नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, April 28, 2017

रन्जु दर्शनालाई पत्र

                   रन्जु दर्शनालाई पत्र
२०७४/०१/१४ 

नमस्कार रन्जु दर्शना ज्यु,

 तपाईं उमेरका हिसाबले म भन्दा २ बर्ष कान्छी हुनुहुदो रहेछ, तसर्थ पत्रको सुरुवातमा 'ज्यु' भनेर सम्बोधन गरेपनि त्यसपछि 'बैनी' भनेरै सम्बोधन गर्छु ल ? "नेतृ जस्तो मान्छेलाई 'बैनी' भनेर हेला गर्‍यो" भन्ने कदापि नसोचिदिनु। तपाईंलाई 'हेला गर्नु' मेरो मनशाय हुँदै हैन। छैन। तपाईं प्रति मेरो मनमा असिम श्रद्धा भाव छ।

हाम्रै उमेर समुहकी एक युवा प्रतिनिधि यसरी नेतृका रुपमा उदाउनु मेरा लागि पनि खुसीको कुरा हो। तपाईं हाम्रै उमेर समुहकी हुनुभएकी हुँदा तपाईंसँग एक किसिमको नजानिदो आत्मियता जोडिएको छ। त्यसैको फलस्वरूप "बैनी" भन्दैछु। मेरो यो सम्बोधनलाई लिएर चित्त नदुखाउनु है !!
 'बैनी' भनिसकेपछी सम्बोधनमा पनि 'तपाईं' होईन,  'तिमी' नै भनेर पत्र अगाडी बढाउदैछु ल !!

 दर्शना बैनी, तिमिले यति सानो उमेरमै काठमाडौं महानगरको मेयरमा उम्मेद्बारी दिनु मात्रै पनि ठुलो कुरो हो। त्यो हिम्मत आउनु मात्रै पनि ठूलो कुरो हो। मैले 'बिबेकशील नेपालि समुह' का क्रियाकलाप हेर्दै/पढ्दै आएको छु। सामाजिक संजाल फेसबुकमा तिम्रो प्रोफाइलमा जोडिने हजारौं युवायुवतीको भिडमा म पनि एक हुँ/छु।

तिमिले गर्दै आएका श्रीजन्शिल कार्य बढो तारिफ योग्य छन्। शान्तिपुर्ण र्‍याली गर्नेदेखि लिएर "नेपाल खुल्ला छ" भन्ने 'क्याम्पिएन' र डा. गोबिन्द केसीको अनशनमा समर्थन गर्नेसम्मका क्रियाकलाप जगजाहेरै छन्। "बिरोधका लागि बिरोध" गर्ने, टायर बाल्ने युवाहरूको जमातमा तिम्रो समुहले गरेको शिर्जनत्मक काम निकै सराहनीय छ्/छन्। परम्परागत राजनितिक सँस्कारबाट वाक्क दिक्क भएको मेरो पिताजीको पुस्ता, मेरो पुस्ता र अब आउदै गरेका मेरा भाइबैनीको पुस्ताका लागि तिमिजस्ती युवा नेतृको राजनितीमा प्रवेश हुनुले निकै ठुलो आशाको सञ्चार गरेको अनुभुत हुन्छ। काठमाडौंको मेयरमा तिम्रो उम्मेद्बारी मात्रैले पनि ठूलो अर्थ राख्छ।
तिमिले दुई बर्ष अघि भुकम्पका बेला गरेको उद्दार, टीचिङ्ग हस्पिटलमा तत्कालीन परिस्थितिमा तिम्रो टिमले खेलेको भुमिका देखेर/पढेर यो शीर झुक्छ-'बिबेकशील नेपाली समुह' प्रति। तिमीमा र तिम्रो  समुहमा यौटा ऊर्जा छ, 'आगो' छ।  त्यसलाई कहिल्यै निभ्न नदिनु। र तिमीले त्यो 'आगो' निभ्न दिन्नौ भन्ने कुरामा म ढुक्क छु। मजस्तै हजारौं युवा ढुक्क छन् ।

आर्थिक अनियमितताको कलङ्क लागेका राजनीतिक दलहरुका भिडमा निर्वाचन आयोगमा आफ्नो वार्षिक कारोबारको हिसाब बुझाउने बेला बिबेकशील नेपाली अग्र पङ्तिमा छ। तिम्रो समुहको क्रियाकलापको पार्दर्शिताका सम्बन्धमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन। बस् यहीँ यौटे कारणले मात्रै पनि कुनै देशी बिदेशी शक्तिका सामु नझुक्ने नैतिक बल र साहस तिमिलाई प्रदान गर्छ। गर्नेछ। यसलाई निरन्तर कायम राखिराख्ने छौ भन्नेमा शङ्का छैन।

तर...  दर्शना बैनी,
 यत्ति मात्रैले जनता 'कन्भिन्स' हुन गाह्रो छ। तिमिले जे-जे गर्छु भनेकी छौ, त्यही त्यही कुरा हरेक उमेदवारले भनेकै हुन्छ। भन्नै पर्छ। चुनाबका बेेेेला हरेक उमेदवारले "आकाशको तारा झार्दिन्छु" भन्ने शैलीका आश्वासन दिए/दिन्छन्। तर जसै चुनाब जितेर गए - त्यसपछी उनिहरुले झार्नलाई त झारे, तर तारा हैन, जनताको आखाबाट आशु झारे। यदि ती आशुहरु एकै ठाउमा संग्रह गरिएको भए सायद यो काठमाडौंलाई मेलम्चिको खाचो पर्दैनथ्यो। त्यही आशुको भेलले मेलम्चिको खाँचो टर्थ्यो। जलश्रोतमा विश्वमै दोश्रो ठूलो मुलुक भनिए पनि लाखौं परिवार स्वच्छ पिउने पानीबाट अझै बन्चित छन्। कृषिप्रधान मुलुक भन्नलाई त भनिन्छ तर सिचाइको ब्यबस्था छैन। आकाशे पानीको भरमा कृषि अर्थतन्त्र धानिएको छ। युवाहरू प्रत्येक दिन दुई हजार हाराहारीको सङ्ख्यामा बिदेश हान्निन्छन। के-के न गर्छु भन्दै सपना बोकेर गएकाहरु फर्किदा बाकसमा सजिएर फर्किएको देख्दा मन कुडिन्छ। बर्तमान शासन ब्यबस्था प्रती घृणा जाग्छ। पैसा नभएर गरीब हुनु आफ्नो ठाउँमा छ तर पैसा भएर पनि हामी त्यो खर्च गर्न सकिरहेका छैनौं।  हाम्रो पुजिगत बजेट सधैं 'फ्रीज' भैरहेको हुन्छ। सुनको थाल बोकेर हामी माग्न हिडिरहेका छौं।
यो देश बन्ने अनेक 'रीजन' हुँदाहुँदै 'भिजन'को अभावले देशको हविगत आज यस्तो छ ।

यी सारा लथालिङ्ग देख्दा/भोग्दा यो पङ्तिकारलाई पनि यस्तो लाग्छ कि- "राजनितीमा जाऊँ र देशलाई कसरी 'ट्र्याक'मा हिडाउनुपर्छ भन्ने कुरा हाम्रा 'हजुरबा' हरुलाई (जसले देश हाकिरहेछन) सिकाइदिऊँ ।"  तर त्यसो गरिहाल्न पनि सकिन्नँ/सक्दिनँ । पङ्तिकार नेपाली साहित्यको बिध्यार्थी भएकाले भावनामा बहकिनु स्वाभाविक हो, यसलाई म स्वाभाबिकै मान्छु तर भावना र यथार्थ एकै हैन। हुँदैन। त्यो बुझेको छु- मैले।

भोको पेटले 'समाज सेवा' गर्न नसकिने यथार्थ बुझेरै म यो भोको पेट भर्नतिर लागेको हुँ। मजस्ता लाखौं युवायुवतीहरुलाई यही पेट भर्नै पर्ने बाध्यताले डोहोर्‍याएर अरबको ५० डिग्री तातोमा पुर्‍याएको छ। कतिलाई यहि पेटले गर्न हुने नहुने काम गर्न बाध्य पारेको छ।

दर्शना बैनी,
तिमी काठमाडौको मेयरमा उठ्ने खबर पाएदेखी तिम्रा हरेक अन्तर्वार्ता खोजीखोजी पढ्न/हेर्न थालेको छु। हुन त पैला पनि तिम्रा क्रियाकलाप ननियालेको भने होइन है ! नियल्ने नै गरेको थिएँ । तिमिलाई यो पत्र लेख्न बस्नु भन्दा अघि तीम्रा दुई टेलिभिजन अन्तर्वार्ता, एक रेडियो अन्तर्वार्ता र तिम्रो फेसबुक प्रोफाइलमा सुरुदेखि अहिलेसम्मका सारा 'पोस्ट' पढेँ। 'युट्युब' मा उपलब्ध (तिम्रा) लगभग सबै भिडियोहरु हेरेँ। तिम्रो समुहको घोषणापत्र पनि पढेँ। नाराहरु निक्कै आकर्षक र कवितात्मक छन्।  तर बैनी, काठमाडौं बनाउने स्पष्ट भिजन अझै नपुगेको पो हो कि ? भन्ने मलाई कताकता लागिरह्यो। यो-यो गर्छौं भन्ने खालका कुरा त छन् तर त्यस्ता काम केकसरी गर्छौ ? त्यसकालागी केकती खर्च लाग्छ ? भन्नेजस्ता प्रश्नको चित्तबुझ्दो जवाफ कमसेकम मैले चै अझैसम्म पाइनँ। हुनसक्छ तिमिसङ्ग/तिम्रो समुहसङ्ग त्यस्तो 'भिजन' छ, 'प्लान' छ तर मैले बुझ्न नसकेको हुदो हुँ, यो पनि हुन सक्छ।

"उमेर ठूलो कुरो हैन" तिम्रो यो कुरामा म सहमत छु। तिम्रो कम उमेरलाई लिएर तिमीलाई कम आक्न खोजेको पनि होइन तर सङ्गैका प्रतिद्वन्दीहरु बिच तिमी उमेर बाहेक के अर्थमा फरक छौ ?  अन्य प्रतिद्वन्द्वी भन्दा 'एक्स्ट्रा' तिमिमा के छ ? यो प्रश्नको चित्तबुझ्दो जवाफ सारा नेपालीले बिशेशत: काठमाडौंबासीले अझै पाइसकेका छैनन्।  तिम्रा अन्तर्वार्ताहरु हेर्दा तिमी घरीघरी आत्तिएको भान हुन्थ्यो। कयौं प्रश्नको जवाफ अझै सटिक पाइएन। तर्कमा भन्दा भावनामा अलि बढी नै बहकिए झैँ लाग्यो। जन्मिदै कोहि पनि जान्ने भएर आएको हुँदैन। सबैले बिस्तारै सिक्दै जाने हो। तर दर्शना बैनी, महानगरपालिकाको मेयरले धेरै कुरा जानेको बुझेको हुनैपर्छ। तिमीमा एक किसिमको ऊर्जा छ, त्यो तिम्रो बोलीमै झल्किन्छ। महानगर बनाउन ऊर्जा पनि चाहिन्छ तर ऊर्जा मात्रै भएर पनि हुँदैन।

दर्शना बैनी,
म कुनै पनि पार्टीको कार्यकर्ता हुइनँ। तसर्थ म कुनै अमुक दलको उमेदवारको जयजयकार गर्नु पर्ने बाध्यताबाट मुक्त छु। आग्रह पुर्वाग्रहबाट मुक्त छु। मैले आजसम्म कुनै पार्टीको झन्डा बोकेको छुइनँ। र बोक्दिनँ भन्ने प्रढ गरेर बसेको थिएँ/छु। तर सही दृस्ठिकोण र भिजन लिएर कुनै नयाँ नेतृत्व आयो भने साथै नदिने भने होइन। तिम्रो समुह 'बिबेकशील नेपाली' प्रती सकारात्मक भएकै कारण दुई तीन पल्ट बिबेकशीलको कार्यल्यमै गएर 'तिम्रो समुहको योजना, अवधारणा पत्र हेरे/ ल्याएरै पढेँ।

दर्शना बैनी, यहाँ "काम गर्छु" मात्रै भनेर हुन्न, काम गर्न नदिनेहरु कोको छन् ? कस्ता कस्ता छन् ? तिनीहरुको जालो कस्तो छ ? कत्रो छ ? त्यो जालोलाई कसरी फेस गर्ने ? भन्ने जस्ता कुराको सूक्ष्म विश्लेषण नगरी काम गर्न खोजेर मात्रै काम बन्दैन। तिमिसङ्गै जुध्नेहरु  (एमाले, काङ्ग्रेस,माओवादीकाहरु) चुनाबमा साम दाम दण्ड भेद प्रयोग गर्न खप्पिस छन् । तिम्रै अर्का प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापासङ्ग लामो प्रशासनिक अनुभव र ग्यान छ। उहाँ पनि तिमिजस्तै नयाँ र आशलाग्दा पात्र हुनुहुन्छ। काठमाडौंबासीले नयाँलाई समर्थन गरि नै हाले भने पनि किशोर थापालाई छोडेर तिम्लाई नै किन चुन्नु ? यो प्रश्नको जवाफ तिमिले आगामी अन्तर्वार्तामा दिनैपर्छ। दिनेछौ भन्ने अपेक्षा पनि छ।

हेर दर्शना, यो राजनितीमा आफू चोखो भएर मात्रै हुँदैन। आफुलाई फसाउनेहरुको जालो कस्तो छ ?  त्यस्ताका फोहोरी रणनीतिहरुको 'फेस' कसरी गर्ने ? यतातिर पनि ध्यान दिनुपर्छ।

फेरि नेपालको राजनिती बुझ्न अन्तरास्ट्रिय राजनिती बुझेकै हुनुपर्छ। भारत, चिन र अमेरिका, यी तीन पक्षहरुको नेपालमा केकस्ता स्वार्थहरु छन् ? तिनीहरुको 'नेपाल रणनीति' के हो ? यी र यस्ता प्रश्नहरुको सुक्ष्म विश्लेषण नगरिकनै नेपाली राजनितीमा हाम्फाल्नु भनेको 'एक कक्षा नपढी क्याम्पस भर्ना हुनु' जस्तै हो । त्यसरी राजनीतिमा हाम्फाल्नु भनेको नजानिदो गरी छिमेकी र पश्चिमाहरुको योजनामा रणनीतिक हिस्सेदार बन्ने यौटा पात्र थपिनु हो। यो कुरो तिमिले बुझेकै हुनुपर्छ।

२१ बर्ष उमेर बाहेक तिमिसङ्ग अरु प्रतिद्वन्द्वीभन्दा 'एक्स्ट्रा' योजना, भिजन केके छन् ? काठमाडौंको मेयरले अब लगभग २५ अर्ब रुपियाँको ब्यबस्थापन गर्नुपर्ने छ। यसलाई तिमी कहाँ कहाँ कसरी खर्च गर्छौ ? त्यसलाई तिमी मेयर भएपछी एक्दुई गर्दै कसरी कार्यान्वयन गर्छौ ? काम गर्दै जादा काममा बाधा हाल्ने अनेक माफिया, कालोबजारीया, दलाल र गुन्डागर्दी गर्नेहरुले आफ्नो भाग खोज्लान, त्यसलाई तिमी कसरी 'ट्याकल' गर्छौ ? यी प्रश्नहरुको जवाफ तिमिबाट चाहेको छु।

अन्तर्वार्ताका क्रममा तिमिले "हाम्रो बिग्यहरुको एउटा टीम हुनेछ" भनेर भनेकी छौ तर नेपालमा त बिग्यहरु पनी पार्टी निकट गुट निकट, छिमेकी रास्ट्र निकट भएकाहरू हुन्छन्। यस्तो परिस्थितिमा तिमीले तटस्थ र देशप्रेमी बिग्य को हो ? कसरी छुट्याउछौ ?  मैले यी प्रश्न किन गर्दै छु भने -बिगतमा ठुलठुला भनिएका, डाक्टर, इन्जिनियरहरुले नै यो देशलाई डुबाउन कुनै कसर बाकी राखेनन्। त्यसैले पनि बेलैमा तिमिलाई यस्ता प्रश्नहरू तेर्साएर सजग गराउन खोजेको हुँ।

तिम्रो अन्तार्वाताको भिडियो हेरिसकेपछी एक दर्शकले यस्तो टिप्पणी गरेको भेटेँ-
 "बिबेकशील नेपाली प्रती सकारात्मक धारणा भए पनि काठमाडौंको मेयरमा रन्जुलाई अहिल्यै नउठाएको भए हुन्थ्यो। रन्जु अयोग्य छिन् भन्ने तर्क गर्न खोजेको होइन तर प्रतिस्पर्धिको स्तर केकस्तो छ त्यसै अनुरुप प्रतिद्वन्दी खडा गर्न सक्न पर्थ्यो/पर्छ।"
  
त्यसै गरि अर्का युवाले यसो लेखेका रहेछन् -

"युवा भएकै कारणले युवाले राम्रो गर्छन् र वृद्ध भएकै कारण बृद्दले  देश बिगार्छन" भन्ने तर्क गर्नु जायज हुँदैन।  उमेर जतिसुकै भएनि अनुभव, ग्यान, क्षमता र भिजन यी सबै चाहिन्छ ।"

त्यही अन्तर्वार्तालाई लिएर अर्का युवाको प्रश्न रहेछ-

"भावनामा बहेर मात्रै हुन्न। रज्नुमा त्यस्तो ठोस रणनीति कै देखिएन, खाली सतही कुरा गरेर हुन्छ ? धुलो धुवाँ र पानीको समस्या जस्ता सानातिना कुरा गरेर महानगर 'महानगर' बन्छ ?" 

साथै यस्तो प्रश्न गरेको पनि भेटियो-
"तिमी २१ बर्षकि छौ भनेर तिमीलाई भोट दिने कि तिमिमा मेयर बन्ने क्षमता छ भनेर तिम्लाई भोट दिने ?"

यस्ता अनेकानेक प्रश्न/जिज्ञासा राख्नेहरुलाई तिमी कसरी 'कन्भिन्स' गर्छौ ?  "म उमेरले सानी भएनी यौटा महानगरपालिकाको मेयर हुन चाहिने ज्ञान, क्षमता र 'भिजन' मसङ्ग छ" भन्ने कुरामा केकसरी बिस्वस्त पार्छौ -काठमाडौंबासीलाई ?

दर्शना बैनी,

  • "यो देश बृदा नेताहरुले बिगारे" भन्दै गर्दा बृद्दाले चै बिगार्छन र युवाले चै बनाउछन नै भनेर भनी हाल्न सकिन्नँ। कुलमान घिसिङ २१/२२ बर्षका छैनन्। लालबाबु पन्डित पनि २१/२२ बर्षका होइनन्। डाक्टर गोविन्द केसी पनि २१/२२ बर्ष होइनन्। तर उहाँहरुले गरेको काम जगजाहेर छ। उमेर धेरै हुनु नै महानगरको मेयर बन्न 'नेगेटिभ पोइन्ट' होइन। त्यसैगरी उमेर थोरै हुनु पनि 'प्लस पोइन्ट' होइन।

 हामिलाई यो महानगरमा यौटा सक्षम मेयर चाहिएको हो, त्यो चाहे २१ बर्षको होस् या ७० बर्षको। त्यसले कुनै तात्विक फरक पार्दैन। तिमी उमेरका हिसाबले अन्य प्रतिद्वन्द्वीहरु भन्दा सानी छौ, त्यसैले पनि तिमिले अन्यले भन्दा बढी अध्यन अनुसन्धान गरेको हुनैपर्छ -यो काठमाडौं महानगरपालिकाका सम्बन्धमा। अन्य प्रतिद्वन्द्वीहरुसङ्ग अनुभव छ, त्यो अनुभवलाई जित्न सक्ने तिम्रो अध्यन अनुसन्धान हुनुपर्छ, के त्यो तिमिसङ्ग छ ? यो मेयरको उम्मेद्बारी दिनु भन्दा अघि  काठमाडौं महानगरपालिकाका बारेमा तिमिले के कति अध्ययन/अनुसन्धान गर्‍यौ ?  सन्सारका महानगरहरु कसरी सुन्दर बन्न सफल भएका रहेछन् भन्ने सम्बन्धमा तिमिले कुन कुन देशको बिस्तृत अध्यन गर्‍यौ ? तिम्रो 'फाइन्डिङ्स' के रह्यो ? महानगर सुन्दर बनाउन तिमिले कुन मोडल पहिचान गर्‍यौ ?

 "महानगरको बिकासका सम्बन्धमा तिमिले कति डिग्री हासिल गरेकी छौ ?" यो प्रश्न म तिमिलाई गर्दिनँ। यस्तो ठाडो प्रश्न सोध्नु तर्क सङ्गत पनि हुँदैन। किनकी मलाई पनि थाहा छ- बिध्यालय र बिश्वबिद्धालयका डिग्रीले सबैको क्षमता बताउन सक्दैन। मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' हुन्। बिल गेट्स पनि 'ड्रप आउट'। यो संसारलाई हजारौं आविष्कार दिएर गएका थोमस अल्वा एडिसन त झन कुनै औपचारिक बिद्यालयसम्म पनि नगएका पात्र हुन्। यस्ता कलेज 'ड्रप आउट' या स्कुल नै नगएकाहरु कति छन् कति जसले कालान्तरमा बिश्वको ध्यान आफुतिर खिचे/खिच्दै छन्। हिजोका मार्क जुकर्बर्ग कलेज 'ड्रप आउट' भएकै भरमा आजका 'मार्क जुकर्बर्ग' बनेका होइनन्। कलेजमा रहदा जेजति अध्ययन अनुसन्धान हुन्थ्यो/गरिन्थ्यो त्यो भन्दा बढी अध्ययन अनुसन्धान उनले 'ड्रप आउट' भएपछि गरे। उनको त्यही स्व-अध्ययन + अनुसन्धानले यो बिश्वलाई आज 'ग्लोबल भिलेज' बनाइदियो। अन्यको हकमा पनि लगभग यही नियम लागू हुने हो।

त्यसैले तिमिलाई मेरो प्रश्न छ- महानगर बिकासका सम्बन्धमा तिम्रो आफ्नो स्व-अध्ययन, स्व -अनुसन्धान केकती छ ? केकस्तो छ ?

उम्मेद्बारी दिनकै लागि उम्मेद्बारी दिन त जसले पनि सक्छ तर जित्ने आधार खडा गरेर उम्मेद्बारी दिने चै कमै हुन्छन्। तिमिले आफुले जित्ने आधार खडा गरिसकेरै उम्मेद्बारी दिएकी हौ कि 'हाइलाइट' हुन मात्रै हो ? यो प्रश्न मेरो मात्रै हैन हजारौं युवाहरुको हो।

कुरुप यो काठमाडौंलाई सुन्दर काठमाडौं बनाउन तिमी अरुभन्दा के मानेमा भिन्न छौ ?  अरु भन्दा छुट्टै, बेग्लै, विशेष र खास तिमिमा त्यस्तो के छ ? एउटा 'भोटेर'ले भोट हाल्दै गर्दा सम्भवतः यहि प्रश्न आफ्नो मथिङ्गलमा खेलाउँछ।

एक क्षणलाई मान, म यौटा काठमाडौंबासी हुँ। म काठमाडौंको धुलोधुवा, अस्तब्यस्त ढल ब्यबस्था लगायतबाट वाक्क दिक्क छु। पुराना दलहरुले अनेक गर्छु भने तर नगरेकाले म नयाँ ब्याक्तिलाई भोट दिने निस्कर्समा पुगेँ रे। अब नयाँमा पनि मैले दुई जना छान्नु पर्ने भो, कि दर्शना कि किशोर थापा !! अब मैले तिमिलाई नै किन भोट दिने ? कसैलाई भोट दिनु भनेको महानगरको चाबी उसलाई सिम्पिनु हो। सचीव भएर लामो बर्षाैबर्ष काम गरेका किशोर थापालाई छोडेर मैले तिमिलाई नै महानगरको चाबी किन सुम्पिने ?

दर्शना,
तिमिले माथी उल्लेखित प्रश्नको जवाफ मलाई दिनैपर्छ भन्ने ढिपी गर्दिनँ -म। तर तिमी आफैले आफुभित्र खोज- ती प्रश्नहरुको जवाफ। तिमी आफैले आफुसङ्ग  सोध। आफैले आफैलाई सोध्दा चित्त बुझ्दो जवाफ आयो भने तिमिलाई मेयर त के यो देशको प्रधानमन्त्री बन्नसमेत कोहि कसैले रोक्न सक्ने छैन।
तर दर्शना ! कथमकदाचित जवाफ चित्तबुझ्दो आएनछ भने "मेरो तैयारी अलि पुगेनछ" भनेर तिमिले आफुलाई निखार्नतिर लाग्नुपर्छ। लाग्नैपर्छ। म कामना गर्छु- जवाफहरु चित्तबुझ्दो आउन्।

दर्शना बैनी, यो पत्र लेख्दै गर्दा मलाई कयौं पल्ट मनमा प्रश्न उब्ज्यो- कतै मैले अन्याय त गरिरहेको छैन ? एउटा युवा नेत्री जो राजनितीमा कै गर्छु भनेर भर्खर भर्खरै आएकी छिन्, उनलाई मैले अनेक प्रश्न गरेर हतोत्साहित त गरिरहेको छुइनँ ?  म अलि बढी अक्रामक भएर प्रस्तुत त भइनँ ?

तर यस्तो प्रश्न उब्जिदै गर्दा मलाई मेरा गुरुको भनाई याद आयो। उहाँ भन्नू हुन्थ्यो- "शिक्षकले विद्यार्थीलाई गाली गर्दा जबसम्म शिक्षक स्वयंलाई पीडा हुन्छ, तबसम्म उक्त शिक्षकलाई गाली गर्ने अधिकार हुन्छ। तर जुन दिनदेखि सिक्षकले विद्यार्थीलाई गाली गर्दा आनन्द लिन थाल्छ, त्यसै दिन/ त्यसै क्षणबाट उसले गाली गर्ने अधिकार गुमाउँछ ।"

मेरा गुरुको यही भनाईलाई सम्झिदै तिमि प्रती प्रश्न तेर्साएको हुँ।  गुरुको उक्त भनाइ अनुसारै हेर्दा- तिमिलाई यी प्रश्न सोध्दै गर्दा म स्वयंलाई पिडा भैरहेछ, त्यसैले पनि मैले तिमिप्रती प्रश्न गर्ने अधिकार राख्छु भन्ने लाग्छ।
मेरा यी प्रश्न र तिम्रो अन्तर्वार्ता हेरेर दर्शकहरुले गर्ने प्रश्नको जवाफ दिन तिमिलाई खासै गाह्रो नहोला तर तिमिलाई यी प्रश्नहरु सोध्न मलाई चै निकै गाह्रो भैरहेको छ।

मैदानमा ओर्लिने भनेकै जित्नलाई हो। त्यसैले हारीन्छ भन्ने डर मान्नु हुन्न। तर हार्न सकिने सम्भावनालाई पनि खेलाडीले नजरअन्दाज गर्नु हुँदैन। यो बुझ्नु ।


म चाहान्छु-  तिम्रो जितको एकमात्र कारण तिम्रो २१ बर्षे उमेर नहोस्। बरु तिम्रो क्षमता, तिम्रो ज्ञान, तिम्रो ऊर्जा र तिम्रो 'भिजन' तिम्रो जितको कारण होस्/बनोस्।

तिमिले जित्नु भनेको मेरो पुस्ताले जित्नु हो। तसर्थ म कहिल्यै चाहान्नँ कि मेरो पुस्ताले हारोस् ।


  •              तिमिलाई धेरैधेरै सुभकामना छ !!


उहि
तिम्रो सुभ चिन्तक
- निरक्षर निरौला 

Wednesday, April 26, 2017

छन्द कविता - "घरीघरी फसाइयो"

 पन्चचामर छन्द - ।s ।s ।s ।s ।s ।s ।s ।s

               "घरीघरी फसाइयो"

रहेन राष्ट्र एक यो, चिरा चिरा बनाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।
निकास दिन्छु भन्छ जो, फसाउने त हुन्छ त्यै
भुलेर बस्छ गद्दिमा, करोड आसु कुल्च्दै ।।१।।

अनेक तन्त्र देखियो, अनेक कष्ट भोगियो
बिकास कै भएन खै ! करोड अर्ब पोखियो ।।
हिजो जहाँ-जहाँ थियौं, त्यहीँ छ आज पाइला
फुलेन फूल देशको, सधैं सधैं छ कोपिला ।।२।।

कतार साउदी दुबै, मलेसिया पठाउने
युवाहरू जत्ती सबै, उता तिरै खटाउने ।।
कसो गरी बचाउने, छ देश आज भीरमा
यही सवालले सदा, ठुङीरहन्छ शीरमा ।।३।।

जितेन देशले यहाँ, भयो सधैं पराजय
निकास क्यै भएन है ! हजार आए औं गए ।।
र सार्वभौम देश यो, भनी -भनी बताइयो
विवेक बुद्धि बेचियो, छिमेकमा पठाइयो ।।४।।

पहाड रून्छ बिचमा, हिमाल रून्छ उत्तर
हुँदै छ खण्ड देश यो, नरो न भन्ने को छ र ।।
बसेर छैन काम क्यै, गफै त हो लडाउने
 गरेर द्वन्द्व देशमा, प्रजाहरू भिडाउने ।।५।।

घरै भित्रै त छन् यहाँ, हजार लाख लेण्डुप
बुझाउँदै गए सबै, नदी तलाउ गुप्चुप ।।
छ चोट यो दिलै भरी, कता गई बगाउनु
हुँ नागरीक देशको, कसो गरी बचाउनु ।।६।।

छिमेक भन्नू ब्यर्थ हो, सधैं धुलो चटाउछन्
रिमोट हुन्छ हातमा, भनेजसो खटाउछन् ।।
हुँदै भएन शान्ति हे ! अशान्ति पो खटाइयो
अनेक जालझेलमा, घरीघरी फसाइयो ।।७।।

छ काटमार देशमा, बढिरहेछ द्वन्द्व यो
मिलेन ताल देशको, बिग्रीरहेछ छन्द यो ।।
प्रजा रुवाइ देशमा, ब्रह्मान्ड पो हसाइयो
अनेक जालझेलमा घरीघरी फसाइयो ।। ८।

-निरक्षर निरौला
फत्तेपुर, सप्तरी ।
सम्पर्क: ९८४३५८४३४८
e-mail: niraulanirakshar@gmail.com

'रेडियो मिर्मिरे' मा आफ्ना रचना बाचन गर्दै
२०७३/०१/१५ 




Tuesday, April 18, 2017

                       गजल 
                    भुजङ्गप्रयात छन्द - ।ss ।ss ।ss ।ss

      निको छैन चाला, उहाँ भन्नु हुन्छ 
      बिलाएर जाला, उहाँ भन्नु हुन्छ 

      यहाँ हिड्न गाह्रो छ है देशलाई
      भिराला उकालाउहाँ भन्नु हुन्छ 

      बलेको छ दन्दन्, छ आगो दिलैमा
      नसल्काउ ज्वाला, उहाँ भन्नु हुन्छ 

      हुँदै हुन्न शान्ती तिमी बुझ्नु सङ्गी
      चलाएर भालाउहाँ भन्नु हुन्छ 

      घरैभित्र छिर्‍यो, ल है चोर आज
     फुटाएर ताला, उहाँ भन्नु हुन्छ 

                                 - निरक्षर निरौला

Wednesday, April 5, 2017

दोहोरो मापदण्डको यो जिन्दगी

दोहोरो मापदण्डको यो जिन्दगी

अन्य मुलुकको त म भन्न सक्दिनँ तर मेरो यो मुलुकका सन्दर्भमा भन्दैछु। यहाँ मान्छे दुइटा मुहार लिएर यो समाजमा बाचिरहेको छ। एक- जो ऊ देखिन्छ । या भनौं जस्तो ऊ देखिने प्रयत्न गर्छ। अर्को- बास्तबमै जस्तो ऊ छ । बाहिरी हेर्दा देखिँदा बडो सभ्य, शिष्टआचारी देखिनेहरु भित्र चै धुर्त र भ्रष्टाचारी भएको उदाहरण हाम्रै  वरिपरि नै प्रस्सस्तै छ ।

यो मुलुक बनेन भन्ने चिन्ता त सबैलाई छ तर किन बनेन भनेर सोच्नतिर कसैको ध्यान जादैन। सबै जना कतिबेला देशको श्रोत साधन लुट्न पाइन्छ भनेर बसेका छन्। नोट: यहाँ सबै भन्नाले ती ८०% नेपाली पर्छन् जो आफुलाई रास्ट्रवादी र सभ्य नागरिक भन्न लालायित हुन्छन्।

मैले बाचेको समय अचम्म किसिमको छ। यहाँ सबैलाई मुलुक सपृएको हेर्न/देख्न मन चह तर उनिहरु नै यो देशलाई लुट्न छोड्नैनन। अचम्म त यो छ कि कसैले "म आफ्नो इमान्दारीका साथ आफ्नो पसिनाको कमाइ मात्रै खान्छु, देश लुट्दिन" भनेर भन्यो भने त्यो मनुवा त लाटो ठहरिन्छ। कठै बरा ! पात्र बन्छ।

हैन हामी आखिर कस्तो समयमा बाचिरहेका छौ ? हामी हाम्रा छोराछोरीलाई इमान्दारी, सत्यता र पसिनाको कमाइमा बिश्वास गर्नुपर्छ भन्दै सिकाउछौ तर के आफू अभिभाभक भएर त्यो मार्गमा खुद हिड्न सकेका छौ ? आफ्नो छातिमा हात राखेर के हामी भन्न सक्छौं कि - "मैले मेरो जीवनमा जेजती कमाएको छु, त्यो मेरा इमान्दारीता र मेहनतको कमाइ हो" भनेर ? जो राज्यको साधन श्रोतको अधिकतम दुरुपयोग गरि आफ्नो महल खडा गर्छ, श्रीसम्पती जोड्छ, तलदेखि माथीसम्मै सेट्टिङ्ग मिलाएर भ्रस्टाचार गर्छ, जो  म सरकारी कर्मचारी हु त भन्छ तर सरकारप्रति कहिल्यै बफादार हुँदैन। उनिहरुकै इज्जत हुन्छ यो समाजमा। बडो दुख लाग्दो कुरा छ। सबैलाई थाहा छ यो समाजमा कि- कुन ब्याक्ती आफ्नो मेहनत पसीनाले धनाढ्य भएको हो ? र कुन चै भ्रस्टाचार गर्दै मालामाल भएको हो ? सबैलाई थाहा छ। तपनी समाज उनिहरुप्रती नै नतमस्तक छ। परिवार नातागोता इस्टमित्रहरु पनि "वा वा" भन्दिन्छन त्यस्ताहरुको जीवन शैली प्रती। बडो खेद छ यो समाज्प्रती मेरो। फेरी नैतिकताको पाठ सिकाउने तिनिहरु नै हुन्छन प्रायः जोजसले आफ्नो जिबनभर नैतिकता भन्ने बुझेनन्/जानेनन। मलाई अचम्म त यो कुरामा लाग्छ कि जब तिनीहरुका छोराछोरी अलि बुझ्ने हुन्छन्। आफ्ना अभिभाभक कति भ्रष्ट कर्म गरेर यो जिबन्शैलीमा बस्छन् भन्ने बुझ्छन् त्यस दिन देखि ती अभिभाभकले आफ्ना छोराछोरीसङ्ग कसरी आखा जुधाउदा हुन् ?

यो समयले मलाई पनि लाटो हैन बाठो बन्न बाध्य तुल्याउदै छ ।

Wednesday, February 8, 2017

अन्तरास्ट्रिय राजनिती सम्बन्धी मेरा केही लेख हरु:


     अन्तरास्ट्रिय विषय सम्बन्धी मेरा केही लेखहरु:


१. World Politics: A Dirty game -

२. के चन्द्र धरातलमा मान्छे पुगेकै छ ? - पुगेको छैन
Link..>> http://niraksharniraula.blogspot.com/2016/11/the-conspiracy-theory-about-next.html?m=1

३..अमेरिका: यौटा धुर्त खेलाडी
http://niraksharniraula.blogspot.com/2016/11/the-conspiracy-theory-about-next.html?m=1

४. ट्रम्पलाई हेर्ने मेरो आफ्नै चस्मा
Link..>> http://niraksharniraula.blogspot.com/2016/11/donald-trump.html?m=1

५. धर्म: कति भ्रम कति यथार्थ ?
Link...>> http://niraksharniraula.blogspot.com/2016/09/blog-post_78.html?m=1

६. जोजो शाकाहारी छन् ती सबै मान्साहारी हुन्
Link...>> http://niraksharniraula.blogspot.com/2016/08/blog-post_96.html?m=1


मेरा थप लेखहरु पढ्न यो लिन्कमा जानुहोस>>http://niraksharniraula.blogspot.com/search/label/छड्के%20आँखो%3A%20बैचारिक%20स्तम्भ?m=1

Saturday, February 4, 2017

लेख्दै जाँदा......

लेख्दै जाँदा......

जिबनलाई यसो फर्केर हेर्दैछु आज। हुन त यसरी आफ्नै ईतिहास पल्टाएको घटना कम्सेकम मेरा निम्ति नयाँ होइन। तर के भने आज जुन विषयका बारेमा जुन पाटोलाई लिएर म मेरो इतिहास पल्टाउदै छु यो चै नयाँ हो।

मैले सम्झिने उमेरदेखि आजसम्म मेरो सम्पर्कमा आएका (मैले चिनेका) वरिपरिकाहरुले कति जनाले आत्महत्याको बाटो रोजे ? यसो सम्झिदै छु- म।

लिस्ट बनाउदा यती पुग्यो।

१.. आज भन्दा चारपाँच बर्ष अघि मेरो गाउकी यौटी १७ बर्षकि बुनुले आत्महत्या गरी।

२... आजभन्दा नौ बर्ष अघि हुनुपर्छ, म त्यति बेला भैरहवामा पढ्थे। त्यस बेला हाम्रो छिमेकी आन्टीले आफ्ना पाँच बर्ष र आठ बर्षकि दुई छोरीमाथीसगै आफ्नो शरिरमा मट्टीतेल छर्केर यो संसारबाट बिदा भइन।

३.. आज भन्दा ३ बर्ष अघि हुनुपर्छ, छिमेकका एक भाइ जो SLC दिनेवाला थिए, तिनले आत्महत्या गरे।

४... दुई बर्षअघि पल्लो घरका छिमेकी खत्री  अङ्कलले पनि बिष सेवन गरि आफ्नो इहलिला समाप्त गरे।

५.. त्यसै साल प्रायः म सामान किन्न गैरहने पसलका ६० वार्षिय अङ्कलले आत्महत्या गरे।

६.. दुइतिन बर्षअघि हाम्रो क्याम्पसकै एउटा दाईले आफैले जीवन सिद्याए।

७... आजै मात्र पनि मेरा एक 'फेसबुके मित्र' को दुखद खबर सुनियो।

मैले आजसम्म बाचेको समय खासै धेरै हैन- कमसेकम नेपालकै औसत आयु हेर्ने हो भने पनि। नाजाने आगे यो लिस्ट बढ्दै कति नम्बरसम्म जाने हो ? यो लिस्ट यत्तिकैमा रोक्कियो भन्ने अपेक्षा हो।

बिश्व स्वास्थ सङ्गठन WHO को पछिल्लो रीपोर्टले भन्छ- "बिश्वभर प्रत्येक बर्ष दस लाख जनाले आत्यहत्या गर्छन् ।"
यसो भन्नुको अर्थ हरेक दिन २,७४० जनाले आत्महत्या गरेको ठहर्छ।
नेपालकै डाटाबेस हेर्ने हो भने सन् २०१६ मा WHO ले नेपाल सम्बन्धि गरेको एक अध्यन रीपोर्टको निस्कर्स छ- "नेपालमा त्यो बर्ष ६,४८० जनाले आत्महत्या गरे ।" यसको अर्थ नेपालमै मात्र पनि हरेक दिन १८ जना (खासमा १७.८ जना हुन्छ हिसाब गर्दा) ले आत्महत्या गर्दा रहेछन्। आत्महत्याको दर बिश्वमै बढ्दै गएकाले नेपालमा पनि बढ्दै गएको हुनुपर्छ।

नेपाल जस्तो सानो मुलुकमा दिनमै १८ जनाले आत्महत्या गर्दा रहेछन् भन्ने कुरो थाहा पाएदेखी म अचम्ममा छु। खासमस यो डाटाले प्रत्येक नेपालीलाई झस्काउनु पर्ने हो, तर दुर्भाग्य कसैलाई झस्काएको देखिदैन। आत्महत्या गरेर जसले इहलिला समाप्त गरेर गए तिनका आफ्ना आफन्त नातेदारहरु पनि आत्महत्या के हो ? यो किन हुन्छ ? यसको रोकथामका निम्ति छल्फल गरेको भेटिदैन। राजनितीका अनेक गफ छाटेर दिन कटाउने मेरो समाजले स्वस्थ्य र सुखी समाज निर्माणका निम्ति मैले पनि कै गर्नुपर्छ भन्ने सोच्दैन। धेरै ठुलठुला पहाड चड्नुपर्ने कुरा पनि छैन यहाँ । बस्  अलिअली पढेलेखेका र समाज बुझेकाहरुले आफ्नो साथिसर्कल र आफ्नै घरमा मात्रै पनि बुझ्न/ बुझाउन सके भने हजारौं मुटुहरुलाई रोकिनबाट जोगाउन सकिन्छ। लाखौं धड्कन 'धड्काइरहन' सकिन्छ।

आत्महत्या गर्नु भनेको यौटा मुटुलाई धड्किनबाट रोक्नु हो। तर बुझ्नै पर्ने कुरा के छ भने त्यो यौटा मुटु धड्किनु भनेको 'फगत यौटा मुटु धड्किनु' मात्रै हैन। त्यो यौटा धड्कनलाई हेर्दै सयौं हजारौं मुटुहरु धड्किरहेका हुन्छन्।
ती एक जोडा आँखा चलमलाइरहनु भनेको सयौं हजारौं जिन्दगी चलमलाइरहनु हो। बस् मान्छेले यत्ती कुरो बुझिदिए कयौं जिबनहरुले 'जीवन' भेट्थे। कयौं ओठहरुले मीठो मुस्कान भेट्थे।

उहिले मुक्तक लेख्न सिक्दाको समयको एक मुक्तक सम्झिदै छु म यहाँ -

"म गर्छु गर्छु, गरेरै छाड्छु" भन्ने यस्तो दम चाहिन्छ
मान्छेलाई 'मान्छे' बन्न यत्ती आँट कमसेकम चाहिन्छ
यहाँ हजारौं लाखौँ मनहरू यस्तरी धुम्म बाँचिरहेछन्
मानौँ तिनिहरूलाई त मुस्कुराउन पनि रकम चाहिन्छ ॥



म यसरी सोच्दछु- यहाँ बाच्नु मात्र पनि जित्नु हो।

जीवन मुस्कुराउनु र धुम्मिनुमा पनि मान्छेको निजि सोच जिम्मेवार हुँदा रहेछन्। मैले झुपडीमा जिन्दगी मुस्कुराएको देखेको छु। आलिसान महलमा जिन्दगी तड्पिएको देखेको छु। मुटुमा हजार भालाहरुले घोच्दा समेत "ऐया" नभन्नेहरु हाम्रै वरिपरि हुन्छन्। यौटा कमिलाले चिल्दा "मरे मरे" भन्दै बिलाप गर्नेहरु पनि नभएका होइनन् । सबै यतै छन् ।
बस् "हामी कता कुन समुहमा पर्छौ ?" भन्ने सवाल अहम छ।

आत्महत्या गर्ने ब्याक्तिले उसको मृत्युपछि केबल एक मिनेटमात्र पनि अाँखा खोलेर देख्न सक्ने हुन्थ्यो भने मेरो बिस्वास छ ती सम्पुर्ण मृतकहरु "हैट ! मलाई माया गर्ने मनहरु यतिका धेरै रहेछन्" भन्दै फर्किने थिए। तर यस्तो सुबिधा हुँदैन-यो जिन्दगिका सवालमा।

लेख्दै जाँदा आज म यसरी ब्लगमै पोखिएछु। धेरैपछी आज म पोखीएँ- आफ्नो अमुल्य जिन्दगी पोखाउनेहरुको नाममा।

......

२०७३ माघ २२
धुम्बाराही ।

Friday, January 6, 2017

गजल बाचन - घर सम्झिएर त्यो गाउँ सम्झिएर

गजल बाचन
"घर सम्झिएर त्यो गाउँ सम्झिएर"




छन्द कविता- छाडेर आफ्नै घर

कविता - 'छाडेर आफ्नै घर'
शार्दुलबीक्रीडित छन्द - SSS IIS ISI IIS SSI SSI S

                      छाडेर आफ्नै घर

राेएथेँ यसरी, म के भनुँ अहो ! राखेँ यहाँ पत्थर
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर ॥
सासै यो कसरी, चलाउनु हरे ! चल्दैन केही गरि
झार्दै आँसु ल हेर गुड नै छाडेर आयो चरी ॥१॥

खोज्दै पो छ कि त्यो, पहाड झरना, त्यो देउराली पनि
भन्दो हो निठुरी रहेछ दुनियाँ, बिर्स्यो मलाई अनी ॥
माटोको महिमा, म के भनुँ छ यो, कस्तो गढेको यहाँ
यस्तो लाग्छ हिँडे छु त्यस स्थलमै, धड्कन् भुलेर त्यहाँ ॥२॥

माताको मन औं, पिता पनि त्यहीँ, रोए थियौँ धर् धरी
भुल्नै सक्दिनँ कै, गरे पनि अझै, ताजै छ अाँखा भरी॥
सारा जीवन यो, बिताउन सँगै, खोजेर पाइन्छ र
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर  ॥३॥ 

खण्ड काब्यको एक अंश-

खण्ड काब्यको एक अंश-

झ्याउरे लय
३ २ ३ २ ३ ३

खण्ड काब्यको एक अंश-

सक्दिनँ सोच्नै,  कसरी भयो, यी सारा घटना॥
खुलेर भन, ए मेरा भाइ, बिन्ती नढाँटन ॥

के सोची तैंले, निर्णय गरिस्, यस्तो यो मोडमा ॥
गैगयो ब्यर्थै, जिन्दगी तेरो प्रेमको होडमा ॥

हजारौं कुरा, होला त्यो प्रेम, सर्वश्व हुँदैन ॥
अभाव दु:ख, पीडामा कैले, प्रेमले छुदैन ॥

जिन्दगी मात्र, जिन्दगी हैन, सुनौलो मौका हो ॥
मिलाउन जाने, एक् दुई रन् हैन, चौका र छक्का हो ॥

पढ्नुको अर्थ, कै हैन अरु, मात्र सोच फेर्नु हो ॥
एक् तर्फी हैन, सब् तिरबाट, जिन्दगी हेर्नू हो ॥

सपना सारा, फुटेर गए, ती तिम्रा पिताको ॥
भएनन् कुनै, सपना पूरा, उनले चिताको ॥

घर हैन त्यो त, देख्दैछु म त, दु:खको झुपडी ॥
त्यसैमा थपीस्, बुहारी तैंले, बिग्रेछ खोपडी ॥


निरक्षर निरौला  

Wednesday, January 4, 2017

गजल बाचन


गजल बाचन

१.... कस्तो कस्तो चिन्ता हरबखत मलाई रहन्छ
२ ....घडी हुन्छ यौटा, कला हुन्छ यौटा