यहाँ सबै मान्छेहरू एकनास भएका छन् ॥
तर मान्छे ? ...मान्छे नभएर लास भएका छन् ॥
बाँच्नका निम्ति कतिसम्म प्रयास भएका छन् ॥
ती सबै लोप भएका छन्, ह्रास भएका छन् ॥
कस्ताकस्ता मूर्ख पनि कालिदास भएका छन् ॥
गजल
प्यासमा उभिएर अनि भोकमा उभिएर ॥
सालिक रोइरहेछ हेर, चोकमा उभिएर ॥
तिमी मान या नमान यथार्थ यही नै हो-
सहिद बुख्याँचा भएछ-यो लोकमा उभिएर ॥
रगत सुम्पिँदा पनि मैले किन देश 'देश' बनेन ?
ऊ सोच्दैछ-आफ्नै मृत्युको शोकमा उभिएर ॥
गङ्गालालहरू मलाई यस्तो भन्दै सम्झाउछ्न-
ए भाइ नमर्नु है, राष्ट्रवादको झोकमा उभिएर ॥
'हामी नै मुर्ख हौं' सहिदहरूले यस्तो सार निकाले-
शोध-खोज र बिश्लेषण सबथोकमा उभिएर ॥
- शंकर निरौला
गजल
यो सरकार यसरी मस्तसँग घुरिरहेछ ॥
लाग्छ अझै उ: मीठो सपना कुरिरहेछ ॥
केही लछारपाटो लागेन, यहाँबाट पनि
अरुजस्तै यहाँको फगत चुरिफुरी रहेछ ॥
ढुङ्गो बरू पग्लिन्छ, जनताको दु:ख देख्दा
तर महाशयको मन कस्तो निष्ठुरी रहेछ ॥
भन म कसरी चुप बिसिरहुँ, यी सारा देखेर ?
कोही भोकभोकै मर्छ कोही भने हसुरिरहेछ ॥
वायु भएर स्थिर, किन रहन सक्दैन कहिल्यै ?
थाहा भो राष्ट्रवाद भन्ने कुरो अाँधिहुरी रहेछ ॥
कसैकसैलाई यो ब्रह्मज्ञान भयो होला अब
उखान- टुक्का र यथार्थमा ठूलो दुरी रहेछ ॥
- शंकर निराैला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
गजल
अौँसी रात छ तर म जुन देखिरा' छु ॥
तिम्रो प्रेममा यस्तो म गुण देखिरा' छु ॥
तिमी भन्छौ यो मन, कहाँ देखिन्छ र !
त्यही मनमा मीठो म धुन देखिरा' छु ॥
यी मेरा अाँखा किन उत्सव मनाउछन ?
के भनौं खै केके कुन-कुन देखिरा' छु ॥
किन हौ हतार किन दौडधुप यस्तो ?
ढुङ्गा भन्दा बेकार म सुन देखिरा' छु ॥
पिउछौ.. आऊ पिऊ रस कविताको
तिम्रो हातको सराब म खुन देखिरा' छु ॥
- निरक्षर
गजल
काँडा भयो जिन्दगी फूलका कुरा गर्दै नगर ॥
रङ्गी- चङ्गी सजाउने तुलका कुरा गर्दै नगर ॥
प्रिय, तिमी र म खोलाका दुई किनार हौँ
किनार जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ॥
गल्ती गर्दैन कसले ? नजानेर गल्ती हुन्छ
जानीजानी गरिएका भुलका कुरा गर्दै नगर ॥
सम्भव भएमात्रै हो, मान्छेले प्रयास गर्ने
मरुभूमिमा पानीको मूलका कुरा गर्दै नगर ॥
भनिदैन संस्कार, त्यो देखिन्छ ब्यबहारमा
मसँग चाहिँ यस्तो गरि कुलका कुरा गर्दै नगर ॥
मलाई थाहा छ पिरतिमा हुनैपर्छ समर्पण
एकतर्फी समर्पणका 'रुल'का कुरा गर्दै नगर ॥
मेरा हजार सपना खरानी भएर राेएँ ॥
यी मेरा अाँखामा पानी भएर राेएँ ॥
को छ भन यहाँ, जुगजुग बाचिरहने ?
ओइलिएर जाने जवानी भएर राेएँ ॥
भो नसोध ए साथी, किन बहन्छ आसु
मनभित्र दु:खको खानी भएर राेएँ ॥
मोही लगिन उनैले, नौनी लगिन उनैले
ब्यर्थै म चाहिँ हेर मदानी भएर राेएँ ॥
जसले मारेर गई, एक्लो पारेर गई
दिलभित्र अझै उही नानी भएर राेएँ ॥