि ठुलो बन्ला भनेर । अनि बुढेसकालमा हामीलाई पनि कसो नहेर्ला भन्दै । तर बा ! आज दश बर्षपछि पनि तिम्रो यो छोरोले कै गर्न सकेको छैन र गर्ने छाँटकाँट पनि देखिएको छैन । यहाँ म  तिमीलाई सम्बोधन गर्दा 'तपाई हजुर' जस्ता शब्द भन्दा  'तिमी'  भन्ने शब्द प्रयोग गर्दैछु । 'तपाई' र 'हजुर' मा भन्दा तिमी शब्दमा आत्मियता छ भन्ने मेरो बिश्वास ।

      मोतीराम भट्टले केबल  अठ्ठाइस बर्ष मात्रै बाँचेर आफु अमर हुने काम गरेर गए । यो कुरो भन्दै गर्दा म त ऐले एक्काइस बर्षको त भए नि ! भनेर भन्न मन लाग्छ । तर हरेक बिहानीले दिनको सङ्केत गर्छ भन्छन ।  तिम्रो यो छोरोको बिहानीले राम्रो दिनको सङ्केत गरेको छैन । यो मभन्दा बढ्ता तिमीलाई नै थाहा छ । त्यसैले आज तिमीसँग बोल्ने आँट गर्न सकिरहेको छुइनँ - म । मोबाइलको स्क्रीनमा गाउको नम्बर डाइल गरी सकेर पनि कल बटन थिच्न सकिनँ । अनी बसे म यो गन्थन मन्थन लेख्न । "अरु अरु दिन त फोन गरिरहने छोरोले आज त कसो नगर्ला र ?"  भन्ने आश राखेर मेरो फोनको प्रतिक्षा नगर्नु । म बरु दुई तीन दिनपछी फोन गरुँला । 

      यी मेरा हातहरूलाई धिक्कार छ जस्ले आजसम्म तिमिलाई केहि दिन सकेका छैनन् । तिमीबाट केबल लिन मात्रै जानेका छन् । लिई मात्र रहने ।

         बा, तिमीले कहिल्यै सुख पाएनौ है ! तिमी सानो छँदा पनि केबल दु:खै मात्र खेपिरह्यौ । पहाडका उकाली ओरालीसँग सधैँ जुधिरह्यौ । कै सुख होला भन्ने आशमा तराई झ-यौ तर तराईमा पनि कहाँ सुख छ र तिमिलाई ! घाँसदाउरा गर्नु, बस्तुभाई चराउनु,  ती खेतहरूमा सधैँ खोस्रीरह्नु र साईकलमा निकै दुरदुरसम्म यात्रा गर्नु तिम्रो दैनिक भइदिएको छ । त्यो रहर हैन  बाध्यता हो ।

       दु:ख, अभाबहरूले कहिल्यै पिछा छोडेनन् तिम्रो । जुका जस्तै टाँसिएर बसेका छन ति । तर जुकाले पनि पेट ढाडिएपछि रगत चुस्न छोड्छ । यी दु:खहरू जुकाभन्दा गिरेका हुँदा रैछन, साह्रै नीच । कहिल्यै नअघाउने । हन्तकाली ।

      बा ! तिमी त आजकाल पुरै फलाम बनीसक्यौ -फलाम । कहिल्यै नथाक्ने । बरु खिइदै जाने । तिमीले यति धेरै संघर्ष गरेका छौ कि त्यसको यौटा पुरै उपन्यास बन्न सक्छ ।
" मैले पढ्छु भन्दा पनि मेरा बाउले पढ्न दिएनन् तर मेरा छोराहरुलाई चैँ  पढाएरै छाड्छु "भनी लागि परेका छौ तिमी । मैले देखेको छु तिमीले तिम्रो आफ्नो वजन भन्दा गह्रौ भारी बोकेको । मैले त्यो भारी बोक्न खोजे सायद म किचिन्छु । ठाउको ठाऊ थिचिन्छु , बोक्ने त कुरै छोडौँ । तिमीले सप्पै सप्पै काम ग-यो मेरो भागको पनि । मैले गर्नु पर्ने काम पनि । तिम्रो यो लाठे भै सकेको छोरोलाई हलो, कोदालो छुनै दिएनौ । यो छोरोलाई शहर पठाएर केबल आफु मात्रै त्यो गाउमा संघर्ष गरिरह्यौ । तिम्रो त्यो समपर्णको ऋण म खै कैले तिर्न सकुला /नसकुला ।

             मेरो उमेरमा तिमी कति संघर्ष गर्थ्यौ होला, कति खट्थ्यौ होला । यो  सोच्दा पनि कल्पना जस्तो लाग्छ । गफ गरे जस्तो मात्र लाग्छ । तिम्रो काम गराई देख्दा तिमी कुनै मेसिन भएको भान हुन्छ । तर तिमी मेसिन होईनौ । मानब नै त हौ तिमी, जसको चित्त छ ,मन छ । जसले म प्रति अर्थात यो लेखकप्रति अपेक्षा राखेका छन । अनि अपेक्षा राख्नु पनि पर्छ । आफ्नै छोरोबाट अपेक्षा नराखे जिन्दगीमा अरु को बाट राख्नु त ?

        तर अफसोस यो लेखक अर्थात तिम्रो यो लाठे छोरो 'लायक' छोरो रहेनछ । अथवा भनौँ तिमी जस्तो सघंर्षरत प्राणीको छोरो भन्न लायक रैनछ । भलै लायक साथी भइयो होला । लायक बिद्यार्थी भइयो होला तर सबैभन्दा ठूलो कुरो लायक छोरो हुन सकिनँ । किनकी मैले कै गर्न सकिनँ ,सकेको छुईनँ । फगत खोस्टारुपी सर्टिफिकेट जम्मा गर्नु बाहेक ।

     सानातिना, झिना -मसिना उपलब्धीमै रमेर बसेछ तिम्रो छोरो । शहरको सुबिधा सम्पन कोठामा बसेर होला त्यो झुपडीमा बस्ने तिम्रो संघर्षको दर्द बुझेकै रैनछ यसले ।  बा, तिम्रो छोरोलाई यो कङ्क्रिटको शहरले आफु जस्तै 'कङ्क्रिट' बनाइ दिएको छ । थाहा नपाउदो गरी यसले तिम्रो छोरोको दिल पत्थरमा परीणत गराउदै लगेको छ  । हो बा, शहरमा साथीसङ्गीको हाहाहोहोमा रम्नु, कलेज गए जस्तो गर्नु, फेसबुक, ईमेल, ईन्टरनेटमा दिन बिताउनु जस्ता अर्थहिन र उपलब्धी बिहिन कर्ममा ब्यस्त हुनु नै तिम्रो छोरोको दैनिकि भइदिएको छ  । किनकी 'नालायक' जो भइसकेछ - यो ।


No comments:

Post a Comment