'चौथो नम्बरवालाहरुको देश'
कथा
मिती: १४ अगष्ठ, सन् २०६७
समय: रातको साढे नौ बजे (अनुमानित)
स्थान: काठमाडौं नाम गरेको शहरको एक घरको एक कोठा
(हजुरबा र नाती ओछ्यानमा ढल्किएका छन्। अघी नै देखी निदाउन खोजेको नातीलाई किनकिन निन्द्रै लागिरहेको छैन- आज। हजुरबा पनि निदाउन असफल प्रयास गर्दैछन। )
नाती: हेर्नुस् न हजुरबा ! मलाई निन्द्रै लागेको छैन आज। खै..... किन हो ?
हजुरबा: निन्द्रै लागेको छैन ? के भन्छ यो ? अरु बेला त ओछ्यानमा ढल्किन पा'को छैन घुर्न थाल्थीस् तँ । आज चै के भएछ तँलाई ?
नाती: खै......... ?
हजुरबा: खोइ ज्वरो त आको छैन नि ? (नातीको निधार छाम्दै) छैन छैन। ज्वरो स्वरो कै आ'को छैन। चुप लागेर सुत। चाडै निन्द्रा आउछ अब।
नाती: हजुरबा ! अस्ती एउटा कथा भन्छु भन्नु' भाथ्यो नि मलाई.......... त्यो कथा भन्नु न !
हजुरबा: कुन कथा भन्छ यो फेरी ? चुप लागेर सुत, भोली भनुम्ला बरु।
नाती: नाइ के नाइ ! भन्नु न त्यही क्या 'चोरहरुको राज्यमा डाँका' भन्ने वाला। अस्ती पनि अर्को दिन सुनाउँछु भन्नु भा'थ्यो तर सुनाउनु भएन।
हजुरबा: 'चोरहरुको राज्यमा डाँका' ? .......... (केही सम्झिएझै) ए.... ए....... त्यो ? ल ठीक छ आज म तलाई त्यो कथा भन्छु। तर....... नाती ! त्यो त कथा भन्दा पनि नाटक जस्तो पो छ त ! नौटङ्की जस्तो।
नाती: नाटक जस्तो ? नौटङ्की जस्तो ? हजुरबा! के हो यो नौटङ्की भनेको ?
हजुरबा: "नौटङ्की" भनेको नौटङ्की नै हो। दश या एघार टङ्की होइन।
नाती: मत्लब ?
हजुरबा: मत्लब.......... पत्याउनै मुस्किल जस्तो नाटक। एकदमै ठुलो मञ्चमा मञ्चन गरिएको नाटक।
नाती: कती ठुलो मञ्चमा हजुरबा ? हाम्रो स्कुलको मञ्च भन्दा नि ठुलो ?
हजुरबा: हा हा हा ! ....... हँसाउँछ केटाले। नाती ! त्यो एकदमै ठुलो मञ्च थियो। लगभग एक लाख सड्चालिस हजार एक सय एकासी बर्ग किमी (1,47,181 km²) क्षेत्रफलमा फैलिएको बिशाल मञ्चमा प्रहसन गरिएको नाटक। सुन्नेलाई पनि पत्याउन गाह्रो पर्ने र भन्नेलाई पनि भन्न अफ्ठ्यारो पर्ने खालको नाटक जस्तै एउटा रोचक कथा। रमाइलो कथा। हाँस उठ्दो कथा।
नाती: आहा ! खै छिटो भन्नु न त .... !
हजुरबा: एका.........देशमा एउटा देश थियो। त्यो देश आँफैमा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, अखण्ड र लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिलाई अङगिकार गरेको एउटा नमुना देश थियो। उदाहरणिय देश थियो। त्यो देशको नाम पनि 'नेपाल' थियो।
नाती: नेपाल....... ? (''नेपाल" भनेको सुन्दा नातीलाई अचम्म लाग्छ)
हजुरबा: हो, त्यो देशको नाम पनि नेपाल नै थियो। त्यहाका जनताहरु आ-आफ्नै किसिमले जिन्दगी चलाइरहेका थिए। समुहमा बिभाजन गरेर भन्नु पर्दा त्यो देशमा मोटामोटी ४ किसिमका नागरिक थिए-
१..... काम गरी खाने, जो आफ्नै काम गर्नमा ब्यस्त रहन्थे,
२ ..... काम गरेर खान नसक्ने मागी खाने, जो कसले पेट भरिदेला भनेर माग्दै हिड्थे
३...... काम गर्ने शक्ती पनि नभएका र मागेर पनि खान नसक्ने, बरु भोकभोकै मर्न तैयार हुने तर आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न नसक्ने/नजान्ने
४..... काम गर्ने शक्ती भएका तर काम गर्न जाँगर नचलाऊने, मागेर खान आफ्नो 'स्व'ले नदिने र भोकै मर्न पनि नसक्ने
चौथो अथवा अन्तिम नम्बरकाहरु चै आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न हमेशा तैयार रहन्थे। तिनिहरुको पेशा भनेकै 'चोर्नु' थियो। यी चौथो नम्बरवालाहरुमा नैतीकता छदै थिएन भनेर चै भन्नु पाप हुनेछ। किनकी यीनिहरुमा 'चोर' हुनु तर डाँका चै कहिल्यै नहुनु भन्ने असल भावना ब्याप्त थियो। त्यही भावनाको मुल्यमान्यता अनुसार ती चौथो नम्बरवालाहरु हिड्थे।
ती चौथो नम्बरवालाहरु (अन्तिमका) मान्छेहरुलाई अचेल 'चोर' भन्छन्। तर त्यती बेला त्यो देशमा तिनिहरुलाई "नेता ज्यु" भनेर सम्बोधन गरिन्थ्यो। खुब 'भाउ' दीइन्थ्यो। नेता ज्युहरु पनि जनताले दिएको 'भाउ' खुशी हुँदै लिन्थे। त्यो 'भाउ' लाई बडो जतन गरेर कोटको खल्तिमा सुरक्षित राख्थे।
देशलाई ब्यबस्थित पाराले चलाऊनका लागि कोही न कोही त चाहिन्छ नै। शासन चलाऊने एउटा मान्छे/समुहको खोजी भो। देशै भरी खोजी अभियान चलाइयो। यसरी खोज्दै जादा ती चौथो नम्बरवालहरु चै फुर्सदिला र काम नभै बसिरहेका भेटिए। त्यसैले तिन्तिघ्रे पनि भएको र काम पनि नगरि फुर्सदमा बसेको एउटा समुह मात्रै थियो/थिए- त्यही चौथो नम्बरवालाहरु। त्यसैले ती चौथो नम्बरवाला नागरिकहरुलाई शासन हस्तान्तरण गर्ने निधो भो। यसरी देश चलाऊने जिम्मा ती चौथो नम्बरवालाहरुले पाए।
नाती: (अचम्म मान्दै) चौथो नम्बरवालाहरुलाई ? मत्लब चोरहरुलाई पो देश जिम्मा लगाको ?
हजुरबा: त्यस्तै भन्दा हुन्छ। बुझ्दा हुन्छ। चौथो नम्बरवालाहरु = चोरहरु । हुन त त्यो देशमा राम्रा मान्छे हुँदै नभएका होइनन, थिए तर पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरु आ-आफ्नै कर्ममा ब्यस्त थिए। यिनिहरुलाई राजनीति र सत्ता सङ्ग कै लिनु दिनु थिएन।
एक नम्बरवलाहरुलाई कसरी पेट पाल्नु भन्ने ध्याउन्न हुन्थ्यो। उनुहरु यो बाहेक अरु सोच्नै भ्याउदैनथे। त्यसैले यिनिहरुलाई फुर्सद हुने कुरै भएन।
दुई नम्बरवालाहरु आफु काम गर्न नसक्ने भएकाले कसले पेट भरिदेला भनेर माग्न डुल्दै फुर्सद थिएन।
तेश्रो नम्बरवालाहरु बडो नैतीकवान र स्वाभिमानी भएकाले त्यस्ताहरु राजनीति जस्तो फोहोरी खेलमा छिर्ने कुरै भएन।
तर देश त चलाऊनु छ। कोही न कोही त चाहियो नि देश चलाऊने। त्यसैले ती चौथो नम्बरवालाहरु फुर्सदिला र चलाख पनि भएकाले कुटनिती/राजनीति तिनिहरु जती राम्रो तरिकाले अरुले 'ह्यान्डल' गर्नै सक्दैनन भन्ने निस्कर्श निकालियो। फेरी, पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरुलाई राजनीतिको र पनि आउँदैनथ्यो। रुची पनि थिएन भनौ। तसर्थ चाहे पनि नचाहे पनि ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिनु पर्ने भो।
तर ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिने बेलामा हरेक पल्ट "देश र जनताको भलो गर्छु" भनेर सपत खानै पर्ने कडा नियम जारी गरियो। त्यहा देखी उपरान्त जो-जो शासन सत्तामा जान्थे, उनिहरुले "देश र जनताको भलो गर्छु" भन्दै सपत खान्थे।
नाती: हजुरबा ! त्यो सपत भनेको कस्तो हुन्छ ? त्यो खाएपछी नराम्रा मान्छे पनि राम्रा मान्छे बन्छ हो ?
मलाई पनि ल्याइदिनु न ल ! एक प्याकेट सपत !
हजुरबा "हा हा हा" गर्दै कोठा नै थर्किने गरी हाँस्छन........ हासिरहन्छन- लग्भग दश सेकेण्डजती।
नातीले आजसम्म नाजाने कती प्रश्न सोध्यो सोध्यो। गन्दै जाने नै हो भने पनि लाख भन्दा बढी प्रश्नहरु सोधिएका होलान। नातीको नजरमा यो संसारमा सबै भन्दा जान्ने मान्छे- तीनै हजुरबा थिए। हुन पनि हो, हजुरबा "देश खाएर शेष भएका " मान्छे थिए। (माफ गर्नु होला खासमा- देश खाएर शेष भएका मान्छेहरुलाई हजुरबाले नजिकबाट जानेका थिए चै भन्न् खोजिएको हो)।
नातीले हजुरबासङ्ग सोध्न हुने /नहुने सारा कुरा सोध्यो। एक पल्ट "मान्छे कसरी जन्मिन्छ ?" भनेर आफ्नो ड्याडीलाई सोधेको थियो। ड्याडीले "मलाई थाहा छैन ममिलाई सोध" भन्दै पन्छिएका थिए। त्यसपछी ममिलाई गएर सोध्दा "छाडा ! यस्तो कुरा पनि सोध्छन ?" भनेर झापारेकी थीइन। त्यो बेला देखी उसले ममी र ड्याडीलाई कै सोधेन। हजुरबालाई सोध्यो बरु। हजुरबाले त हरेक प्रश्नहरुको उतर बडो सभ्य र केटाकेटिले सजिलै बुझ्ने गरी बुझाईदिनु हुन्थ्यो। उदाहरणका लागि त्यही प्रश्नलाई लिदा हुँन्छ। "मान्छे कसरी जन्मिन्छ ?" भन्ने प्रश्नको उतर हजुरबाले यसरी यती सभ्य भाषाले दिनु भो कि त्यो कुनै "छाडा कुरा" हो भन्ने नै लागेन। त्यसैले ऊ सधैं हजुरबाको साथमै हुन्थ्यो। स्कुल छुट्टी भएका दिन घरमा हुँदा "हजुरबा-नाती" लग्भग चौबिसै घण्टा सँगसँगै हुन्थे।
हजुरबालाई एक दिनमै डेढ दुई सय प्रश्न सोध्नु त नातीको दैनिकी नै हुन्थ्यो। प्रमाणका लागि यही कथालाई लिदा हुन्छ। यही कथामा पन्ध्र बीस वटा प्रश्न त सोधि भ्याउला जस्तो छ।
तर फेरी पनि .......... नातीले सोधेको कुनै पनि प्रश्न सुनेर हजुरबा यसरी हाँसेका थिएनन् -जसरी आज अहिले हाँसे। नातीलाई हजुरबाको यस्तो हाँसो रामायाण सिरियलमा रावण हाँसे जत्तिकै लाग्यो।
नातीको हरेक प्रश्नको जवाफ सटिक र सरल भाषामा दिनु हजुरबाको अघोसित धर्म हो भन्ने लागेको थियो- नातीलाई। तर आज चै किन हजुरबा यसरी अट्टहास हासेका हुन् ? नातीले सोच्नै सकेन। अस्ती नातीले हजुरबालाई हम्जाएगाको 'जोक' सुनाएको थियो। त्यत्ती बेला चै यी हजुरबा यसै गरी हाँसेका थिए। नातिको कलिलो बुद्दिले कलिलो अनुमान लगायो- शायद हजुरबालाई त्यही जोक याद आएको हुनुपर्छ।
हजुरबा: नाती यो सपत भन्ने कुरो किनेर किन्न पाइने जिनिस हैन। फेरी तँ त ज्ञानी मान्छे छस् । ठुलाले भनेको पनि मान्छस्। ओछ्यान पनि मुत्दैनस्। यती राम्रो मान्छेले किन खानु पर्यो सपत ?
हजुरबाले "तँ त ज्ञानी मान्छे छस्" भन्दा मिठो लाग्यो -नातीलाई। तर यो "ओछ्यान पनि मुत्दैनस्" चै नभनेको भए जाती हुन्थ्यो। "ओछ्यान पनि मुत्दैनस्" भन्ने वाक्य सुन्ने बित्तिकै नातीलाई दुई महिना अगाडिको एक घटना याद आयो जुन दिन उसले ओछ्यान मुतेको थियो। तर त्यती बेला हजुरबा तिर्थ घुम्न जाने भनेर तीन चार दिनका लागि जानु भा'को थियो। त्यसैले नातीले ओछ्यान मुतेको उनलाई थाहा नै भएन। नातीको ममी पनि जाती रहेछिन - यो कुरा हजुरबालाई बताइनछिन। नातीले मुसुक्क हाँस्यो र हजुरबाको 'तिर्थ भ्रमण'लाई धन्यवाद दियो।
नाती: मलाई हैन क्या हजुरबा ! हाम्रो क्लासका केटाहरुलाई ख्वाउनलाई हो। लास्ट बेन्चमा बस्ने जोह्नले मसङ्ग सधैं निहु खोज्छ, त्यसलाई एउटा सपत दिन्छु। माइकल पनि नराम्रो छ। सरले पढाईरहेका बेलामा नि एन्जेलालाई हेर्दै घुरिरहन्छ। त्यसलाई 'नि एउटा सपत दिन्छु।
हजुरबा: नाती ! सपत खाँदैमा कोइ मान्छे सुध्रिन्छ भन्ने हुँदैन। मान्छे सुध्रिने कि बिग्रिने भन्ने कुरा त मान्छे भित्रको 'मान्छे' मा भर पर्ने हो।
सपत नै खुवाए पनि त्यो जोह्न नसुध्रिने रैछ भनेर नाती अली खिन्न हुन्छ।
नाती: सपत खुवाए पनि नखुवाए पनि आखिर मान्छेलाई कै फरक पर्दैन भने ती चौथो नम्बरवालाहरुलाई सपत खुवाइरहनुको के अर्थ छ ?
हजुरबा: नाती ! सपत खुवाएपछी मान्छे सुध्रिन्छ कि भन्ने आशा रहन्छ। त्यती मात्रै हो।
नाती: अनी त्यो देशका चौथो नम्बरवालाहरु सुध्रिए त ?
हजुरबा: उनिहरुले सकेसम्म सुध्रेने प्रयास गरे। अथवा यसो भनौ हामीले देख्दा चै सुध्रिएको देखियो।
नाती: अनी.............. ?
हजुरबा: त्यसरी ती चौथो नम्बरवालाहरु "देश र जनताको भलो गर्छु" भन्दै उक्त राज्यको राज्य -ब्यबस्थालाई ब्यबस्थित रुपमा चलाऊन थाले। यसरी त्यो देश चल्दै गयो........ चल्दै गयो..........चल्दै गयो।
तर ................. समय एकनास ढङ्गले अगाडि बढीरहदैन। समयको यात्राामा थुप्रै उतारचढाव आइरहन्छ।
अनी एक दिन ती चौथो नम्बरवालाहरुबाटै चुनिएर गएको 'लोके' नाम धरेको एक ब्याक्तीले तिनै चौथो नम्बरवालाहरुसँग निहु खोज्न थाल्यो। डाँका शैलीमा त्यो लोकेले देशै भरी नै 'डाँकागिरी' गर्न थाल्यो। त्यसले चौथो नम्बरवालाहरुलाई छानीछानी प्रतिसोधपूर्ण ढंगले मुद्दा लगाउने र जेलमा जाकिदिने 'मास्टर प्लान' बनायो। उसको 'मास्टर प्लान' अरुले बुझ्दासम्म त कतिलाई खोरमा जाकिसकेको थियो।
अब के गर्ने भनेर देशै भरी ठुलो खैलाबैला मच्चियो। भागारेभाग भयो। एक, दुई र तीन नम्बरकालाई त कै लिनु दिनु थिएन तर चौथो नम्बरवलालाई ठुलो समस्या भो। आतङ्क भो।
त्यो देशै भरी 'डाँकागिरी' ब्याप्त भो। 'डाँकागिरी' ले कसैलाई पनि बस्नु खानु दिएन।
फेरी त्यो लोकेको 'डाँकागिरी' सुरु हुनु भन्दा ठ्याकै एक बर्ष अघी त्यो देशका ती चौथो नम्बरवालाहरुले धेरै खर्च गरेर "संसारकै उत्क्रिस्ठ संबिधान" बनाएका थिए। त्यसैले पनि "संसारकै उत्क्रिस्ठ संबिधान" भएको देशमा कसैको 'डाँकागिरी' कसैले सहने कुरै भएन।
"जाबो एउटा 'लोके' को आतङ्कबाट हामीहरुले आजित हुनु पर्ने ?" भनेर ती चौथो नम्बरवालाहरुको झुण्डले महाअभियोग लगाएर त्यो लोकेलाई घोक्रेठ्याक लगाउने निर्णय गरे।
नाती: हजुरबा ! यो 'महाअभियोग' भनेको चै के हो नि ?
हजुरबा: नाती ! तैले बुझ्ने भाषामा भन्नु पर्दा महाअभियोग भनेको ठुलो आरोप हो। सानो तिनो होइन। । निक्कै ठुलो आरोप। त्यो डाँका लोकेप्रती चोरहरुको यो आरोप थियो कि -
"'चोरगिरि'लाई चट्टकै छोडेर उसले 'डाँकागिरी' गर्नै हुँदैन्थ्यो। हिजो त्यही चोरहरुको समुदायबाट गएर 'चोरनीती' अनुसारै चल्छु भन्ने अनी अहिले आएर चै 'डाँकानिती' अपनाउने ? यो त सरासर धोका हो। बैमानी हो। तसर्थ उसलाई सजाय दिनै पर्छ।"
यसरी ठुलो बहस भो। चर्चा भो। छलफल भो। भेटघाट भो। कृया प्रतिकृया भो। र अन्तत: त्यो 'डाँकागिरी' गर्नेलाई चोरहरुको बैठक भेलाले सर्बसम्मत निर्णय गरी आइन्दा चोरहरुको समुदायमा छिर्नै नपाउने गरी उसलाई त्यो माथिल्लो पदबाट हटाईयो।
र यसरी त्यो देशमा कानुन भन्दा माथि कोही पनि छैन भन्ने कुरा प्रमाणीत गरे ती चौथो नम्बरवालाहरुले। देशबाट 'डाँकागिरि'को अन्त्य भएकामा त्यो देशका सबै जनताहरु बडो खुशी भए।
यसरी फेरी त्यो देश "कानुनी राज्य हो" र त्यहा "कानुन भन्दा माथी कोही पनि छैन" भन्ने कुरामा सबैलाई विश्वाश भो। अनी................. देश आफ्नै गतिमा, आफ्नै पाराले चल्दै.... चल्दै......... गयो। र यसरी चल्दै चल्दै गएर एक दिन देश नै ......... गयो।
तँ ज्ञानी मान्छेलाई कुरा नलुकाइ नढाँटी भन्नु पर्दा त्यो देश त्यतिन्जेल सम्म चल्यो जतिन्जेल सम्म त्यो चल्न सक्थ्यो।
नाती: अनी हजुरबा ! डाँकालाई त त्यसरी हटाएछन् त्यो राम्रै भो तर ती चौथो नम्बरवाला चोरहरुलाई चै किन नहटाएका त ?
हजुरबा: नाती ! किनकी त्यो देशका नागरिकहरुलाई त्यो डाँकाप्रती मात्रै सङ्का थियो। चोरहरुप्रती त विश्वाश छदै थियो नि त।
नाती: तै पनि हजुरबा ! ती चोरहरुलाई चै किन विश्वाश गरेका त त्यो देशका जनताले ?
हजुरबा: किनकी ती चोरहरुले त सपत खाएका छन् नि त "देश र जनताको हित गर्छु" भनेर।
नाती: अनी ती चोरहरुले देश र जनताको हित गरेका थिए त ?
हजुरबा: देशको हित गरेका थिए/ थिएनन त्यो त म भन्न सक्दिनँ, तर यती चै पक्का हो तिनिहरुले 'डाँकागिरी' चै गरेका थिएनन्- जस्तो त्यो 'लोके' भन्नेले गर्यो।
नाती: हजुरबा ! त्यो देशमा 'डाँकागिरी' नागरिकन 'चोरगिरी' गर्नलाई चै छुट थियो हो ?
हजुरबा: खै नाती ! त्यो त म के जान्नु ?
नाती: तर त्यो देशका जनता मुर्खै रहेछन् डाँकालाई लखेट्ने अनी चोरलाई चै विश्वाश गर्ने ? अच्चम्मै खालका रहेछन्।
हजुरबा: (हजुरबा एक्क्षण कै बोलेनन, अध्यारो मुख लाए) ती जनतालाई 'मुर्ख' नै चै भन्नु हुन्न नाती।
नाती: चोरहरुलाई विश्वास गर्ने जनतालाई मुर्ख नभनेर विद्वान भन्नु त ? (हाँस्दै) हजुरबा पनि हसाउनु हुन्छ।
तर नाती हाँसे पनि हजुरबा हाँस्न सकेनन्। उनलाई कताकता भित्र घोचिरह्यो। हजुरबालाई यस्तो लाग्यो- त्यो नातीले उनैलाई मुर्ख भनिरहेछ। उनैको बिद्वतालाई जिस्काइरहेछ। उनैको जिम्मेवारी, कर्तब्य र नैतीकता माथि प्रश्न उठाइरहेछ। हजुरबालाई असह्य भएर आयो।
हजुरबा: लु लु धेर ठुला कुरा नगर, अब सुत। भोली तेरो स्कुलमा के कार्यक्रम छ भन्दै थीइस हैन ? चाडै उठेर स्कुल जानु पर्छ। अब सुत।
नाती: ओ हो....... हो त नि ! भोली त १५ अगस्ट। 'इन्डिपेन्डेन्स डे'। बिहानै स्कुल जानु पर्छ, ठुलो कार्यक्रम छ- हाम्रो स्कुलमा। हजुरबा तपाईं पनि आउनु ल ? पोहोर पनि तपाईं १५ अगस्ठको कार्यक्रममा जानु भएन। यस पाली चै जानुपर्छ है ?
हजुरबा: खै......... हेरौं....... के हुन्छ। आज बिहानै देखि मेरो टाउको अलिअली दुखिरा'छ। भोली सम्ममा सन्चो भो भने चै म पनि जान्छु तेरो स्कुल।
नाती: ओ हो ! हो र ? अनी हजुरबा दबाइ खानु भएन ?
हजुरबा: अँ.......... खा'को।
"अँ ....... खा'को" भनेर हजुरबाले नातीलाई झुट बोले। वास्तवमा उनले दबाइ खाएकै थिएनन्। दबाइ खाइरहनु जरुरी पनि थिएन किनकी हजुरबाको टाउको दुखेकै होइन। त्यतिक्कै नातिलाई भनेदे'का मात्रै हुन्। खासमा हरेक '१५ अगस्ट'का दिन यसरी नै हजुरबालाई कि टाउको कि पेट दुख्छ। टाउको र पेट दुखेन भने खुट्टा त अवश्य दुख्छ, दुख्छ। पोहोरको '१५ अगस्ट'मा खुट्टा दुखेको थियो। यस पाली चै टाउको दुख्ने लक्षण देखियो। म दावाका साथ भन्छु- अब अर्को साल '१५ अगस्ट'का दिन हजुरबाको पेट दुख्ने छ। त्यसरी टाउको ,पेट र खुट्टा दुखेका दिन भरीका लागि हजुरबाको संसार भनेको त्यो कोठाको ओछ्यान र बाथरुम मात्रै हुन्। त्यो दिन उनी कही निस्किदैनन्। अरु दिनको रमझम उनलाई खुब मन पर्छ तर त्यो एक दिनको रमझम खै किन हो- मन पर्दैन। भोली उनी नातीको स्कुल जानेवाला छैनन्, तैपनी नातीलाई आशा देखाउँछन् - "सन्चो भो भने चै जान्छु" भनेर। नाती पनि हजुरबाको कुरा पत्याउँछ। नातीले ठीक त्यसै गरी हजुरबाको कुरो पत्याएको छ, जसरी उसको 'ड्याडी'ले आफ्नो स्कुले जिबनमा पत्याएथ्यो। तर हजुरबा आफ्नो छोरोको बेलामा 'नि कहिल्यै गएनन् - १५ अगस्ठ 'सेलिब्रेसन' प्रोग्राममा।
नाती: हजुरबा ! बिहान छिट्टै जानु पर्छ है ? भोली त हामी स्टेजमा गएर 'नेसनल एन्थम' गाउँछौ। हाम्रो सरले क्रिश, एन्जेला, पार्थ र मलाई 'नेसनल एन्थम' कण्ठ गरेर आउनु भन्नु भा'छ।
हजुरबा: अनी 'नेसनल एन्थम' कण्ठ गरिस् त ?
नाती: अँ.... गरिसकेँ। सुनाऊँ ?
जन गन्-मन-अधिनायक,
जय हे, भारत भाग्य बिधाता !
पन्जाब सिन्धु गुजरात .....
नातिले 'नेसनल एन्थम' (राष्ट्रिय गीत होइन )पुरै सुनाउँछ -लय हालेर। यता हजुरबालाई हजार सियोले मुटुमै घोचेजस्तो हुन्छ। ज्युदै मरेको भान हुन्छ। आँखाबाट समुन्द्र नै निस्केला जस्तो हुन्छ। तर आफुलाई सम्हाल्दै कुरो बनाउछन।
हजुरबा: लु लु ...... अब सुत।
नाती: हजुरबा तपाईंहरुको बेलामा 'इन्डिपेन्डेन्स डे' का दिन के-के गर्नु हुन्थ्यो- स्कुलमा ?
हजुरबा: नाती हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो।
नाती: (अचम्म मान्दै) 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो ......... ? अनी स्कुल पनि छुट्टी हुन्नथ्यो ?
हजुरबा: हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' मनाउनु जरुरी नै नै थिएन। 'डिपेन्डेन्ड' हुने हरुले मात्रै हो, 'इन्डिपेन्डेन्स डे' मनाउनु पर्ने।
नाती: (टाउको कन्याउँदै) मत्लब.............. ?
हजुरबा: मत्लब.............. जुन दिनदेखी हामी 'डिपेन्डेन्ड' भयौ, हो........ त्यही दिनदेखी हामीले 'इन्डिपेन्डेन्स डे' मनाउन थालेका हौ।
नाती: मत्लब..... ? मैले त अझै कुरो बुझिनँ।
हजुरबा: नाती, मैले पुरै ७१ वटा हिउँद फटाएको छु। म आँफैलाई यो कुरा बुझ्न त बर्सौ लाग्यो भने तँ त हिजोको अण्डा आजको फूल।
नाती: त्यै पनि भन्नु न ........ बुझाए पछी त म बुझी हाल्छु नि ! हजुरबा यो 'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' को कुरो के हो ? भन्नु न प्लिज......।
हजुरबा: नाती ! यो 'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' भन्ने कुरो कसैले कसैलाई सिकाएर सिकिने र बुझाएर बुझिने हुँदै होइन। यो त समयले बिस्तारै सिकाउँदै जाने हो।
नाती: हजुरबा ! अनी म चै कैले यी जान्ने हुन्छु त ?
हजुरबा: हुन्छस् हुन्छस् । एक दिन अवश्य यस्ता कुरा जान्ने/बुझ्ने हुन्छस्। तर तैले जानेर/बुझेर कै फरक पर्ने छैन- यो माटोलाई। समयमै जान्नु/बुझ्नु त मेरो पुस्ताले पर्थ्यो। दुर्भाग्य ! बुझिएन। जानिएन।
नाती: मत्लब ?
हजुरबा: मत्लब सत्लब कै होइन.... अब सुत। एकै दिनमा धेर जान्नु पनि हुँदैन। दिमाग दुख्छ। बाह्र बज्न लाग्यो होला ...... छिटो सुत। म पनि एउटा काम सकेर चाडै सुत्छु।
हजुरबा उठेर बाथरुमतिर जान्छन्। नातीले "यती राती त्यो कुन काम होला ?" भनेर सोध्नु जरुरी ठान्दैन। सोध्दैन। हजुरबाले 'नि त्यो "एउटा काम" के चै हो ? भनेर बताउँदैनन्। बताउन जरुरी ठान्दैनन् भनौ। कसैले कसैलाई त्यो 'जरुरी काम'का सम्बन्धमा कै नबताइएका कारण यो संसारमा केबल दुईलाई मात्रै थाहा छ - त्यो 'जरुरी काम'के हो भन्ने कुरो। ती दुई मध्ये एक त स्वयम् हजुरबा भै'गए भने अर्को चाँही हजुरबाको कोठाको बाथरुमको भित्तो। त्यो जरुरी काम भनेको "देशलाई सम्झेर रुनु" हो, जुन ती हजुरबाको दैनिकी हो।
मेरा छिमेकीहरु भन्छन् कि यी हजुरबा त्यो नेपाल नाम गरेको एकादेश कथाको पैलो दोस्रो या तेश्रो नम्बरवाला नागरिक थिए। हुन त यो कथाको लेखक मै हुँ। त्यसैले कुन पात्रको ईतिहास भुगोल के हो ? भन्ने कुरो अरु भन्दा बढी मलाई थाहा हुनु पर्ने हो। तर मैले आजसम्म मेरा कथाका पात्रलाई प्रश्न सोधेर दिक्क लगाउने काम गरिनँ /गरेको छुइनँ। कथाका ती पात्रहरुलाई जसोजसो गरी मन लाग्छ त्यसै त्यसै गरी बग्न दिन्छु -म। यी हजुरबाका सम्बन्धमा मेरा छिमेकीले गरेको त्यो अनुमानलाई नै मैले 'नि सत्य हो भन्ने अड्कल गर्या'छु।
तर जे होस्, सदा झैं आज पनि अबेर सम्मै हजुरबाले 'जरुरि काम' गर्दै आधा रात बिताउलान् भन्ने अनुमान- बाथरुमका भित्ताहरुले गरेका छन्।
नोट: यो कथा केबल एउटा 'एकादेशको कथा' मात्रै होइन। यो नाटक मात्रै पनि होइन। समयले नेपाल नामको राज्यमा ती चौथो नम्बरवाला चोर पात्र खटाएर मञ्चन गरिएको एउटा भद्दा मजाक हो। यसलाई कथा र नाटक भनेर मात्रै पुग्दैन। समयले आफ्नो गतिको नियमलाई बिर्सिएर भबिश्यतकाल मार्फत लेखिएको/लेखाइएको डाइरीको एउटा पाना पनि हो। भबिस्यतकालले बर्तमानमा हुत्याएको एउटा चिर्कट्टो भनौ अझ।
भन्नेहरुले अझै पनि माथि उल्लेखित नेपाल नाम गरेको देश छ भन्छन्। तसर्थ कोही कसैले यो चिर्कट्टो फेला पार्नु भो भने त्यो नेपाल नाम गरेको देश खोजेर त्यहाका पहिलो, दोस्रो र तेस्रो नम्बरवाला नागरिकलाई थमाइदिनु होला- ताकी ती बेलैमा सचेत होऊन्। आफ्नो माटो जोगाउने मौका उनिहरुले पाऊन्। कृपया चौथो नम्बरवाला नागरिकको हातमा यो चिर्कट्टो नदिनु होला। तिनिहरुले यसलाई रद्दिको टोकरीमा फालिदिनेछन् र यो चिर्कट्टोको आशङ्कालाई चरितार्थ पार्ने छन्।
॥ इतिश्री ॥
निरक्षर निरौला
|