नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, January 28, 2020

के हो 'ब्रह्म-तत्व' ? त्यो कहाँ छ ?

          के हो 'ब्रह्म-तत्व' ? त्यो कहाँ छ ?

- प्रत्येक पदार्थमा अणु हुन्छन्। अणुको न्युक्लियस वरिपरि प्रोटोन र न्युट्रोन बिद्यमान छन् । प्रोटोन र न्युट्रोनलाई केन्द्रबिन्दु बनाएर इलेक्ट्रोन घुमिरहन्छ। अझै भित्र छिर्दा, प्रोटोन र न्युट्रोनहरु भित्र क्वार्क्स छन्। ती इलेक्ट्रोन र क्वार्क्सको ग्रुपलाई एउटा फिल्ड मान्न सकियो। कुनै फिल्डमा एनर्जी दिएपछी बल्ल पार्टिकल निर्माण हुन्छन। ब्रह्माण्डका सबै इलिमेन्ट्री पार्टिकल्स प्रकाशको फोटोनजस्तै शुरुमा त mass-less नै हुन्छन् तर higgs field अन्तर्गतका पार्टिकल्समा एनर्जी दिएपछी ती पार्टिकलमा mass पैदा हुन्छ। त्यो एनर्जीलाई नै स्टृङ्ग इनर्जी भन्छ quantum physics ले।  यस हिसाबले हेर्दा यस ब्रह्माण्डमा पदार्थको उत्पत्ति हुने प्रक्रियाको शुरु बिन्दु भनेको त्यो प्रकृया जहाँ mass-less particles मा स्टृङ्ग एनर्जी दिने/घुसाउने काम हुन्छ। यो त भो पदार्थ शुरुआत हुने प्रक्रिया।

 String theory ले शक्ति ४ किसिमका हुने बताउँछ।
1.Electromagnetism,
 2.Gravity,
3.Strong nuclear foce,
 4.Weak nuclear force ।

 Quantum physics ले String Theory मार्फत ४ किसिमका force हुन्छन् भनेर त भन्यो तर ती force कसले बनायो ?  समग्र string theory लाई कसले चलाउँछ ? त्यो string energy किन त्यस रुपमा छ ? भन्ने जस्ता यावत प्रश्नको उत्तर हालको बिज्ञान सङ्ग छैन।

त्यसको उत्तर खोज्न पूर्वमा फर्किनु पर्छ। पूर्व अर्थात अधात्मको भुमी। अध्यात्मसङ्ग छ त्यसको तर्क। अध्यात्म अर्थात् अहिलेको बुझ्ने भाषामा भन्दा धर्मको सार। जिस्ट तत्व। तर धर्म भन्ने बित्तिकै अहिलेको मान्छे हिन्दु, बौद्ध, मुस्लिम, इशाई, शिख आदी भन्ने बुझ्छ।

पस्चिमाहरुले परिभाषित गरेको 'रिलिजन' शब्दको समानान्तर शब्द 'सम्प्रदाय' हो, धर्म होईन। धर्मभित्र अनेक सम्प्रदाय हुन सक्छन तर एउटा सम्प्रदाय भित्र अनेक धर्म हुन सम्भव छैन।  धर्म र सम्प्रदायलाई एकै ठाउँमा राखेर गाजेमाजे पारेर बुझाईएको छ- हामीलाई। खैर, यो कुरा छाडौं अहिले।

 पूर्वमा ३३ कोटि देवताको प्रसङ्ग छ। ३३ कोटि अर्थात् ३३ करोड देवता। सृष्टिको उत्पती, रेखदेख र सम्हार गर्न ब्रह्मा बिष्णु र महेश्वर छन् भन्ने बुझाइन्छ। त्यसमा पनि महाबिष्णुबाट ब्रह्मा उत्पत्ति भएका, ब्रह्माबाट महेश्वर उत्पती भएका र फेरि उनै महेश्वरबाटै महाबिष्णुको उत्पत्ति भएको भनिन्छ। अर्थात् घुमीघुमी गोल चक्कर। अन्डा पैला कि कुखुरा भनेझैं। अब यो पङ्तिकारले यी यस्ता कुरा गरेपछि एकथरी बुरुक्क उफृनेछन् र यो पङ्तिकारलाई "हिन्दु धर्म बिरोधी-डलर खाने"सम्म भन्न तम्सिने छन्। त्यसैले शुरुआतमै यो स्पष्टीकरण दिइहालौ कि म हिन्दु धर्मावलम्बी नै हुँ र रहिरहनेछु। मेरा निम्ति मुश्लिम, इशाई, बौद्ध, जैन सबै केवल सम्प्रदाय हुन्। बस् सम्प्रदाय, धर्म होईन। हामीलाई पढाईएका धार्मिक ग्रन्थहरु इतिहास र कल्पना दुबै समेटिएका जानकारीमूलक दस्तावेज हुन् भन्ने लाग्छ मलाई। यहाँ 'दस्तावेज' भन्नाले हिन्दु, बौद्ध, मुश्लिम, इशाई, जैन आदि सबै सम्प्रदायका जानकारी दिने ग्रन्थ भन्ने बुझ्नुस, जुन अहिलेसम्म सम्हालेर राखिएको छ।  ती दस्तावेजका कयौं कुरा सत्यको नजिक हुन पनि सक्छन् नहुन पनि सक्छन्।  त्यसमा विवाद रहेन। एकक्षणलाई मानौं, ती दस्तावेज १००% सत्य नै थिए भने पनि तीनमा समयको लामो अन्तरालका कारण पुर्खाहरुले उनिहरुको आवश्यकता, सुरक्षा, र स्वार्थ अनुसार त्यो दस्तावेज परीमार्जित/बिकृत पार्दै  लगे र आजको 'धार्मिक ग्रन्थ' तैयार भएर आयो। त्यस कारण आज भनिएको धर्म ग्रन्थ(चाहे त्यो जुनसुकै सम्प्रदायको होस्) कति मात्रामा सत्य छ ? भन्ने कुरो बताउन असम्भव छ। त्यसो भए के गर्ने त ?

 कै नगर्ने 'लोजिक' लगाउने। कस्तो लोजिक ?
अध्यात्मले खोजेको 'ब्रह्म' तत्व एउटा मात्रै छ। त्यै सर्वेसर्वा शक्तिशाली र अनन्त छ। आत्मा बिज्ञानलाई आधार मान्दा त्यो 'परम-आत्मा' केवल एउटा मात्रै छ, जसबाट यो ब्रह्माण्डको उत्पत्ति, बिकास र सम्हार हुँदै आयो। भैरहेछ। ब्रह्मा-बिष्णु-महेश्वरलाई शक्तिका रुपमा मान्ने हो भने क्रमशः Generator, Operator and Destroyer इनर्जी भन्नू पर्ने हुन्छ। यो बढी बैज्ञानिक पनि ठहरिन्छ तर यी तीन इनर्जीले फरक फरक काम गर्नुपर्छ भनेर सिद्धान्त बनाइदिने शक्ति तत्व चै को हो ? हो त्यो चै 'महाशक्तिशाली' छ। हो त्यो चै 'ब्रह्म' तत्व हो। ब्रह्मा 'ब्रह्म'तत्व होईन। हिन्दुले त्यो शक्ति शिव, बिष्णु वा ब्रह्मा वा अर्को भन्ला। इशाईले एशु, मुश्लिमले अल्लाह  भन्ला।
 इशु दुईहजार बर्ष अघि मात्रै जन्मेका हुन् त्यसैले उनलाई परम ब्रह्म भन्नै मिल्दैन। मुश्लिमका पैगम्बर मुहम्मद छैटौं शताब्दिका हुन तसर्थ तिन्लाई पनि परम ब्रह्म भन्न सकिएन। "होईन ती त परम ब्रह्मका अवतार पो हुन्" भन्ने तर्क गर्न पनि सकियो। तर अवतार नै हुन् भने पनि त्यो 'परम ब्रह्म' तत्वलाई अवतार लिइरहनु पर्ने आवश्यक्ता के किन पर्‍यो ? जसको अनुमती बिना ब्रह्माण्डमा एउटा पत्ता पनि हल्लिन भनिन्छ त्यो महाशक्ति तत्वले अवतार लिएर काम गरीरहनु आवश्यक नै थिएन, छैन। तपाईंले भन्नू होला हिन्दुमा पनि त बिष्णुका १०/११ अवतार छन् भनेर। ती चै के ?
 हिन्दुका सन्दर्भको अवतार कथालाई पनि हामीले यही प्रश्न तर्क गरौं। जो सर्वेसर्वा छ उसलाई अवतार भै आइरहनु किन पर्‍यो ? यदी 'ब्रह्म' शक्ति अवतरित भै आइरहन्छन भने पनि
त्यसरी अवतरीत भै आइरहन उनलाई कसले अह्रायो ? बरु त्यो महाशक्ति चै 'ब्रम्ह' तत्व हो, जसले अवतरित भैरहन लगाउछ। त्यो शक्ति चै ब्रह्म हो जसले बिष्णुलाई अनेक युगमा अनेक अवतार गराउछ। जसले पैगम्बर इशु लगायतको रुप धारण गराएर अवतरीत गराउँँछ।

 यसो भनिरहदा हामीले के पनि भुल्नु हुन्न भने 'ब्रम्ह शक्ति' निर्वीकार, निराकार, अनन्त, अदृश्य, अव्यक्त छ। त्यसैले त्यो कुनै आकारमा वर्णन गर्न सम्भव छैन। शिव तत्व नै पर ब्रम्ह तत्व हो भने पनि हामीले घरघर मन्दिरमा पुज्ने  शिवको मुर्ती र पोस्टर जस्तो छैन त्तो महाशक्तिको स्वरुप। यी मुर्ती र पोस्टर त मान्छेका कल्पना र कलाको उपज न हुन्। मूर्ति पुज्ने, पोस्टर पुज्ने, मन्त्र जप्ने, भजन किर्तन गर्ने यी सब धर्म होईन सँस्कार हुन् । सस्कार समयक्रममा फेरबदल भैरहन्छ। अहिले हामी हिन्दु बौद इश्लाम इशाई शिख भनेर जे बुझाईएको छ त्यो त सस्कार मात्रै हो। सस्कार अर्थात साध्य हैन, साध्यसम्म पुग्ने माध्यम -साधन। यो साधन प्रकृयाका कृयाकलापलाई धर्म भनेर बुझ्ने कुरो हाँस्यास्पद छ। यो सँस्कार भन्दा माथी को छ ? कुन तत्वका लागि यो सँस्कार बनाईयो ? त्यता चै सोच्नुपर्छ धर्मकर्म गर्छु भन्ने मनुवाले। भेटिए जति सब्बै पदार्थमा string energy छ भनेर अबै पदार्थ पुज्दा पनि भयो तर असली energy त त्यस पदार्थको string हो। हो त्यसलाई पो बुझ्नुपर्छ। जान्नु पर्छ। मान्नुपर्छ। त्यसका निम्ति मन्दिर मस्जिद चैत्य गुम्दा गुरुद्वारा चर्च कुद्नु पर्दैन। ती आस्थाका धरोहर हुन्। सस्कारका रुप हुन्। सँस्कार सम्प्रदायको हुन्छ धर्मको हुन्न। सस्कार मान्नै हुँदैन भनेको पनि होइन तर सँस्कार परीवर्तन्शिल हुन्छ- सम्प्रदायको आवश्यकता र इक्षा अनुसार। सम्प्रदायको व्यबहार प्रक्रिया सस्कार हो जुन परीश्कृत परीमार्जित हुँदै जान्छ। जानुपर्छ।

हामीलाई सिकाईएको मूर्ति पुज्ने, पुजा आजा गर्ने, श्राद्द गर्ने, मन्त्र जप तप गर्ने यो चै के हो ? यी सब सस्कार हुन। हिन्दुका छुट्टै सस्कार छन्। मुश्लिमका छुट्टै सस्कार छन। कृश्चियन जैन बौद्ध मान्नेका छुट्टाछुट्टै सस्कार छन्। गहन चिन्तन मनन नगर्नेहरुका लागि ती सस्कार नै धर्म लाग्छ। सस्कार समय अनुसार परीवर्तन हुन्छ हुनै पर्छ। सस्कारको एक वाक्य अर्थ भनेकै समय अनुसार आवश्यक्ता पूर्ती गर्नका निम्ति गरीने व्यबहार हो।

जस्तो: उहिले मर्ने बेलामा हतारहतार आगनमा लगिन्थ्यो बिरामीलाई। आगनमा तुलसीको मोठनेर राखिन्थ्यो। तुलसीको बोटले अन्य बिरुवा भन्दा तुलनात्मक रुपमा बढी अक्सिजन दिन्छ। बिरामीलाई अक्सिजनको मात्रा पर्याप्त पुगोस भनेर तुलसीको मोठमा लाने सस्कार बस्यो। अब अहिले समय बदलियो। अहिलेको मान्छेले प्रक्रितीसङ्ग छेडछाड गरेर निक्कै रोगी भैसक्यो। अब उसलाई तुलसीको मोठको अक्सिजनले बचाउन सक्दैन। यही बुझेर अहिलेको मान्छे हतार हतार हस्पिटल लान्छ। हस्पिटलमा डाक्टरले सिलिन्डरको अक्सिजन चडाउछ। बचाउने प्रयत्न गर्छ। मर्न लागेको बिरामीलाई आगनको तुलसीमोठ छेउ राख्नुको सस्कारका पछि अरु तर्क पनि हुन सक्ला तर मैले देखेको तर्क यही हो।

नपत्याए अर्को उदाहरण हेरौ। पुजा होमादी गर्दा उहिले अनेकौ ब्राह्मण बोलाई मन्तजप हुन्थ्यो। अहिले मगङ्गी बढ्यो। एउटा पुजारी बोलाएर मन्त्रजप गर्छन। अलिपछी ब्राह्मण कार्य गर्ने कोहि भेटिने छैनन। त्यसबेला मन्त्रजप पढेको mp3 रेकर्ड गराएर बेलाबेलामा गित बजाए जस्तै बजाउनेछन र पुजापाठ गर्ने छन्।  यसरी सँस्कार परिवर्तन भैरहन्छ। सस्कार परीवर्तन भयो भनेर हताश निराश भैहाल्नु पर्ने कुनै आवश्यकता छैन। मान्छेले सस्कार छोडोस तर धर्म नछाडोस। धर्म साध्य हुनुपर्छ साधन होईन।

सस्कार धर्म होईन र धर्म सस्कार होईन। धर्म माथी छ। सस्कार तल। धर्मको उद्देश्य पूरा गर्न सस्कारको प्रयोग गर्नु पर्ने हो। तर मान्छे सस्कारमै अल्झेको छ कता धर्ममा उक्लिनु ? सस्कारलाई नै मान्छेले धर्म भनेकाले बिश्वमा धर्मका नाममा लडाई मनमुटाव शुरु भएको हो।

 तर धर्म परीवर्तन्शिल हुन्न। मान्छे हुनुको धर्म, मान्छे हुनुको कर्तब्य जुन सम्प्रदायको भए पनि एकै हुन्छ। श्रेणीक्रम आधारमा भन्दा सस्कार अध्यात्मको भर्‍याङ्गको तल्लो खुड्किलो हो भने धर्म माथिल्लो खुड्किलो। सस्कार धर्मको शुरुवाती बिन्दु हो अन्तिम होईन।
यता एउटा उदाहरण हेरौं। एउटा नातीको पुस्ताका लागि उसले हजुरबासम्मलाई मात्रै चिनेको बुझेको छ भने उसको बंशको सृष्टिकर्ता भनेको उसैको हजुरबा भए (उसका नजरमा)। तर हजुरबा भन्दा पर जाने हो भने जिजुबा थिएनन् होला ? अवश्य थिए र जिजुबाका पनि बा थिए। यसरी उनका पनि बा, फेरि उनका पनि बा गर्दैगर्दै शुरुआतका बा नै सृष्टिकर्ता हुन् त्यस बंशको। सबैभन्दा शुरुको सृष्टि तत्व मात्रै ब्रह्म हुन सक्छ जुन एउटा छ। त्यसपछिका सृष्टि भनेको त त्यो ब्रह्म तत्वको by product हो।

 निस्कर्श:
बिज्ञानको चश्मा लाएर हेर्दा  Quantum Physics अन्तर्गत अहिलेसम्म थाहा पाईएको smallest particle र त्यो particles लाई energy दिने energy नै हाम्रो अध्यात्मले खोजेको 'ब्रह्म- शक्ति' हो। बिज्ञाननले खोजेको सृष्टिको सिद्धान्त/फर्मुला पनि त्यही string energy नै हो। string energy बाट प्राप्त हुने Electromagnetism, Gravity force, Strong nuclear foce र Weak nuclear force को बिस्तारित रुप यो ब्रह्माण्ड हो र यहाँका सजिव भनिएका बस्तु हुन्। स्थुल रुपमा नाङ्गो आखाले हेर्दा हामीलाई निर्जिव लागेका पदार्थहरु नै टुक्राएर quantum level मा हेर्दा सजिव देखिन्छन। प्रोटोन-न्युट्रोनले एक अर्काको शक्ति exchange गरीरहने र इलेक्त्रोन चाहिँ न्युक्लियसको वरिपरि तीब्र गतीमा घुमिरहन्छ। त्यसरी घुम्नुलाई सजिव किन नभन्ने/नमान्ने ?

धार्मिक ग्रन्थमा भनिएको "ब्रह्म यत्र तत्र सर्वत्र छ" भन्नुको सही अर्थ यही हो भन्ने बुझ्न सकिन्छ। ब्रह्माण्डमा जहाँ केही छ त्यहा पार्टिकलका रुपमा string energy छ। जहाँ केही छैन जस्तो लाग्छ त्यहाँ पनि केही न केही छ। gravity, electromagnetism लगायतका शक्तिका रुपमा string energy छ सर्वत्र ब्याप्त छ। "ब्रह्म प्रत्येक प्राणी भित्रै छ" भन्नुको पनि अर्थ के रहेछ भने हाम्रो शरिरका smallest particle मा त्यही string energy को एक भाग छ। त्यसैले ब्रह्म खोज्न बाहिर धाउनु परेन। हुन त बाहिर जताततै string energy ब्याप्त छ (माथी उल्लेखित ४ शक्तिका रुपमा) त्यसैले बाहिर पनि ब्रह्म छ नहुने कुरो भएन।

त्यसो भए हामीलाई आजसम्म धर्मको नाममा सिकाईएको पूजा, अर्चना, मन्त्र, भजन, मूर्ती पोस्टर, भगवानकका कथा चै के हुन्  त ?

यी सब मान्छेलाई warm up गराउने कुरा मात्रै हुन्। अनि त्यो ब्रह्म तत्वसङ्ग साक्षात्कार गर्न के गर्ने त ?  कै नगर्ने। बस् शरिरका ७ चक्र जगाउने र string energy अन्तर्गतका यी ४ शक्ती: Electromagnetism, Gravity, Strong nuclear foce र Weak nuclear force लाई आफ्नै शरीरमा महसुस गर्ने। गर्न प्रयत्न गर्ने। हो यसैलाई हाम्रो पूर्विय दर्शनमा ध्यान भनिएको हो। ध्यान मार्फत जब मान्छेले आफुमा ती ४ string energy रहेको बोध गर्छ तब उसले ब्रह्मत्व प्राप्त गर्छ। ब्रह्मलाई बुझ्नु, महसुस गर्नु नै त ब्रह्मत्व प्राप्त हुनु हो। यस अवस्थालाई पूर्वीय अध्यात्म जगतमा 'इश्वरसङ्गको साक्षात्कार' भनेर भनियो।

यत्ती कुरा गरीसकेपछी प्रश्न उठ्छ पङ्तिकार आस्तिक कि नास्तिक ?
- आस्तिक। किन - किनकी ऊ ब्रह्म तत्व string energy मा बिश्वास गर्छ जुन energy सर्वत्र ब्याप्त छ। जसको शक्ति द्वारा ब्रह्माण्डको उत्पत्ति शुरु हुन्छ। string energy नै 'ब्रह्म' तत्व हो भनेर आस्था राख्ने भएकाले आस्तिक।

अनि धार्मिक कि अधार्मिक ?
- धार्मिक। कारण उसले धर्मको परिभाषा यस्तो पाएको छ-

धृति: क्षमा दमोस्तेयं शौचमिन्द्रियनिग्रह:।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।

अर्थ:
 (धृति) सुख र दुखमा एकनाश मनस्थिति बनाउनु
(क्षमा) सम्भब भएसम्म सहन गरेर समस्याको समाधान गर्नु
 (दम) मनलाई आफ्नो वशमा राख्नु
(अस्तेय) अरुको हक मा हस्तक्षेप नगर्नु
(शौच) शरीरलाई शुद्धराख्नु
 (इन्द्रिय निग्रह) इन्द्रियहरुलाई आफ्नो निग्रहमा राख्नु
(धी:) ज्ञान लिनु र बुध्धि बढाउनेप्रयत्न गर्नु
(सत्य) साचोब्यबहार गर्नु
(विद्या) सच्चा ज्ञान लिनु
(अक्रोध) नरिसाउनु ।

(यो मेरो निजि विचार हो, यसमा तपाईं सहमत हुनै पर्छ भन्ने छैन तर तर्क गर्न भने अवश्य पाइन्छ। माथी उल्लेखित तथ्य तथ्याङ्कमा गल्ती भए मलाई सच्याउनु होला। उल्लेखित तथ्यमा भन्दा सारमा जोड हो -मेरो।)

1 comment:

  1. शक्ति रेग्मीOctober 19, 2022 at 6:10 AM

    लेख राम्राे छ । थप अध्ययन र अनुसन्धान गर्दै अझै राम्रा लेखहरू लेखेकाे हेर्न र पढ्न पाइयाेस् । सफलताका लागि शुभकामना ।।

    ReplyDelete